७ वैशाख २०८१ शुक्रबार
कला

विष्णुद्वार र पेन्देलमा ‘जेसुम’

काठमाडौं– हाइकिङ गर्दै चित्र र साहित्य सिर्जना गर्ने अभियानको रूपमा रहेको ‘जेसुम यात्रा’को छैठौं संस्करण यसपटक राजधानीको विष्णुद्वार र पेन्देल गाउँमा सम्पन्न गरिएको छ। कला, साहित्य र रंगमञ्चमा मौलिकताको खोजी गर्दै स्थानीय संस्कृति, सम्पदा र ज्ञान परम्परालाई प्रर्वद्धन गर्ने उद्देश्यले सुरु गरिएको अभियान यसपटक बुढानिलकण्ठको जामछेन विजया चैत्यबाट शुरु भएको थियो।

शिवपुरी जंगलबीचको एक घण्टा उकालो चढेपछि पुगिने विष्णुद्वारमा पुगेपछि स्रष्टाहरूले प्रकृतिको आनन्दमा रमाउँदै आसु कविता रचना गरे। यात्रामा सहभागी चित्रकार दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासिमा, भीम सुब्बा तामाङ, प्रकाश मानन्धर, विक्रम प्रजापतीलगायतले हरियो जंगली सौन्दर्यलाई क्यानभासमा उतारे।

उनीहरूले विष्णुद्वारको भित्री जंगली दृश्य, झरना, ढुंगाहरूबीच बग्ने पानीमार्फत प्राकृतिक सुन्दरतालाई क्यानभासमा प्रस्तुत गरे। उनीहरूको कम्पोजिसनमा लेकाली जंगलका जरादेखि लहरासम्म अटाइएको थियो।

यात्रालाई साहित्यिक बनाउन कवि अनिता लामा, फूलमान वल, बिना थिङ, सुरेश हाचेकाली, जिचेन स्याङतान, नवराज खतिवडा, बाबु साइँला, जगत तामाङलगायतले विष्णुद्वारको प्राचीन सभ्यता र प्राकृतिक सौन्दर्यलाई आफ्ना कवितामा प्रस्तुत गरे। अनिताले द्वन्द्वले पारेको सांस्कृतिक क्षतिलाई कविताको विषय बनाइन्। बुढानीलकण्ठकै बासिन्दा अनिताले द्वन्द्वअघि अक्षया तृतीया (नेपाली नयाँ वर्ष) को दिन बुढानीलकण्ठबाट रातभर तीर्थयात्रा गरेर बाग्द्वार, विष्णुद्वार हुँदै टोखास्थित स्वप्नतीर्थ आइपुग्ने परम्परा अहिले हराएको बताइन्।

हाइकिङअन्तर्गतको बिहानी कार्यक्रममा स्थानीय विषयवस्तुबारे वडा अध्यक्षहरू विजय तामाङ, बालकृष्ण श्रेष्ठ र सनातन धर्म सेवा समाज बूढानीलकण्ठका अध्यक्ष विकास तामाङले प्रकाश पारेका थिए। उनीहरूले बुढानीलकण्ठको स्थानीय सम्पदाको बयान गर्दै सांस्कृतिक पर्यटनबारे खुलाए।

चित्र र कवितापछि चित्रकार र कविहरू विष्णुद्वारमुनिको पेन्देल गाउँ हुँदै हाइकिङ सुरु गरे। पेन्देल गाउँमा उनीहरूलाई तामाङ सामुदायिक होमस्टेका आमा समूहले तामाङ संस्कारअनुसार टोटलाको फूल र घिउको टिका लाउँदै स्वागत गरेका थिए। टिकापछि डम्फु बजाएर गीत गाउँदै कवि र चित्रकारहरूलाई गाउँ परिक्रमा गराइएको थियो। तामाङ परम्पराअनुसार बिहे या ब्रतबन्धमा मामालाई दोबाटोसम्म लिन आएर डोली चढाएर लैजाने परम्परा यसपटक कवि र चित्रकारहरूमा प्रयोग गरिएको थियो। आमा समूह र गाउँलेहरूले डम्फू बजाउँदै गीत गाएर जेसुम यात्राकी संयोजक अनिता लामालाई डोलीमा हाले । त्यसपछि नाचगान गर्दै स्रष्टाहरू गाउँ घुमे।

गाउँकै स्कुलको परिसरमा विष्णुद्वारमा सिर्जना गरिएको घुम्ती कला प्रदर्शनी र कवि गोष्ठीसमेत गरिएको थियो। कार्यक्रममा प्रदेश सांसद दीपक निरौला र बुढानीलकण्ठका मेयर उद्धव खरेल पनि पुगेका थिए। होम स्टेका परिकल्पनाकार एवं तामाङ फिल्मकर्मी धोर्जे तामाङले स्रष्टाहरूलाई गाउँमा पहिलोपटक स्वागत गर्न पाउँदा आफूहरू खुशी भएको बताए।

 

प्रकाशित: १८ चैत्र २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App