६ वैशाख २०८१ बिहीबार
अर्थ

औद्योगिक वातावरण बिग्रदै गएकामा उद्योगी चिन्तित

बारा– मंसिर २३ गते उद्योगले प्रदुषण गरेको बहानामा जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल नेतृत्वको टोलीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालन गरिएका शालिमार सिमेन्ट र युनिटेक उद्योगमा ताला लगाए। 

शालिमारमा लगाइएको ताला भोलिपल्टै खोलिएको थियो भने युनिटेकमा लगाइएको ताला एक पहिनापछि मात्रै खोलिएको थियो। उद्योग व्यवसायीको धेरै प्रयासपछि मात्रै ती उद्योगमा लगाइएइको ताला खोलिएको थियो। सालिमारले सिमेन्ट उत्पादन गर्दै आएको छ भने युनिटेकले सिमेन्ट बनाउन प्रयोग गरिने कच्चा पदार्थ क्लिंकर उत्पादन गर्दै आएको छ।

‘उद्योगबाट निस्कने धुवाँ र धुलो नियन्त्रण गर्न पटक पटक उद्योग प्रशासनलाई जानकारी गरायौं,’ नगर प्रमुख पौडेलले भने, ‘लामो समयसम्म पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर ताला लगाउनु प-यो।’ उद्योगबाट निस्कने प्रदुषण नियन्त्रणका लागि उद्योगी, व्यवसायीले कुनै वास्ता नगरेको आरोप नगर प्रमुख पौडेलको छ। 

एक महिनाअघि औद्योगिक करिडोरअन्तर्गत नितनपुरमा रहेको नारायणी स्टिल उद्योगले भने जति कवाडी कर नदिएको भन्दै जितपुरसिमरा उपमहानगरपालिकाका पदाधिकारी र कवाडी कर संकलन गर्ने ठेकेदार प्रतिनिधिको टोली स्थानीय प्रहरी प्रशासनको सहयोगमा उद्योगमै प्रवेश गरेका थिए।

स्थानीय तहले पाएको अधिकारको धाक देखाउँदै उद्योगभित्र प्रवेश गरेको टोलीले उद्योग प्रशासनलाई ठेकेदारले भने अनुसारको कवाडी कर तिर्नुपर्ने निर्देशन दिएर आयो। साथै ठेकेदारले भने अनुसारको कवाडी कर नतिरे उद्योगलाई कारबाही गर्ने समेतको चेतावनी दिएर उक्त टोली बाहिरिएको उद्योगका सञ्चालकको भनाइ छ।

अहिले करिडोरअन्तर्गत रहेको जगदम्बा स्टिल प्रालिले विस्तार गरिरहेको नयाँ जस्ता प्लान्टको पनि स्थानीयले विरोध सुरु गरेका छन्। प्लान्ट विस्तारको विरोधमा उत्रिएका स्थानीयले उद्योग मन्त्री मातृका यादव, जितपुरसिमरा उपमहानगरपालका प्रमुख कृष्ण पौडेल र बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै प्लान्ट विस्तारमा रोक लगाउन माग गरेका छन्। जगदम्बाले पाँच अर्ब लगानीमा आधुनिक जस्ता प्लान्ट स्थापना गर्न लागेको उद्योगले जनाएको छ।

स्थानीय तहका पदाधिकारी र स्थानीयबाट विगत चार महिनाको अन्तरालमा वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत रहेको शालिमार र युनिटेकमा तालाबन्दी गर्नु, नारायणी स्टिलमा जबरजस्ती प्रवेश गरी बढी कवाडी कर तिर्न उद्योग प्रशासनलाई दबाब दिनु र जगदम्बा स्टिलले निर्माण गरिरहेको जस्ता प्लान्ट निर्माणमा अवरोध गर्नु प्रतिनिधि घटनामात्रै हुन्। संघीय र प्रदेश सरकारले उद्योगमा लगानी गर्न लगानीकर्ता वा उद्योगी व्यवसायीलाई विभिन्न सहुलियत दिने घोषण गरिरहेको अवस्थामा देशकै ठूलो वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग सञ्चालनमा विभिन्न अवरोध सिर्जना भइरहेको भन्दै उद्योगी चिन्तित बनेका छन्।

उक्त करिडोरमा रहेका उद्योगमा स्थानीय सरकारका पदाधिकारी र  स्थानीयबाट विभिन्न बहानामा विवाद गर्ने कार्यले निर्धक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्न नसकिएको शालिमार उद्योगका सञ्चालक तथा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्यले बताउँछन्।

स्थानीय सरकारले पाएको अधिकारले अहिले उद्योगी व्यवसायीलाई सहयोग भन्दा असहयोग भइरहेकाले औद्योगिक वातावरण बिँग्रदै गएको बैद्यको भनाइ छ। यस क्षेत्रमा बस्ती विस्तार हुनुभन्दा पहिलेदेखि सञ्चालनमा रहेका उद्योगलाई नै अहिले विस्थापित गर्न स्थानीय सरकार र स्थानीय सक्रिय भएर लागेको उनको आरोप छ। 

स्थापित उद्योग बन्द गराउन ठूलै शक्ति लागेपछि संघीय सरकार अहिले उद्योगीले भोगिरहेका समस्या समाधान गर्नतिर नलागेकामा बैद्यले गुनासो गरे। अन्य क्षेत्रको तुलनामा यस करिडोरअन्तर्गतका उद्योगमा बढी समस्या आएको र समाधान गर्न सरोकारवाला निकाय लाग्नुपर्ने बैद्यको भनाइ छ।

जगदम्बा स्टिलका निर्देशक पवन गुप्ताले लगानी विस्तार गरेर रोजगारी वृद्धि गर्न र व्यापार घाटा कम गर्ने सोच बनाए पनि केही स्थानीयको स्वार्थले औद्योगिक वातावरण नै बिगारेको आरोप लगाए। जगदम्बा स्टिलले तीन हजारको हाराहारीमा रोजगारी दिएको र नयाँ विस्तार भइरहेको प्लान्टले थप रोजगारी सृजना गर्ने दाबी गुप्ताले गरे।

जगदम्बाले प्रदुषण फैलाएको भन्दै स्थानीयले विरोध गर्दा तीन–चार वर्ष पहिले १५ करोडभन्दा बढी लगानीमा प्रदुुषण नियन्त्रण पलान्टसमेत जडान गरे पनि अहिले सञ्चालनमै नआएको जस्ता प्लान्टबारे विरोध गर्नुपर्ने कुनै कारण नभएकोे गुप्ताले बताए।

होलीमा उद्योग बन्द भएको समयमा वनमा लागेको डढेलोको धुवाँलाई उद्योगबाट निस्केको भन्दै एक समूहले नै अहिले उद्योगको बदनाम गर्न खोजेको गुप्ताको आरोप छ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने सिमरामा सञ्चालित रहेका अधिकांश उद्योगले प्रदुषण गरेको भन्दै स्थानीय र जनप्रतिनिधिबाट कुनै न कुनै रुपमा विरोध हुँदै आएका कारण उद्योगी, व्यवसायी त्रसित बनेका छन्।

हुलास स्टिल उद्योगबाट निस्कने एसिडयुक्त रातो पानी, हामा स्टिल, शाख स्टिल र अशोक स्टिल उद्योगबाट निस्कने धुवाँ र धुलो, नेपाल ग्याँसबाट निस्कने ग्याँस मिसिएको दुर्गन्धित हावा, सूर्य नेपालबाट निस्कने सुर्तीको खारसहित फालिने हावा, नन्दन घ्यू, पूजा साबुन उद्योगबाट निस्कने धुवाँ र धुलोले त्यस क्षेत्रमा वातारणीय समस्या बढाउँदै लगाएको भन्दै स्थानीय र जनप्रतिनिधिबाट यसको विरोध हुँदै आएको छ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा पर्ने उद्योगले गरेको प्रदुषणले उद्योग प्रशासन र स्थानीयबीच पटक पटक द्वन्द बढ्दै जाँदा औद्योगिक वातावरण बिथोलिने भन्दै उद्योगी व्यवसायी चिन्तित बनेका छन्। 

देशको मेरुदण्ड अर्थ र अर्थको मेरुदण्ड उद्योग रहेको राज्यका उच्च पदाधिकारीले अभिव्यक्ति दिइरहे पनि सहज औद्योगिक वातावरण बनाउनका लागि चाहिने ऐन कानुन नबनाएकाले औद्योगिक वातावरण बिग्रदै गएको बैद्यले बताए। सिमरा क्षेत्रमा सञ्चालन गरिएका उद्योगबाट स्थानीयको आर्थिक अवस्था निकै सबल भए पनि स्थानीय र जनप्रतिनिधिले यसको सकारात्मक पक्ष नहेरेर नकारात्मक पक्ष मात्रै हेर्ने गरेकामा उनको गुनासो छ।

प्रकाशित: १८ चैत्र २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App