८ वैशाख २०८१ शनिबार
अर्थ

बहुमूल्य धातुको उत्खननमा लगानी गर्नुस् : अर्थमन्त्री

रुपन्देही– अर्थमन्त्री डा. युवराज खतिवडाले बहुमूल्य धातु जन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका खानीको उत्खननमा लगानी गर्न विदेशीहरुले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातुहरुको उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं बार्षिक साधरणसभालाई सोमबार मणिग्राममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकार विदेशीहरुलाई खानी उत्खननमा लगानी दिन इच्छुक नरहेको स्पष्ट पारे। 

‘बहुमल्य धातुको व्यवसायमा विदेशीहरु आउन खोजेका छन तर हामी नेपालीहरुलाई दिनुपर्छ भन्नेमा छौं’ अर्थमन्त्री खतिवडाले भने –‘नेपालीले मात्रै नसके संयुक्त लगानीमा छलफल गर्न सक्छौं।’ उनले नेपालमा सुनको तयारी गहनाको निर्यात गर्नमा समेत व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए। ‘नेपालमा सुनको आयात बढाएर गहना मात्रै बनाउने होईन खानी खोजेर लगानी गर्नुस’, अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई भने। 

उनले नेपालमा व्यवसायीहरुले सुनको दैनिक आयात कम भएको गुनासो गर्दै आएकाले यसबारे सरकारले पुनर्विचार गर्ने बताए। उनले सुनको आयात र निर्यातका लागि सुनको बैंक स्थापना गर्नुपर्ने बताए। उनले सुनसहित खाद्य र अन्य नापतौलको गुणस्तर मापनका लागि प्रत्येक प्रदेशमा मापन मेशिन राख्ने बारे आगामि बजेटमा व्यवस्था गरिने प्रतिबद्धता पनि जनाए। सरकार र निजी क्षेत्रले संयुक्त रुपमा तालिम सञ्चालन गरेर युवा पुस्तालाई जनशक्तिका रुपमा अगाडि ल्याउनुपर्ने बताए। उनले नयाँ पुस्तालाई ल्याउनका लागि सरकार बजेट व्यवस्थापन गरेर जान तयार रहेको बताए। 

उनले सुनचाँदी व्यवसायीहरुलाई लगानी सम्मेलनमा रहेका योजनामा सहकार्य गरेर आफ्नो व्यवसायमाथि उकास्नतर्फ लाग्न समेत आग्रह गरे। अर्थमन्त्री खतिवडाले औद्योगिक प्रशासनमा अन्यौलता रहेको बताए। उनले औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजेको तर यो संशोधन हुन नसकेकाले समस्या देखिएको बताए। उनले अब आउने संघीय संसदमा औद्योगिक व्यवसाय ऐन संशोधन गरेर औद्योगिक क्षेत्रमा देखिएको समस्या हल गरिने बताए। उनले सरकार निजी क्षेत्रको प्रबर्द्धन गर्न आवश्यक कानुन निर्माण गरेर सहज वातावरण बनाउने बताए। व्यवसाय दर्ता, नविकरण र कुन उद्योग कस्ले हेर्ने भन्ने अन्यौलता रहेकाले अब केही महिनाभित्रै १० ठाउँ धाउनुपर्ने समस्याको अन्त्य गरिने बताए। 

ठूला व्यवसायलाई लगानी बोर्डमार्फत एकद्धार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाई छ। कार्यक्रममा पूर्वमन्त्री एव्म संघीय सांसद छविलाल विश्वकर्माले सुनचाँदी नेपालको मौलिक पेशा र सीप भएकाले यसको प्रबर्द्धनमा लाग्नुपर्नेमा जोड दिए। उनले नेपालमा आर्थिक प्रगतिका लागि यस्ता सीपमुलक उद्योगको प्रबर्द्धन गर्न अग्रसर हुनुपर्ने बताए। 

प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीहरुले व्यवहारिक रुपमा सकस भोगेकाले यसको नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा सहभागी व्यवसायीहरुले सुनचाँदीको माग बढी भए पनि कमी भएकाले बृद्धि गर्न माग गरेका थिए। सरकारले सुनको आयात र निर्यातमा नीतिगत रुपमा सुधार गर्नुपर्ने भएकाले त्यसलाई तुरुन्त सच्चाउन समेत आग्रह गरे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले सनुको माग ३० देखि ३५ किलो दैनिक रहेकाले यसलाई बृद्धि गर्न माग गरे। 

वार्षिक ५० अर्बको कारोबार हुने सुनचाँदी व्यवसायमा स्पष्ट ऐन नहुँदा व्यवसायीहरुले अनावश्यक झनझट भोग्नुपरेको बताए। कार्यक्रममा संघीय सांसद हिराचन्द्र केसी, प्रदेश नम्बर ५ का सांसद भोज प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहाकार रणेन्द्र बराईली, तिर्थमान शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले बोल्दै सुनचाँदी व्यवसायलाई कानुनी रुपमा अपराधि बनाउने काम भएकाले त्यसलाई राज्यले सुधार गर्नुपर्ने बताए। सो अवसरमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । 

रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा मणिग्राममा शुरु भएको केन्द्रीय साधारणसभाको बन्दसत्र मंगलबार हुने छ। साधारणसभामा देशैभरका ३ सय ५० प्रतिनिधि र १ सय ५० पर्यवेक्षक सहभागी भएका छन्। मंगलबार घोषणापत्र जारी गर्दै सकिने रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमवि विश्कर्माले जानकारी दिए। 

नागरिककर्मी न्यौपाने सम्मानित 

नेपाल सुनचाँदी व्यवसायी महासंघले छैठौं वाािर्षक साधारणसभाको अवसरमा नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ। सुनचाँदी व्यवसाय र यसको विकासमा सञ्चारमाध्यम मार्फत योगदान गरेको भन्दै नागरिकका पत्रकार न्यौपानेलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्री खतिवडा, महासंघका अध्यक्ष मोहन कुमार सुनार र कार्यक्रम संयोजक मणिकरत्न शाक्यले सम्मान गरेका हुन। न्यौपाने नागरिक दैनिकको केन्द्रीय कार्यालयमा विगत एक दशकदेखि अर्थका बिषयमा कलम चलाउँदै आएका छन्। न्यौपाने सहित एबिसी टेलिभिजनका रविन्द्र पौडेल पनि सम्मानित भएका छन्। 

प्रकाशित: १८ चैत्र २०७५ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App