coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

परम्परा पालना

सदाझैँ यस वर्षको दसैँमा पनि पशुवलिबारे वादविवाद उत्पन्न भयो। विवादमा सबैले आआफ्ना तर्क नै सर्वश्रेष्ठ भन्ने हठ गरिरहे। सामाजिक सञ्जाल शाकाहारी र मांसाहारीबीचको बहसले रंगियो। एकथरिले शाकाहारी बन्न सबैलाई सुझाव दिए भने अर्काथरिले सनातनदेखि चलिआएको पशुवलि कायम राख्न र शारीरिक तन्दुरुस्तीका निम्ति मासु आवश्यक खानेकुरा हो भन्दै रहे। जेहोस् दसैँ २०७३ तुलनात्मकरूपमा सुखद रह्यो। गत वर्षको दसैँ महाभूकम्पका कारण अलिनोजस्तै बनेको थियो, यस पटक त्यो कहरले थोरै भए पनि मुक्ति दिएको छ। दसैँले अब हामीबाट विदा लिइसकेको छ र हामी दीपावली तथा छठको स्वागतमा उल्लसित बनेका छौँ। सानो देश नेपाल चाडपर्वले पूर्ण छ। दुर्भाग्य नै मान्नुपर्छ, बहुसंस्कृति, बहुभाषा तथा बहुपरम्परा रहेको नेपालमा पछिल्लो समय एकले अर्को परम्पराको सम्मान गर्नुको साटो विभिन्न बहानामा होच्याउने काम हुन थालेको छ। सांस्कृतिक बहुलताको मुलुकमा यो राम्रो लक्षण पटक्कै होइन। आफू र आफ्नो समुदायले मनाउँदै आएको सांस्कृतिक पर्वलाई मात्र प्राचीन वा उत्तम मान्ने अनि अरुलाई खराब देख्ने एकांगी सोच कसैका निम्ति पनि हितकारी छैन। देशको नयाँ संविधान, सर्वसाधारणको मनोविज्ञान, सहिष्णु परम्पराले पनि सबैलाई समान अधिकार प्रदान गरेको छ। यसकारण पनि सांस्कृतिक निषेध अवाञ्छित छ। संस्कृति भन्ने कुरा आफ्नो जीवन शैली, आर्थिक अवस्था तथा बदलिँदो समाजअनुरूप क्रमशः परिवर्तन हुँदै जान्छ। कुनै कानुन, सरकारी/गैरसरकारी संस्थाको दबाब वा कसैले होचोअर्घेलो गर्दैमा परम्परा तत्कालै फेरिन सक्दैन।

कोहीकसैले आफू मांसाहारी छु भन्नु शाकाहारीको अधिकार खोस्नु होइन। पशुवलिको सवाललाई पनि यसरी नै बु‰नुपर्छ। कुनै पश्चिमा मुलुकको एक वा दुई जनाले भन्दैमा अथवा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बडादसैँको छेकोमा आएर पशु अधिकारका नारा लगाउँदैमा त्यसको सिको गर्नुपर्छ भन्ने बाध्यता कसैमा रहँदैन। निश्चय पनि पशुवलिको क्रूरखालको शैली भने त्याज्य छ। देवीको मन्दिरमा जथाभावी वलि दिने प्रचलन स्वास्थ्य र वातावरणका दृष्टिकोणबाट पनि हानिकारक छ। धार्मिक आस्थाको मन्दिर जुनसुकै बखत सफा राख्नु आवश्यक छ। वलिप्रथालाई विधिपूर्वक तथा हानिरहित ढंगमा कायम राख्न सकिन्छ। मन्दिर मांसाहारी–शाकाहारी सबैको हो। हामी मान्छेको अधिकारलाई लत्याएर पशु अधिकारका बारेमा चर्को कुरा जब गर्छौं तब पाखण्डबाहेक अर्थोक केही पनि प्रस्तुत गरिरहेका हुँदैनौँ। अहिले 'पशु अधिकार रक्षा' निश्चित समुदायको अर्थोपार्जन गर्ने गतिलो नारा बन्न पुगेको छ। आजको एक्काइसौँ शताब्दीको प्रविधिमय युगमा मन्दिरमा लगेर पशु रेटेर रगत चढाउँदैमा धर्म हुन्छ भनी सोच्नु पनि मूर्खता हुन सक्छ। आफूलाई स्वस्थ राख्नका निम्ति पौष्टिक आहार प्राप्त गर्न वा स्वादिष्ट खान भगवान्को नाम अघि सारिनु युक्तिसंगत नहुन सक्छ। त्यसको वैज्ञानिक तथा वैचारिक र चित्तबु‰दो समाधान खोज्नु जरुरी छ।

संसारमा कतिपय धर्म छन्, तिनले पर्वविशेषमा पशुबधको परम्परा अँगाल्दै आएका छन्। केही समयअघि मुस्लिम धर्मावलम्बीले बकर इद मनाए। त्यस पर्वमा थुप्रै पशुधन उपयोग भएको छ। यो मुसलमानको परम्परा हो। परम्परा धान्नु उनीहरूको अधिकार पनि हो। युरोप तथा अमेरिकी मुलुकमा मनाइने अधिकांश पर्वमा चराचुरुंगीलगायत विभिन्न पशुको मासु अधिक प्रयोग गरिन्छ। पश्चिममा भर्खरै मनाइएको 'थ्यांक्सगिभिङ'मा लाखौँ टर्की चराको उपयोग भएको छ। तर, यस्ता परम्पराको सर्वत्र प्रशंसा गरिन्छ, अर्थात् विरोधका स्वर उरालिँदैन। यसकारण पनि हिन्दु धर्मावलम्बीले अपनाउने पशुवलि वा अन्य परम्पराको विरोध गर्नुको कुनै औचित्य देखिँदैन।

सबैभन्दा प्रमुख कुरो भनेको त मान्छे यो जगत्को विवेकशील प्राणी हो। उसलाई के गर्नु हुन्छ के गर्न हुँदैन भन्ने सवालको राम्रो हेक्का छ। वैदिक सनातन धर्ममा पनि पशुवलिबारे मान्छेलाई विवेक प्रयोग गर्ने हक उल्लेख छ। यही कारण नै कतिपय हिन्दु दसैँलगायत अन्य चाडबाड वा पूजाआजा गर्दा पशुवलिको साटो लौका, कुभिन्डो, नरिवलजस्ता वस्तु चढाउने गर्छन्। निश्चय पनि हाम्रा पितापुर्खा मूर्ख वा पापी थिएनन्। तिनले अपनाएका कतिपय प्रणालीमा धेरथोर सुधार गर्दा ती अनुकरणीय तथा हितकारी बन्न सक्छन्, विज्ञानसम्मत पनि हुन सक्छन्। परम्परा गलतै थिए भने त विवेकशील मान्छेले सयौँ–हजारौँ वर्षसम्म किन त्यसको अनुकरण गरिरहन्थे होला र! कसैलाई हानि नगरी जसले जे गर्दा आफू र आफ्नो समुदायको हित परम्परा पालना गरेको देख्छ त्यसमा कसैले टाउको दुखाइरहनु आवश्यक छैन। आखिर चाडबाड भनेका वर्षभरिको थकाइ मेटेर फेरि अर्को वर्षका निम्ति आफूलाई तयार पार्ने नियमितता हुन्। यसकारण हाम्रा पुर्खाले यिनलाई चलाए। यिनलाई समयानुकूल सुधार गर्दै भावी पिँढीमा हस्तान्तरण गर्न हामी पनि तयार हुनुपर्छ।

प्रकाशित: १ कार्तिक २०७३ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App