coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विशिष्टहरूको सडक बेथिति

अति विशिष्ट र विशिष्टका नाममा सडकमा गुड्ने ‘सवारी’ आतंकबाट सर्वसाधारण आक्रान्त हुँदैछन्। तिनका मन यतिबेला अत्यन्तै उद्वेलित छन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ हिँडेको सशस्त्र प्रहरीको गाडीको शुक्रबार ठक्कर दिइ सर्वसाधारणलाई बीच सडकमा लडाएको दृश्य देख्ने जोसुकै मर्माहत हुने अवस्था छ। धन्य, स्कुटरमा रहेका दुवैजना बचे। तर यो घटनाबाट पाठ नसिक्ने हो भने बारम्बार यस्तो भइरहनेछ। सर्वसाधारण सरकारलाई कर बुझाउँछन्। दुःखजिलो गरेर सडकमा यात्रा गर्छन्। सार्वजनिक यातायातको यथोचित व्यवस्था सरकारले गर्न सकेको छैन। सरकार केन्द्रमात्र होइन, यतिबेला प्रदेश र स्थानीय सरकार पनि छन्। त्यसमा पनि काठमाडौँ महानगरपालिका साधनस्रोतका हिसाबले धनी छ। यसले सार्वजनिक यातायात व्यवस्था भरपर्दो तुल्याउने हो भने सर्वसाधारणले जीवनकै जोखिम मोलेर सडक यात्रा गर्नुपर्ने थिएन। हाम्रो सडकमा विशेषगरी मध्यमवर्गीय कामकाजी व्यक्तिले मोटरसाइकल÷स्कुटर प्रयोग गर्नुपर्ने बाध्यता छ। यसरी आफ्नो जोहो आफैँ नगर्ने हो भने कोही पनि गन्तव्यमा सहजै पुग्न सक्दैन। व्यक्तिले जसरी होस् निजी सवारी साधन किन्नैपर्छ। सार्वजनिक यातायात व्यवस्था राम्रो बनाएको भए कसैले पनि मरिहत्ते गरेर सवारी किन्नुपर्ने आवश्यकता पर्दैन। सडक सवारीको चापले असुरक्षित बनिरहेको छ। यसले राजधानी काठमाडौँको हावालाई समेत असुरक्षित तुल्याएको छ। वास्तवमा केही मिनेटमै राजधानीका अधिकांश ठाउँमा पुग्न सकिन्छ। त्यसो हुँदा साइकलजस्ता प्रदूषण कम गर्ने र सडकलाई समेत सहज बनाउने साधन यहाँ गुड्न सक्ने अवस्था छैन।

धन्य, चन्द एकजना मात्र यस्ता विनम्र नेता हुन् जसले यो घटना थाहा पाएको भोलिपल्टै दुर्घटनामा परेका स्कुटर चालक सन्तोष कुँवर र पछाडि बसेकी उनकी पत्नीलाई आफ्नो घरमै बोलाएर माफी मागेका छन्। त्यतिमात्र होइन, उपचारका लागि जे÷जस्तो गर्नुपर्ने हो, त्यसका निम्तिसमेत उनले तत्परता देखाउनु आफैँमा सकारात्मक पक्ष हो। यसमा चन्दको धेरै दोष देखिँदैन। उनको पछुवा गाडी सशस्त्र प्रहरी बलको हो। त्यसमा सशस्त्र प्रहरीका जिम्मेवार सिपाही थिए। आफूले लिएर हिँडेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएर ढालेको देखेपछि तिनको उद्धारका निम्ति उनीहरूले पहल नगर्नु आफैँमा अमानवीय कार्य हो। के प्रहरीको तालिममा यस्ता विषय कहिल्यै आउँदैनन् ? विशिष्टलाई लिएर हिँडेपछि छोड्न मिल्दैन भने आफ्नै प्रहरी निकायलाई खबर गरेरसमेत उद्धार गर्न सकिन्छ। कल्पना गरौँ, यस्तै घटना कुनै विकसित मुलुकमा हुँदो हो त कस्तो प्रतिक्रिया आउने थियो ? तर धेरै जस्तो अवस्थामा यस्ता विषयलाई बेवास्ता गरेको देखिन्छ। राजनीति गर्ने भनेका समाजका उदाहरणीय व्यक्ति हुन्। तिनले आफ्ना कर्म र व्यवहारबाट सबैको मन जित्ने प्रयास गर्नुपर्छ। हालैका वर्षमा भने त्यस्तो अनुभूति हुन छाडेको छ। सडकमा जुन तहको ठस्सा देखाउन थालिएको छ, त्यसलाई लोकतन्त्रका सार्वभौम नागरिकले अपमानित महसुस गर्न थालेका छन्। अति विशिष्टलाई लिएर हिँडेका बेलामा तिनले म्याजिक लाइट वा डण्डा देखाउँदै सडकमा हिँडेको दृश्य कम्ती दिक्कलाग्दो देखिँदैन। सडकमा हिँड्ने नागरिकप्रति थोरै भए पनि सम्मान देखाउन किन नसकेको होला ?

संयोगले कुँवर दम्पतीलाई विशिष्टको पछुवा मोटरले ठक्कर दिएको घटना सामाजिक सञ्जालमार्फत् बाहिर आएको छ। सञ्चारको लोकतन्त्रीकरणमा प्रविधिलाई समेत श्रेय जान्छ। सर्वसाधारण नागरिकले समेत कतै कुनै बेथिति भइरहेको छ भने त्यसलाई सार्वजनिक गर्न सक्छन्। र, यो महान् कार्य सञ्जीव तामाङ लामाको फेसबुकमार्फत् सार्वजनिक भएको छ। यो सामाजिक सञ्जाल प्रयोगकर्ताबाट भएको सूचना सार्वजनिक गर्ने महŒवपूर्ण कार्य हो। विशिष्टका ‘सवारी’ का कारण यस्ता थुप्रै घटना भएका छन् जुन कतिपय अवस्थामा सार्वजनिक हुन पाएका छैनन्। कतिपय बेलामा बाटो नछाडेको भनेर कारबाही गरिएका घटना पनि चर्चामा आएकै छैन। विशिष्टका सवारीमा लगाइने साइरन आतंक पनि उत्तिकै छ। कुनै उद्घाटन वा समापनमा घन्टौँ बस्न सक्ने हाम्रा विशिष्टलाई सडकमा निस्कनासाथ किन हतार हुन्छ ? सडक प्रयोगकर्ता अन्य नागरिकप्रति सम्मान देखाएर पनि हिँड्न सकिन्छ। त्यसो गर्दा विशिष्टहरूकै इज्जत बढ्छ। केहीअघि श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको गाडीले जिब्राक्रसबाट बाटो पार गर्न खोज्ने सर्वसाधारणलाई मौका दिएको तस्बिर चर्चित भएको थियो। उनको गाडी अरु विशिष्टले जस्तो रातो बत्तीमा पनि हुइँकिने गर्दैन। सडकमा अरुलाई पनि मौका दिएर गुड्दा धेरै फरक हुन्छ। फिलिपिन्सका तत्कालीन राष्ट्रपति बेनिग्नो अक्विनोले आफ्नो सवारीमा साइरन लगाउन बन्द गरेका थिए। त्यो एउटै सन्देशले समेत सर्वसाधारणमा सकारात्मक प्रभाव परेको देखिएको थियो। हामीकहाँ भने आफूलाई अरुभन्दा ‘बढी बराबर’ देखाउन पनि अगुवा÷पछुवासहितको सवारी गराउने प्रचलन बढ्दो छ। वास्तवमा हाम्रा अति विशिष्टलाई चाहिनेभन्दा बढ्ता गरेर सर्वसाधारणलाई रीस उठाउने अवस्था सिर्जना गरिँदैछ। यसमा सुरक्षा निकायको ध्यान समयमै जानु आवश्यक छ।

प्रकाशित: १८ चैत्र २०७५ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App