coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

रसुवा- रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

प्रयोगशालासहित स्थापना भएको कार्यालयमा खाद्य सामग्रीको गुणस्तर परीक्षण हुने क्रम पनि बढेको छ। तर कार्यालय स्थापना भएको दुई महिना बितिसक्दा पनि चीन निर्यात हुने खाद्य सामग्रीको परीक्षणका लागि एउटै नमूना आएको छैन। चीनबाट नेपाल भित्रिएका खाद्य सामग्रीको परीक्षणका लागि भन्सार कार्यालयले नमूना पठाउने गरेको छ।

कार्यालय स्थापना भएदेखि ५० वटाको नमूना परीक्षण गरिएको कार्यालय प्रमुख अतिस घिमिरेले बताए। ‘आयात भएका सामग्रीको गुणस्तर प्रमाणीकरण गरिरहेका छौं,’ उनले भने, ‘निर्यात हुने सामग्रीका लागि भने गुणस्तर प्रमाणीकरण भएको छैन।’

नेपाल सरकारले तोकेअनुसारको गुणस्तर नभएको सामग्री फिर्ता गरिएको उनले बताए। दुई महिनामा चारवटा सामग्री फिर्ता भएको छ। फिर्ता भएको सामग्रीमा सिसान र मकैको मिसिएको तेल, बिस्कुट, लेभल नभएको सामग्री रहेको छ।

चाउचाउ, मैदाको पिठो, चिउरालगायत सामग्री जाने गरेको छ। यी सामग्री जाँदा चिनियाँ पक्षले गुणस्तर नहेर्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।

गुणस्तर प्रमाणित नगरी सामग्री आयात तथा निर्यात गर्न मिल्दैन। भन्सार कार्यालयले खाद्य सामग्रीको नमूना गुणस्तर कार्यालयमा पठाउँछ। कार्यालयले आयात तथा निर्यात भएका सामग्रीको गुणस्तर प्रमाणित गरेपछि मात्रै भन्सारले अनुमति दिन्छ।

यो नाका हुँदै नेपाल आउने खाद्य सामग्रीमा चकलेट, चम्मा पिठो, बिस्कुट, सोया सप, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफीलगायत सामग्री छन्। यी सामग्री नेपालमा रहेका चिनियाँले प्रयोग गर्छन्।

‘नेपालमा काम गर्ने तथा घुम्न आउने चिनियाँले यी सामग्री प्रयोग गर्छन्,’ उनले भने, ‘अखाद्य वस्तु आउँदा यो प्रयोग गर्ने सबैलाई असर पुग्छ।’ सामग्री आयात तथा निर्यात बढ्दै जाँदा कार्यालयमा स्रोतसाधन तथा जनशक्ति भने पर्याप्त छैन।

कार्यालयको स्थापनाले गुणस्तरहीन सामग्री आउने सम्भावना भने घटेको छ। २०७५ कात्तिक १८ गते उक्त कार्यालय स्थापना भएको हो। कात्तिकमा कार्यालय स्थापना भएको भए पनि माघ १३ गतेदेखि कार्यालयले सेवा सुरु गरेको हो।

प्रकाशित: १७ चैत्र २०७५ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App