७ वैशाख २०८१ शुक्रबार
कला

प्रकृतिमा रमाउँदै चित्रमा रंग

शनिबार देवघाटको प्राकृतिक दृश्यसँग साक्षात्कार गरेर चित्र बनाउँदै कलाकारहरू। तस्विरः सविता/नागरिक

चितवन - उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्षे अवधिमा बेलाबखत मात्र उनी चित्र कोर्नकै लागि प्रकृतिको सामिप्यतामा पुग्छन्। उनले दुबई, भारत र नेपालका केही ठाउँमा पुगेर प्राकृतिक सुन्दरतालाई नियाल्दै चित्र पनि बनाए। घरभित्रको कोठामा बसेर कुनै भावलाई लिएर चित्र कोर्ने उनी अर्थात प्रकाश थापा शनिबार देवघाटमा भेटिए।

कालीगण्डकी र त्रिशुली नदी, नदी पछाडि रहेका पहाड प्रकाशको क्यानभासमा उत्रँदै थियो। हरेक शनिबारको बिहान प्रकृतिको काख मै पुगेर त्यही वरपरका चित्र उतार्ने प्रयास गरेको शनिबार १३ साता भयो। ‘प्राकृतिक स्थलमा नै बसेर काम गर्दा रुचि बढ्दै गएको छ’, उनी भन्छन्, ‘निकै रमाइलो भइरहेको छ।’ प्रकाशजस्तै चितवन र नवलपुरमा क्रियाशिल चित्रकारहरू मिलेर ‘हामी कलाकार’ नामक संस्था नै स्थापना गरेका छन्।

साताको एकदिन बिहानको समयमा प्रकृतिमा बिताउने गरेका छौं। प्रकृतिमै पुगेर तयार गरिएको चित्रको प्रदर्शनी गर्ने योजना पनि छ।

व्यस्त जीवनमा कहिलेकाँही मात्र भेट हुने चित्रकारहरूको समूह अहिले ‘हामी कलाकार’कै अगुवाइमा नियमित भेटिन थालेका छन्। संस्थाका अध्यक्ष भीम शर्मा आफ्नै गाउँ, शहरमा भएका प्राकृतिक सुन्दरता र संस्कृतिलाई चित्रमार्फत पस्कन शनिबारको दिन नियमित भेटघाट र चित्र बनाउने कार्यशाला गर्न सुरु गरेको बताउँछन्। उनका अनुसार कला सम्बन्धी क्रियाकलाप गर्ने र चित्रकारितालाई ताजा बनाउन मौलिकता खोज्ने क्रममा यस्तो मेसो जुरेको हो।

‘अहिलेसम्म ल्याण्डस्केप भन्ने बित्तिकै हिमाल नै भन्ने बुझ्ने गरिएको छ’, उनी भन्छन्, ‘हरेक ठाउँको जीवनशैली, प्राकृतिक दृष्य र सुन्दरतालाई ल्याण्डस्केपमा उतार्न सकिन्छ भन्ने नै हाम्रो प्रयास हो।’ प्रकृतिको छेउमै भेटिएर चित्र बनाउने पहिलो साता नगरवन क्षेत्रमा प्रकाश थापा, अरुण लामा, वरुणबाबु घिमिरे, सुलभ पौडेल र राजेन्द्र सुवेदी जम्मा भएका थिए। त्यसपछि क्रमश स्थापित र सिक्दै गरेका कलाकारको सहभागिता कार्यशालामा बढ्दै गएको छ। शनिबारको श्रृङ्खलामा सहभागी भएर चित्र बनाउने कलाकारको संख्या १३ जना थियो।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका वरुणबाबु घिमिरे चित्रकलामा रम्न थालेको २२ वर्ष भयो। यो बीचमा उनले साइन बोर्ड लेखनलाई समेत पेशा बनाए। अहिले चित्रकारिताबाटै परिवार चलाउनसक्छु भनेर यसमै केन्द्रित भएका छन्। यसअघि उनी फोटो हेरेर पोट्रेट र ल्याण्डस्केप चित्र तयार गर्ने गर्थे। ‘पसलमा बसेर फोटोलाई चित्रमा उतार्ने काम गर्थें’, उनी भन्छन्, ‘चित्र कोर्नकै लागि खासै बाहिर हिँड्थिन्। यसरी हिँड्दा आनन्द र ऊर्जा आउँदो रहेछ।’ शनिबारको श्रृङ्खलामा जुट्न थालेपछि भने उनलाई कहिले शनिबार आउँछ र प्राकृतिक सुन्दरता अवलोकन गर्दै चित्र बनाउन पाईन्छ भन्ने लाग्न थालेको छ।

चित्रकारहरूको समूहले अहिले नारायणी नदी किनार आसपासका चितवन र नवलपुर क्षेत्रका प्राकृतिक सुन्दरतालाई आफ्नो कलामार्फत चित्रमा समेटेका छन्। शिवघाट, नगरवन, बाह«घरे, आनन्दपुर, ठिमुरा, देवघाट, व्रिटिस क्याम्पलगायतका ठाउँमा उनीहरू पुगेका छन्। पोट्रेट र काल्पनिक चित्र बनाउनमा नै रमाएका ४३ वर्षे अरुण लामाले अहिले फरक अनुभव गरिरहेका छन्। ताल, नदी, पहाड, जंगल र त्यस वरपरका मानिसका क्रियाकलापलाई प्रकृतिबाट उनले जस्ताको त्यस्तै आफ्ना चित्रमा उतारेका छन्।

‘रङको बारेमा सिकाइ भईरहेको छ’, उनले भने, ‘लाइभ पेन्टिङ गर्न गाह«ो त हुन्छ नै। र पनि धेरै उत्साहित भएको छु।’ ३२ वर्षे सुलभ पौडेल पनि यो श्रृङ्खलामा सुरुदेखि नै साझेदारी गर्दै आइरहेका छन्। चित्रकारितामा स्थापित हुन खोजेका उनको लागि महत्वपूर्ण सिकाइ भइरहेको छ। समूहमा आबद्ध भएका अग्रजसँग स्केच तयार गर्न, रङको मिश्रण गर्न, रङका अर्थ र मनोविज्ञानलगायतको बारेमा जानकार छन्। ११ वर्ष चित्रकारिताबाट टाढा बसेका ४१ वर्षे तीर्थ पाण्डे पनि यसमा जोडिएका छन्। उनी तीन सातादेखि समूहका कलाकारसँगसँगै भएर आफ्नो कला निखार्दै छन्। श्रृङ्खलामा आबद्ध कलाकारले जल रङको प्रयोग गरेर चित्र बनाउने गरेको अन्तर्राष्ट्रिय वाटर कलर सोसाईटी नेपालको प्रदेश नम्बर ३ का संयोजकसमेत रहेका प्रकाश थापाले। ‘साताको एकदिन बिहानको समयमा प्रकृतिमा बिताउने गरेका छौं’, उनी भन्छन्, ‘प्रकृतिमै पुगेर तयार गरिएको चित्रको प्रदर्शनी गर्ने योजना पनि छ।’

प्रकाशित: १७ चैत्र २०७५ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App