७ वैशाख २०८१ शुक्रबार
राजनीति

दमकमा भूकम्प संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भूकम्प संग्रहालय बनाउने घोषणा गरेका छन्। २०७२ सालको भूकम्पलाई चित्रण गर्नेगरी संग्रहालय निर्माणको काम अघि बढाउने उनले बताए। आइतबार दमक नगरपालिकामा सुरु भएको साहित्यिक गोष्ठीको उद्घाटन गर्दै ओलीले दमकको उत्तरी क्षेत्रमा संग्रहालय निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि राष्ट्यि पुनर्निर्माण प्राधिकरणसँग परामर्श सकिएको उनको भनाइ छ।

‘दमक र चुरेको क्षेत्र पर्नेगरी संग्रहालय निर्माणको काम अघि बढेको छ,’ उनले भने, ‘त्यसका लागि दमक नगरपालिका र प्राधिकरणबीच कुराकानी भइसकेको छ। ओलीले भूकम्पपछिको प्रभाव र भूकम्पीय चाप कसरी आउने भनेर दृष्टिगत गरी पहाड र तराई दुवै भाग छुनेगरी संग्रहालय निर्माण गरिने बताए। प्रधानमन्त्री ओलीले भाषा र संस्कृतिमा नेपाल उत्कृष्ट रहेको उल्लेख गरे। ‘हाम्रो सभ्यता र विकास विश्वकै उदाहरण बनेका छन्,’ उनले भने, ‘धेरैलाई थाहा नहुन सक्छ, गायत्री मन्त्र पनि कोसी नदीको किनारबाट उत्पत्ति भएको हो।’ उनले साहित्य र इतिहासमा नेपाल पूर्वअलौकिक रहेको बताए। ओलीले एक सय १६ जातिको भाषा, संस्कृति पनि प्रदेश १ मा रहेको उल्लेख गरे। ‘सगरमाथादेखि कचनकवलसम्म मात्रै होइन, गुराँस, रुद्राक्ष, चिया र अलैंचीको पनि राजधानी पनि यही हो,’ उनले भने, ‘यो ठाउँ प्राकृतिक, जैविक, वानस्पतिक हिसाबले पनि धनी छ।’

उनले ज्ञान र संस्कृति सँगै पुरातTत्वमा पनि प्रदेश १ समृद्ध रहेको बताए। उनले विराटको दरबारदेखि पाण्डवहरुको गुप्तवास बस्ने थलोसम्म रहेको बताए। ‘प्रदेशमा किच्चकवध, अर्जुनधारा, जलथलसम्म छन्,’ उनले भने, ‘यी सबैको सांस्कृतिक उत्थानका लागि लाग्नुपर्नेछ।’ उनले नेपाल विविधतासहितको सम्पन्नता रहेको मुलुक रहेको बताए। ‘दुनियाँमा च्याब्रुड खोजेर पाइन्छ ? हामीसँग छ,’ उनले भने, ‘हाम्रा पुर्खाहरूले अनौठो गरी देउताहरू सिर्जना गरेका छन, ती हाम्रा सम्पत्ति हुन्।’

प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका प्रधानमन्त्रीका निजी सचिव तथा दमक नगरपालिकाका पूर्वकार्यकारी अधिकृत युवराज दाहालको स्मृतिमा दमकमा निर्माण हुने भ्यु टावरको नाम युवराज दाहाल भ्यु टावर राख्न प्रस्ताव गरे। ‘मैले भ्यु टावर बनाउन युवराज दाहालको अथक मिहिनेत देखेको छु,’ उनले भने, ‘म नगरपालिकासमक्ष भ्यु टावरको नाम युवराज दाहाल भ्यु टावर राख्ने प्रस्ताव गर्छु।’ ओलीले दमक औद्योगिक क्षेत्र बन्दै गरेको उल्लेख गरे। ‘केहीले अदालतमा हालेको मुद्दासमेत खारेज भइसकेको छ,’ उनले भने, ‘अब सडक बन्छन्, विकासले गति लिन्छ।’

ओलीले स्थानीय सरकार, प्रदेश सरकार र संघबीचको असममञ्जस्यताका कारण रोकिएका सडकहरू अब संघले जिम्मा लिने बताए। ‘केही सडकको काम रोकिएको थियो, अब ती सडकहरू बन्छन्, केन्द्र सरकारले सडक बनाउने जिम्मेवारी लिइसकेको छ,’ उनले भने, ‘नसकिएका काम प्रदेश र स्थानीय सरकारले गर्नेछन्।’ त्यसअघि प्रधानमन्त्री ओलीले दमक नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए। चार करोडको लागतमा निर्माण भएको भवन ओलीले नै शिलान्यास गरेका थिए। आइतबारै प्रधानमन्त्री ओलीले मोरडको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारण सभा र इन्जिनियरिङ भवनको उद्घाटन गरेका थिए।

प्रकाशित: १८ चैत्र २०७५ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App