७ वैशाख २०८१ शुक्रबार
राजनीति

आन्तरिक विवादले कांग्रेस कमजोरः सभापति देउवा

गुल्मी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन्। कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर एक ठाउँमा उभिनुपर्ने बताए। नेताहरू गुटगत स्वार्थ छाडेर एक ठाउँमा उभिने बितिकै पार्टी बलियो हुने दाबी गरे। 

चुनावमा कांग्रेसभित्र घात, अन्तर्घात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नैलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी कमजोर रहिरहने बताए। ‘हामीबीचमै धेरै समस्याहरू छन्’, देउवाले भने, ‘निर्वाचनको समयमा आफूले टिकट पाउँदा सबै ठीक हुने, अर्कोले टिकट पाउँदा बेठिक हुने प्रवृत्तिले पार्टी कमजोर भएको हो।’

पार्टीले अनुशासन समिति गठन गरिसकेकाले अब पार्टी हितविपरीत काम गर्नेलाई कडा कारवाही गर्ने देउवाको चेतावनी थियो।कम्युनिस्ट सरकार अधिनायकवादको कदममा अघि बढेकाले यसका विरुद्ध लड्न तयार रहन कार्यकर्तालाई आग्रहसमेत गरे। कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न पार्टी एक ढिक्का हुनुपर्ने बताए। वर्तमान सरकारका काम कारवाही र गतिविधिले कम्युनिस्टहरू आफैं पतन भएर जाने देउवाको दाबी छ। 

सरकार लोकतन्त्र र संविधानविपरीत चलेको आरोप लगाए। प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महतलगायत एक दर्जन बढी केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ चैत्र २०७५ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App