८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको भाउ ५९ हजारभन्दा तल

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा स्थानीय बजारमा भाउ घटेको छ। उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्लो एक महिनादेखि निरन्तर घटिरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थानीय बजारमा सुन आइतबार सुन प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। गत हप्ता बिहीबार ६० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ६ सय रुपैयाँले घट्दै ५९ हजार सात सयमा कारोबार भएको थियो। आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ। 

पछिल्लो केही हप्तादेखि सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। ‘केही हप्तादेखि सुनको मूल्य घट्दो क्रममा छ,’ बज्राचार्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यले नेपालमा असर गरेको हो।’

आइतबार प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार

डेढ हप्ताअघि पनि सुनको मूल्य ५९ हजार सात सय रुपैयाँमा झरेको थियो। उक्त मूल्य केही बढेर ६० हजार ६ सय रुपैयाँसम्म पुगेको थियो। त्यपछि पुनः घट्ने क्रम जारी रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्ने क्रम केही दिन जारी रहन सक्ने विश्लेषण गरिएको छ।

पछिल्लो समय सुन सस्तिनुमा दुईवटा कारण रहेको बज्राचार्यले बताए। उनका अनुसार अचेल भारतीय अर्थतन्त्रमा सुधार आउँदा भारतीय रुपैयाँ डलरको तुलनामा बलियो बनेको छ। नेपालको सुनको मूल्य पनि भारतीय अर्थतन्त्र र बजारसँग निर्भर रहने हुँदा यहाँ पनि सस्तिएको हो।

अर्को कारण भनेको विश्व बजारमा प्रभाव पार्ने बलिया अर्थतन्त्रको व्यापारिक द्वन्द्व हो। केही महिनादेखि चीन र अमेरिकाबीच व्यापारिक द्वन्द्व छ। यसलाई मत्थर पार्ने र व्यापारिक सम्बन्ध सुधार गर्ने क्रममा केही प्रगति भएको समाचार बाहिर आइरहेका छन्। यसको प्रत्यक्ष प्रभाव सुन बजारमा पनि परेको छ। ‘चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध सुधारको वार्ताले लगानीकर्ता अन्य क्षेत्रमा मोडिएका छन्,’ बज्राचार्यले भने, ‘सुनका लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गरिरहेका छन्।’   

फागुन ८ गते सुन पछिल्लो पाँच वर्षकै सबैभन्दा महँगो हुँदै ६३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि लगातार घट्दै गएको सुन पछिल्लो एक महिनाको अवधिमा ५९ हजार रुपैयाँभन्दा तल आइपुगेको हो। 

 

प्रकाशित: १८ चैत्र २०७५ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App