८ वैशाख २०८१ शनिबार
कला

नेपाल बोल्ने रन्जु कला

काठमाडौं– तराईमा विवाहलाई सम्पत्तिसँग तुलना गरिन्छ। अर्थात् बेहुला पक्षले बेहुली पक्षबाट कति मात्रामा ‘दहेज’ पायो भन्ने चासो बढी हुन्छ। बेहुलाले कस्ती बेहुली विवाह ग-यो भन्दा पनि ‘दहेज’को मात्रालाई बढी जोड दिन्छन्। यस्तै कथा र व्यथालाई समेटेर मिथिला चित्रकार रन्जु यादवले कोरेका चित्रहरूको यतिबेला राजधानीमा प्रदर्शन भइरहेको छ।

शनिबारबाट सुरु भएको ‘कलर्स अफ चेन्ज’ नामक आफ्नो पहिलो सोलो प्रदर्शनीमा रन्जुले तराईका दुःखसँगै सम्भावनाका चित्रहरू कोरेर राखेकी छन्। प्रदर्शनीमा रन्जुले ‘अनटचेबिलिटी इज ए कर्स’ शीर्षकमा तराईमा भइरहेको छुवाछुतलाई प्रस्तुत गरेकी छन्। ‘तराईमा विशेषत डोम जातिमा छुवाछुतको समस्या व्याप्त छ। उनीहरूको हातले बनाएको पुजाको सामाग्री बनाए पनि उनीहरूलाई नै विभेद गरिन्छ’, रन्जुले भनिन्, ‘मैले चित्रमा तराईको डोमलाई मात्र प्रतिनिधित्व गराएँ। तर यो समस्या नेपालभर छ। कुनै भौगोलिक अवस्था नभईकन जुनसुकै भुगोलमा पनि छुवाछुतको समस्या ज्वलन्त छ।’

रन्जुले आफ्नो चित्रमा ‘भ्रुण हत्या’को विषयलाई पनि उठान गरेकी छन्। चित्रमा एक गर्भवती महिलाको भुँडीमा महिला र पुरुष दुवैले हातमा भाला लिएर ताक्दै गरेको देखाइएको छ। चित्रमै भूँडीबाट निस्किएको एक कमलको फूलमा बालिका देखाइएको छ। सन्तान जन्मनु अघि नै गर्भमा छोरा वा छोरी छ भन्ने कुराको पहिचान गरेपछि मात्र सन्तान जन्माउने चलनलाई चित्रमा व्यंग्य गरिएको छ।

रन्जुले ‘इलिमिनेटिङ चाइल्ड म्यारिज’ शीर्षकको चित्रमा बालविवाहको समस्यालाई उजागर गरेकी छन्। ‘तराईमा अहिले बालविवाह भन्दा पनि दहेज प्रथा ज्वलन्त समस्या छ। बरु बालविवाहको मात्रा केही घट्दैछ’, रन्जुले भनिन्, ‘पहाडी क्षेत्रमा पनि बालविवाहको समस्या ज्यूँका त्यूँ छ। सबै क्षेत्रमा यस्तो समस्या घटाउनुपर्छ भन्ने मेरो माग हो।’

चित्रकार रन्जुले आफूले चित्रमार्फत समाजमा सन्देश दिन खोजेको खुलाइन्। ‘सामाजिक सन्देशमूलक चित्र कोर्न मलाई कुनै समस्या छैन। यस्तोमा डर लाग्ने अवस्था पनि रहन्नँ’, उनले भनिन्, ‘सकारात्मक प्रयासका लागि गरिएका कामहरूबाट डराउनुपर्दैन।’

रन्जुले चित्रमा महिला सशक्तिकरणको विषयलाई पनि उठान गरेकी छन्। महिला शिक्षा, महिला समानतालगायतका विषय उनका चित्रमा प्रस्ट देख्न पाइन्छ। तराईको जनजीवनलाई चित्रमा उठान गरेकी रन्जुले तराईको छठ, छोरीलाई विद्यालय शिक्षा, त्यहाँको परम्परागत संस्कृतिलाई पनि समेटेकी छन्।

उनले महिलाले चाहे भने जे कुरा पनि नेतृत्व गरेर हाँक्न सक्छन् भन्ने उदाहरण ‘ड्राइभिङ वल्र्ड’ चित्रमार्फत व्यक्त गरेकी छन्। जुन चित्रमा महिलाले हेलिकप्टर, हवाईजहाज, गाडी, मोटरसाइकल लगायतका सवारीसाधन कुदाएको देखाइएको छ।

त्यस्तै ‘वर्किङ कपल’ चित्रमा महिला र पुरुषले सँगै काम गरेको देखाएकी छन्। जहाँ कृषि पेशामा आश्रित एक जोडी माछा लिएर घर फर्कदै गरेको चित्रमा देखाइएको छ। त्यस्तै ‘हेभन्ली लभ’मा महिला र पुरुषको प्रेमिल अवस्थालाई देखाइएको छ। उनले चित्रमा वैदेशिक रोजगारीको समस्यादेखि समसामयिक विषयलाई उठान गरेकी छन्।

कौशल्या यादव र पुलकित यादवको सन्तानका रूपमा सप्तरीमा जन्मिएकी रन्जुले बाल्यकालिन समयदेखि नै चित्र कोर्न थालेकी हुन्। परिवारमा हजुरआमा र आमाले चित्र कोरेको देखेपछि त्यसैलाई अंगालेकी उनले विदेशको हकमा बंगलादेश र म्यानमार तथा स्वदेशको हकमा काठमाडौंदेखि विभिन्न जिल्लामा हुने सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेकी छन्।

उनका अनुसार प्रदर्शनीका लागि एउटा चित्र कोर्न उनलाई एक साता लागेको थियो। एक्रेलिक र प्राकृतिक रङको प्रयोग गरेकी रन्जुका झण्डै २९ तस्बिर प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी बुधबारसम्म चल्नेछ।

प्रकाशित: १८ चैत्र २०७५ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App