coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड– उत्कृष्ट लयलाई निरन्तरता दिएका कप्तान लियोनल मेसीले दुई गोल गरेपछि उपाधि दौडमा रहेको बार्सिलोनाले शनिबार स्पानियोललाई २–० ले पराजित गरेको छ।

तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भ्रमणकारी टोली स्पानियोलले ७०औैं मिनेटसम्म गोल गर्न मौका दिएको थिएन। तालिकाको १५औं स्थानमा रहेको स्पानियोलले पहिलो हाफमा उत्कृष्ट खेले पनि दोस्रो हाफको अन्तिम २० मिनेट लयलाई निरन्तरता दिन नसक्दा अंक गुमाउन पुगेको हो।

७१औं र ८९औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको लिग लिडर बार्सिलोनाले शीर्षतालाई शनिबार पनि कायम राखेको हो। २–० को जित निकालेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंकदूरी १० मा पु-याएको छ।

जित सुनिश्चित गराउन मेसीले ७१औं मिनेटमा फ्रिकिकमार्फत बार्सिलोनालाई अग्रता दिलाएका थिए। १९ यार्ड टाढा पाएको अवसरलाई कप्तान मेसीले आकर्षक शैलीमा जाली चुमाउन सफल भए। यस्तै खेल सकिन अन्तिम मिनेट बाँकी रहँदा माल्कोमको पासमा उनले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै मेसीले पछिल्ला चार खेलमा ८ गोल पूरा गरेका छन्।  जारी सिजनमा उनले ३१ गोल गरेका छन् भने स्वारेज १३ गोलले पछि छन्। 

उता शनिबारै सम्पन्न अर्को खेलमा तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले डेपोर्टिभो आल्भेजलाई ४–० को फराकिलो अन्तरले पराजित गरे पनि शीर्ष स्थानको बार्सिलोनसँग अंकदूरी घटाउन सफल भएन। यद्यपि तेस्रो स्थानको रियाल मड्रिडसँगको अंकदूरी भने बढाउन सफल भयो। तेस्रो स्थानको रियाल एक खेल कम खेल्दा ५ अंकले पछि छ। 

‘१९ यार्ड टाढा पाएको सेट पिसमा मेसी सफल हुन्छन् भन्ने मेरो विश्वास थिएन,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले भने, ‘हामीले सेट पिसमा पाएका अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने रणनीति बनाएका थियौं र यो सम्भव पनि भयो। सल्लाह उनलाई आवश्यक छैन। आफ्नो जिम्मेवारीमा उनी पूर्ण छन्।’ व्यावसायिक क्लब बार्सिलोनालाई शनिबार जित दिलाएका मेसीले अघिल्लो साता सम्पन्न मैत्रीपूर्ण खेलमा भने सुखद नतिजा हात पार्न सकेनन्। उक्त खेलमा अर्जेन्टिनाले भेनेजुयलालाई ३–१ को नतिजा सुम्पिएको थियो। 

‘देशको प्रतिनिधित्व गर्दै खेले पनि मेसी वास्तविक खेलाडी हुन्,’ प्रशिक्षक भाल्भेर्डोले थपे, ‘अस्ट्रेलियामा खेले भने पनि उनी मेसी नै हुन्। उनको खेल स्वाभाविक नै हुन्छ। खेल भनेको समग्र टोलीले खेल्ने  हो। उनको खेलमा हामी सन्तुष्ट छौं। उनको प्रशिक्षक बन्न पाएकोमा मलाई खुसी लाग्छ, अनि अवसर पनि।’

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा भ्रमणकारी टोलीलाई दबाबमा राख्दै गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेको थिएन। पहिलो हाफमा जित दिलाएका मेसी, स्वारेज र इभान राकेटिचले गोलका सुन्दर मौका पाए पनि सदुपयोग गर्न असफल भएका थिए। पहिलो हाफमा बार्सिलोनाले पेनाल्टीका लागि माग गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)ले उनीहरूको मागलाई गलत साबित गरेको थियो।

उता लिग लिडर बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको मड्रिडले फराकिलो जित निकाल्ने क्रममा पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो। पाँचौं मिनेटमा नै साउल निग्विजको गोलबाट खाता खोलेको एट्लेटिकोले ११औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो। खेलमा डिएगो कोस्टाले गोल गर्दै अग्रता २–० मा पु-याए। पहिलो हाफको उत्कृष्ट लयलाई भ्रमणकारी टोली एट्लेटिकोले दोस्रो हाफमा पनि निरन्तरता दियो। अल्भारो मेराटाले ५९औं मिनेटमा टोलीका लागि तेस्रो गोल थप्दा ८४औं मिनेटमा थोमसले चौथो गोल गर्दै टोलीलाई फराकिलो जित निश्चित गरेका थिए।

यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले भिल्लारियाललाई ३–२ ले पराजित गर्दा गेटाफे घरेलु मैदानमा लेगानेससँग २–० ले स्तब्ध भयो। आइतबार भएको अर्को खेलमा लेभान्टेले एइबरलाई २–१ पराजित ग-यो। 

 

प्रकाशित: १८ चैत्र २०७५ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App