८ वैशाख २०८१ शनिबार
अर्थ

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैतको अन्तिम साता हुने निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्षमा सर्वसम्मत बनाउने अभ्यास सुरु गरेको छ। त्यसको लागि महासंघले विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पास गराउन कात्तिक ४ गते विशेष साधारण सभा बोलाएको छ।

महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल संयोजकत्वमा गठित १९ सदस्यीय विधान संशोधन समितिले अध्यक्ष पदको लागि निर्वाचन नगर्ने, वरिष्ठ उपाध्यक्षलाई सिधै अध्यक्ष बनाउने, वरिष्ठ उपाध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव करिब एक महिनाअघि महासंघको कार्यसमिति बैठकले पारित गरेको थियो।

महासंघको विधान २०४९ मा संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउन लागिएको यो प्रस्ताव पारित भए नेपाल उद्योग परिसंघकै संरचनामा झैं महासंघमा पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन्। महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार तत्कालै कार्यान्वयन हुने गरी विधान संशोधन भए अध्यक्षको निर्क्यौल समेत हुनेछ।

कात्तिक ४ गते विधान संशोधन भए चैतमा हुने साधारण सभामा वरिष्ठ उपाध्यक्षसम्मको मात्रै निर्वाचन हुनेछ। तर, विधान संशोधन तत्कालै कार्यान्वयनमा लैजाने बारे केही फरक मत रहेको महासंघका कार्यकारी समितिका सदस्यहरुको भनाइ छ। अहिलेको कार्यसमितिमा तत्कालै कार्यान्वयन गर्ने पक्षमा धेरै सदस्य रहेको भए तापनि केही भने विधान संशोधन अहिले गर्ने र अर्को कार्यकालदेखि मात्रै कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्। त्यसो भए भवानी राणाले अध्यक्ष बन्न निर्वाचनमा प्रतिस्पर्धा गर्नु पर्नेछ। तर, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले विधान संशोधन भएपछि तत्कालै कार्यान्वयनमा आउने र महासंघलाई राजनीतिबाट मुक्त गर्ने अभियानले समेत सार्थकता पाउने बताए।

१० वर्षअघि विधान संशोधन गरेर पदावधि दुई वर्षबाट तीन वर्षमा पुर्‍याउँदा तत्कालै कार्यान्वयनमा आएको थियो। महासंघका तत्कालीन अध्यक्ष चण्डीराज ढकालको पालामा विधान संशोधन गरेर अध्यक्षको कार्यकाल दुई वर्षबाट तीन वर्ष पुर्‍याइएको थियो।

यसरी, विधान संशोधन समितिबाट पनि सर्वसम्मतिमा प्रस्ताव आएको र कार्यसमितिले पनि सहमति दिएकोले कात्तिक ४ गतेको विशेष साधारण सभाले उक्त विधान पास गरे अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन्। विधान संशोधन पास भए राणा नेपाल उद्योग वाणिज्य महासंघको १८ औं अध्यक्ष मात्र होइन नेपालको निजी क्षेत्र हाँक्ने पहिलो महिला अध्यक्ष पनि बन्नेछिन्। तर, विधान संशोधन प्रस्तावमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु भने त्यत्ति सन्तुष्ट छैनन्। उनीहरुले साबिकमा झैं महासंघमा अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने माग गर्दै आएका छन्।

यता विधान संशोधन समितिले भने नगर उद्योग वाणिज्य संघको संख्या बढ्दै गएको र निकट भविष्यमा करिब २ सय नगर उद्योग वाणिज्य संघ सदस्य हुने भएकोले निर्वाचनलाई व्यवस्थित बनाउन र परिपक्व नेतृत्व विकास गर्न उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष हुने प्रणालीको विकास गर्न तीन उपाध्यक्षमध्येबाट वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधन प्रस्ताव गरिएको बताएको छ।

अध्यक्ष पदलाई राजनीतिबाट मुक्त राख्न विधान संशोधन गरिएको बताइए पनि हालसम्म वरिष्ठ उपाध्यक्ष कार्यसमितिले छान्ने गरिएकोमा संशोधनपछिको चुनाव स्वतः वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित हुनेछ। विधान संशोधनपछि वर्तमान उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा लड्ने उनीहरु निकट स्रोत दाबी गर्छ।

यस्तै, हाल पशुपति मुरारकाले नेतृत्व गरेको कार्यसमितिको म्याद आगामी चैतमा सकिन लागेकोले जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएटतर्फको उपाध्यक्ष गरी ३ उपाध्यक्ष पदमा चुनावको प्रतिस्पर्धा सुरु भइसकेको छ। जिल्ला नगर उद्योग वाणिज्य उपाध्यक्ष पदका लागि केशव शर्मा, गुणनिधि तिवारी, प्रमोद श्रेष्ठको नाम अगाडि आएको छ भने वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेललाल श्रेष्ठ, अनुपबहादुर मल्ल, शंकर पाण्डेले उम्मेदवारी दिने बताउँदै आएका छन्। यसैगरी, एसोसिएटको उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दिने तयारी गरिरहेको उनीहरु निकट व्यवसायी बताउँछन्। 

विधान संशोधनले अध्यक्षमा पराजित व्यक्ति दोहोर्‍याएर निर्वाचनमा आउने प्रवृत्ति रोक्ने हुनाले निजी क्षेत्रको नेतृत्व परिवर्तन छिटोछिटो हुने देखिएको छ। यसबाट नयाँ पुस्ता छिटो नेतृत्व तहमा पुग्ने दाबी एक पक्षको छ भने नेतृत्व परिपक्व नभईकनै छिटोछिटो अध्यक्ष बन्दा महासंघमा परिपक्वताको कमीले समस्या निम्तन सक्ने अर्को पक्षको दाबी छ।

प्रकाशित: १ कार्तिक २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App