कामराज र विमलेन्द्र निधी

सोमबार, ०१ कार्तिक २०७३, १० : २१ कृष्ण हाछेथु

दशैं सिध्यो, तिहार आउन दुई साता बाँकी छ र तेस्रो सातामा छठ पर्व सुरु हुन्छ। चाँडोमा तिहारअगाडि र ढिलोमा छठलगत्तै संविधान संशोधन विधेयक संसद्मा पेश हुने अनुमान छ। किन संविधान संशोधन भन्ने प्रश्नको जवाफमा प्रधान मन्त्री पुष्पकमल दाहालले दिँदै आएको तर्क आन्तरिक राष्ट्रियता बलियो बनाउन भन्ने छ।

 मधेस देश होइन तर राष्ट्र हो। यसको आफ्नै भूगोल छ जुन नेपालको मैदानी भूभाग हो जसलाई तराई पनि भनिन्छ। साथै भिन्नै इतिहास छ जुन अलि पर गएर हेर्दा विदेह, तिरहुत, सलहेस, सिम्रौनगढ र दंगीशरणको इतिहास खोतल्दा भेटिन्छ। नेपालको एकीकरण र त्यसपछिको सीमा विस्तार अभियानमा नेपालभित्र गाभिएका विजयपुर, चौदण्डी, मकवानपुर, पाल्पा र डोटी जस्ता स–साना राज्यका अधीनस्थ मैदानी भागको सामाजिक इतिहासमा पनि मधेस देखिन्छ। मधेसीहरुको आफ्नै मातृभाषा छ (जस्तै– मैथली, भोजपुरी, अवधी, थारू आदि), छुट्टै संस्कृति (वेशभुषा, रहनसहन, चाडपर्व) छ र अलग मनोविज्ञान छ।

त्यस्तै पहाड पनि देश होइन तर राष्ट्र हो जसको भौगोलक बनावट, ऐतिहासिक पृष्ठभूमि भाषिक र संस्कृतिक चरित्र र आममनोवैज्ञानिक पक्ष मधेस र मधेसीभन्दा पृथक छ। भिन्नाभिन्नै राष्ट्रहरुलाई आधुनिक स्वतन्त्र राज्यको सिमानाभित्र समाहित गराउन योगदान दिने स्मरणयोग्य व्यक्तित्वहरुमा भारतको सन्दर्भमा कामराज एक अग्रणी नाम हो। 

नेहरुमा भएको राजनेतापनको लेसमात्र नेपाली नेताहरुमा भेटिँदो हो त विभिन्न कालखण्डमा वेदानन्द झा, गजेन्द्रनारायण सिं र महन्थ ठाकुरले नेपाली कांग्रेस छाडी अर्कै झण्डा बोक्नुपर्दैनथ्यो होला।

कामराज तमिलभाषी द्रविड नश्लका एक स्थापित राजनीतिज्ञ हुन् जसको राजनीतिक जीवनको सुरुवातमा दक्षिण भारत (तत्कालीन मद्रास प्रेसिडेन्सी) मा एकसाथ दुई भिन्न आन्दोलन चलेका थिए। एक भारतलाई ब्रिटिश उपनिवेशबाट मुक्त गर्ने स्वतन्त्रता आन्दोलन। अर्को द्रविड पहिचानको आन्दोलन जुन एकसाथ (१) ब्राह्मण वर्चश्वविरुद्ध थियो (२) राष्ट्रिय राजनीतिमा उत्तर भारतको प्रभुत्वता विरुद्ध थियो र साथै (३) हिन्दीलाई मात्र सरकारी कामकाजको राष्ट्र भाषा बनाउने विचारको अस्वीकार थियो। एक अग्रज स्वतन्त्र सेनानीको नाताले सन् १९५०–६० को दशकताका भारतीय राष्ट्रिय कांग्रेस पार्टीमा कामराजको भूमिका प्रभावकारी थियो जुन अहिले नेपाली कांगे्रसमा विमलेन्द्र निधीको हैसियतसँग दाँज्न सकिन्छ। नेहरुको देहान्तपछि कामराज केही समयका लागि आफ्नो पार्टीको अध्यक्ष पनि भए साथै उनी तमिलनादु प्रान्तको मुख्य मन्त्री पनि थिए।

राष्ट्रिय राजनीतिमा कामराजको ख्यातिको एउटा मुख्य आधार दक्षिण भारतको द्रविड आन्दोलन थियो। यो नै उनको राजनीतिक पुँजी थियो। यद्यपि यस आन्दोलनको झण्डा, नेतृत्व र संगठन कांग्रेसइतरको थियो। खासखास आन्दोलनबाट निर्माण हुने राजनीतिक पुँजीको फाइदा आन्दोलनका अगुवामा मात्र सीमित नभई निश्चित पहिचान बोकेका अरु व्यक्तिमा पनि छरिन जाने कुराको दृष्टान्त नेपालमै भटिन्छ। पहिलो र दोस्रो मधेस आन्दोलनबाट सिर्जित राजनीतिक पुँजीले काम नगर्दो हो त मधेसी मूलका तत्कालीन कांग्रेस महामन्त्री रामवरण यादव सम्भवतः गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति हुने थिएनन् होला। संविधान निर्माणका क्रममा देखापरेको तेस्रो मधेस विद्रोहले पैदा गरेको परिस्थितिले गर्दा पनि नेपाली कांग्रेसमा विमलेन्द्र निधीको आवश्यकता, उपादेयता र महत्व पहिलेभन्दा बढ्न गएको हो। दलभित्र आफ्नो हैसियत बढ्दै गएकाले अहिलेको मिलिजुली सरकारमा कांग्रेस टिमको नेतृत्व गर्दै निधी उपप्रधान मन्त्री तथा गृह मन्त्री हुन सफल भएका छन्।

पाकिस्तान छुटि्टएर गएपछि भारतले सामना गर्नुपरेको सबभन्दा ठूलो पृथकतावादी आन्दोलन द्रविड र त्यसमा पनि खास गरेर तमिल विद्रोह थियो। त्यो सन् १९३० ताका देखापरेको थियो भने सन् १९६० को दशकमा चुलिएको थियो। पृथक राज्य स्थापना गर्ने विषयबाहेक द्राभिडियन/तमिल पहिचानको आन्दोलनका सबै मुद्दालाई भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई ग्रहण गराउन लगाउन कामराजले नेतृत्वदायी भूमिका खेलेका थिए। यद्यपि त्यो काम सजिलो थिएन। किनभनेे भारतीय राष्ट्रिय कांग्रेस पार्टीभित्र र बाहिर  'हिन्दु, हिन्दी र हिन्दुस्तान' लाई स्वतन्त्र भारतको राष्ट्र निर्माणको मूल मन्त्र बनाउनुपर्ने विचार बोक्ने हस्तीहरुको कमी थिएन। नेहरुको व्यक्तिगत भावना, चाहना र झुकाउ पनि एकत्वको राष्ट्रवाद थियो। तर सन् १९४७ मा भएको देश विभाजन र सन् १९६२ मा चीनसँगको युद्धमा भएको पराजयको पीडा र पाठबाट सचेत नेहरुले व्यक्तिगत चाहना भन्दा के गर्दा राष्ट्रिय अखण्डता बचाउन सकिन्छ भन्ने पक्षलाई महत्व दिए। फलस्वरूप भारतको सामाजिक विविधताअनुरूप भाषिक पहिचानका आधारमा प्रान्तहरु बनाउँदै स्वतन्त्र भारतको पुनःनिर्माण गरे। कामराजहरु पैदा हुन नेहरु जस्ता दूरदर्शी र उदार नेता हुनुपर्ने रहेछ।

नेहरुमा भएको राजनेतापनको लेसमात्र नेपाली नेताहरुमा भेटिँदो हो त विभिन्न कालखण्डमा वेदानन्द झा, गजेन्द्रनारायण सिं र महन्थ ठाकुरले नेपाली कांग्रेस छाडी अर्कै झण्डा बोक्नुपर्दैनथ्यो होला। राजकीय समारोहमा दौरा/सुरुवालमा देखिने तत्कालीन राष्ट्रपति रामवरण यादवले अन्य औपचारिक समारोहमा पटकपटक टोपी र गम्छा एकसाथ लगाई नेपालको राष्ट्रियताबारे एउटा सांकेतिक सन्देश दिन खोजेका थिए। तर देह त्यागअधि आफू प्रधान मन्त्री छँदै एक थान संविधान नबनाई नछाड्ने क्यान्सर पीडित सुशील कोइरालाको जिद्दी अगाडि रामवरणको केही लागेन। पदीय मर्यादाका कारण अनिच्छुक हुँदाहुँदै पनि नयाँ संविधान घोषणा गर्नुपर्‍यो। त्यस्तै पहिलो संविधान सभाका बेला आदिवासी जनजाति पहिचान र एमालेको प्रगतिशील वामपन्थी विरासतलाई संयोजन गर्ने पृथ्वी सुब्बा गुरुङको प्रयास पनि सफल हुन सकेन। त्यसबेला आलोपालो गरी जनजाति ककसका संयोजक बनेका नेपाली कांग्रेसका आइबी गुरुङ र माओवादी केन्द्रका वर्षमान पुन पनि यही कोटीका नेतामा दरिए।

 भारतको सन्दर्भमा नेहरुको साथ पाएका कामराज त्यहाँको बृहत्तर राष्ट्रवाद र तमिल राष्ट्रियताबीच संयोजनकारी भूमिका खेल्न सफल भए। यसले तीनवटा सुखद् परिणाम दियो– एक, भाषिक पहिचानका आधारमा द्रविड बाहुल्य दक्षिण भारतमा तमिलनाडुलगायत आन्ध्र, कर्नाटक र केरला गरी ४ प्रान्त सिर्जनासंँगै द्रविड आन्दोलन तमिल विद्रोहमा संकुचित भए। दुई, तमिल भाषा र पहिचानलाई प्रान्तीय स्तरको राजनीतिक संरचनामा सम्बोधन गरेपछि तमिलनाडु भारतबाट विखण्डन हुन सक्ने जोखिम निराकरण भए। तीन, भारतीय राष्ट्रिय कांग्रेसमा उत्तर भारतका नेताहरुको हालिमुहाली भए तापनि दक्षिण भारतमा दलको प्रभाव विस्तार भए। विमलेन्द्र निधीले जोखिमसहितको अवसरलाई सदुपयोग गर्न चाहेमा नेपालमा कामराजको अवतार हुन सक्ने सम्भावना बोकेका नेता हुन सक्छन्। यसका केही लक्षण निधीको तीन 'स' (संकेत, सोच र स्थान) मा देखिन्छ।

संकेत– अरु बेलाको त कुरा छाडौं, मन्त्री पदको सपथ ग्रहण गर्दा पनि निधीले दौरा–सुरुवाल–टोपी लाएनन्। पोशाकमार्र्फत सम्पे्रषण गरेको सन्देश के हो भने नेपाली राष्ट्रियता पहाडी राष्ट्रियताभन्दा बृहत्तर विषय हो।

सोच– सन् २००२ मा नेपाली कांग्रेस विभाजन हुँदा निधी महामन्त्री भएको प्रजातान्त्रिक कांग्रेसले अघि सारेको दमजमक (दलित, महिला, जनजाति, मधेसी र कर्णाली) नामक समावेशी नीति निर्माणमा निधीले अग्रणी भूमिका खेलेका थिए। प्रदेश निर्माणको सन्दर्भमा निधीले एकातर्फ 'एक मधेस, एक प्रदेश' को विचार अस्वीकार गरेका थिए भने अर्कोतर्फ उत्तर–दक्षिण सिमाना जोडेर बनाइने प्रदेशिक संरचनाविरुद्ध उभिएका थिए। नयाँ संविधानले अपनाएको प्रदेश–१, प्रदेश–५ र प्रदेश–७ निधीको सोचविपरित छन्।

स्थान– संविधान निर्माणताका निधीको हैसियत आफ्नो दलभित्र प्रतिपक्षको एक निरीह सदस्यका रूपमा सीमित थियो। यद्यपि त्यसबेला मधेसी मूलका कांग्रेसी सभासद्ले चलाएको अभियानमा उनी नेपथ्यमा भेटिन्थे। तर नेपाली कांग्रेसको पछिल्लो अधिवेशनपछि निधीको भूमिका नेपथ्यबाट रंगमञ्चमा सरेको छ। अहिले कांग्रेसभित्रमात्र होइन अन्य ठूला दलमा पनि निधीको व्यक्तित्व र हैसियत मधेसी मूलका अन्य कुनै नेताभन्दा अग्लै देखिन्छ। कांग्रेसभित्र शशांक कोइराला र प्रकाशमान सिंहको जस्तै विमलेन्द्र निधीको पनि पारिवारिक विरासत छ। करिब ४० वर्षदेखि एउटै दलमा अविच्छिन्न योगदान छ। साथै वर्तमान सत्ता समीकरण निर्माणमा अर्थात माओवादी केन्द्र र कांग्रेसको मिलिजुली सरकार बनाउनमा र संविधान संशोधनको मुद्दामा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चालाई एउटै स्थानमा ल्याउनमा निधीले एक प्रमुख सूत्रधारको भूमिका खेलेको कुरा लुकेको छैन।

 अब आउँदा दिनमा पहाडी राष्ट्रियतासँगै मधेसी राष्ट्रियतालाई पनि नेपालको बृहत्तर राष्ट्रवादको अविच्छिन्न अंग बनाउन विमलेन्द्र निधीबाट अपेक्षा गर्न सक्ने तीनवटा उपलब्धिमूलक भूमिका निम्न हुन सक्छ :  एक, मधेसभित्र दलितसँग क्षमायाचना अभियानलाई मन, वचन र कर्मले साथ दिई यसलाई तीव्रता दिने। दुई, सबै दलमा आवद्ध मधेसी नेता र अभियन्ताहरुलाई निश्चित लक्ष्य प्राप्त गर्न गोलबन्द गर्ने। अन्यथा पहिचानको सवालमा ठूला दलहरु अनुदार भइरहनेछन्। तीन, संशोधनमार्फत संविधानलाई सकेसम्म मधेसमैत्री पनि बनाउने। चन्द्रमा सधैँ दाहिने हुँदैनन्। समय र परिस्थिति सधँै आफूअनुकूल हुँदैन। मौकामा चौका हान्न जाने गन्तव्यमा पुगिन्छ। आगे विमलेन्द्र निधीको इच्छा, आँट र भूमिका। साथै कामराजको मिसनलाई नेहरुले साथ दिए जस्तै निधीबाट अपेक्षित अभियानलाई नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सघाउ पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भन्ने प्रश्न भने छ।






यसमा तपाईको मत

अन्य समाचार

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

Ncell Footer Ad