८ वैशाख २०८१ शनिबार
अर्थ

एबिसीसम्मको पदयात्रा जोखिमपूर्ण

अन्नपूर्ण आधारशिविरमा हिमपातले पुरिएका होटल । तस्बिर: नागरिक

पोखरा- विदेशी पर्यटकले अधिक रुचाएको अन्नपूर्ण आधारशिविर (एबिसी) सम्मको पदयात्रा निकै नै जोखिमपूर्ण बनेको छ। लामो समयदेखि अवरुद्ध पदयात्रा केही दिनअघि खुले पनि आधारशिविरसम्मको आउजाउ अझै सहज नरहेको व्यवसायीले बताएका छन्। यो पटकको बाक्लो हिमपातले होटल पुरिएपछि एबिसीमा बास बस्ने ठाउँसमेत छैन। पदयात्रा नै धरापमा रहेको व्यवसायीको भनाइ छ।

आधारशिविर पुगेर फर्केका पदयात्रा व्यवसायी चन्द्र भुजेलका अनुसार पदमार्गमा पर्ने छोमरोङदेखि देउरालीसम्मको आवतजावत सहज भए पनि देउरालीबाट अघि बढ्न निकै नै कठिन छ। देउरालीदेखि माछापुच्छ्रे आधारशिविर (एमबिसी) हुँदै एबिसी पुग्ने भए पनि त्यो खण्ड निकै नै जोखिमपूर्ण रहेको उनले बताए। ‘देउरालीदेखि एमबिसीसम्म पुग्नै मुस्किल छ। देउरालीबाट अगाडि बढ्दा त्रास छ,’ उनले भने, ‘अधिक हिमपातका कारण त्यो खण्डमा कुनै पनि बेला हिमपहिरो झर्न सक्छ।’

केही विदेशी जसोतसो आधारशिविरसम्म पुगे पनि धेरै पर्यटक देउरालीबाट फर्किने गरेको उनले बताए। घाम लागेका बेला दिउँसो हिमपहिरोको जोखिम भएपछि देउरालीबाट बिहान सबेरै हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘देउरालीबाट एमबिसी पुग्दा तीन घण्टाको समय हो। तर, त्यही खण्ड निकै जोखिमपूर्ण छ,’ उनले भने, ‘हिमपहिरो र हावाहुरीले कुनै पनि बेला त्यहाँ क्षति पु-याउन सक्छ।’

बाक्लो हिमपातका कारण लामो समयदेखि अवरुद्ध पदयात्रा केही दिनअघि खुले पनि आधारशिविरसम्म आउजाउ गर्न अझै असहज

यो पटक हिमपात अधिक भएपछि त्यो क्षेत्रमा अझै बाक्लो हिउँ जमेको छ। चरक्क घाम लागेका बेला त्यो ठाउँमा कुनै पनि बेला हिमपहिरो झर्न सक्ने उनले बताए। पदमार्गको छोमरोङदेखि दोभानसम्मको एक दिनको पदयात्रा हो। दोभानदेखि देउरालीसम्म थप एक दिन लाग्छ। देउरालीदेखि एमबिसीसम्म तीन घण्टामा पुगिन्छ। एमबिसीबाट दुई घण्टामा एबिसी पुग्न सकिन्छ।

हिमपातले एबिसीका सबै होटल भत्किएपछि यतिबेला त्यहाँ बसोबाससमेत छैन। अधिक हिमपातले पुरिएका होटल अझै खुल्न सक्ने अवस्था छैन। एबिसीमा बास बस्ने होटल नभएपछि यतिबेला जसोतसो पुगेका पर्यटक एमबिसीमा बस्ने र हाइकिङको रुपमा एबिसी पुगेर फेरि एमबिसी झर्ने गरेका छन्। एबिसीमा रहेका अन्नपूर्ण सेन्चुरी, स्नोल्यान्ड, अन्नपूर्ण गेस्टहाउस र प्याराडाइज होटल सबै भत्किएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार भेंडीगोठको रुपमा रहेका ती भवनलाई २०५० को दशकतिर बल्ल होटलमा परिवर्तन गरेर एबिसीमा व्यावसायिकता दिइएको थियो। विदेशी पदयात्री बढेपछि बास बस्न र खानका लागि व्यवस्थित रुपमा बल्ल त्यहाँ होटल सञ्चालनमा आएका थिए।

एबिसीका होटल व्यवसायी जेबी गुरुङका अनुसार अधिक हिमपातले त्यहाँका सबै होटल पुरिएका छन्। ती होटलमा तत्काल बसोबास सम्भव नभएको उनले बताए। ‘हिमपातले पुरिने मात्र नभई होटल नै भत्किएका छन्। यो सिजनमा हिउँ नै पग्लिन्न,’ उनले भने, ‘अब भदौयता कुनै पनि हालतमा एबिसीमा होटल तयार हुँदैनन्।’ अधिक हिमपातले होटल बन्द गरेर व्यवसायी पोखरा झरेका थिए। आधारशिविरका होटल भत्किँदा करोडौं नोक्सान पुगेको उनले बताए। चारवटा होटल निकै कठिनका साथ बनेका थिए। निर्माण सामग्री बोकेर आधारशिविर पु-याएर त्यहाँ होटल बनेकाले क्षति ठूलो भएको उनले बताए।

‘धेरै सामान नोक्सान भएका छन्। कति सामान पुनः प्रयोग गर्न मिल्छ भन्ने नै यकिन छैन, किनकी हिउँले सबै पुरिएकोे छ,’ उनले भने। गुरुङले पनि अहिले एबिसीसम्मको आउजाउ कठिनपूर्ण रहेको बताए। ‘पर्यटक त जसोतसो पुगेका छन्। तर, हिमपहिरोको जोखिम भने छ। पदयात्रा सहज छैन,’ उनले भने।

यतिबेला जसोतसो आधारशिविरसम्म पर्यटक पुगे पनि त्यहाँ बसोबास नभएपछि फर्केर केही तलको एमबिसीमा झर्ने गरेका छन्। एमबिसीबाट दुई घण्टा उक्लेपछि एबिसी पुगिन्छ। एबबिसीमा अहिले पाँचवटा होटल छन्। व्यवसायी भुजेलका अनुसार एबबिसीमा गंगापूर्ण, माछापुच्छ्रे, शंकर, गुरुङ र फिस्टेल होटल रहेका छन्। एबिसीका होटलमा बास बस्न नमिलेपछि पर्यटक एमबिसीमै बस्छन्। ‘बिहान दुई घण्टा उक्लेर एबिसी पुग्छन्, अनि बोकेर लगेको खाना खाइबरी रमाएर दिउँसो बास बस्न तल एमबिसी आइसक्छन्,’ भुजेलले भने। एबिसीमा चिया पकाएर खाने ठाउँसमेत नभएको उनले बताए।

पदयात्रा व्यवसायी विजय केसीले पनि एबिसीसम्मको आउजाउ निकै नै जोखिमपूर्ण रहेको बताए। ‘हिमपातले लामो समय बन्द रहेको पदयात्रा खुलेको त छ, तर, हिँडडुल निकै डरलाग्दो छ,’ पदयात्रा गाइडसमेत रहेका केसीले भने, ‘देउरालीदेखि एमबिसी खण्ड निकै नै डरलाग्दो छ। हिमपहिरोको अधिक सम्भावना रहेको छ।’ उनका अनुसार एबिसी पदमार्गको सबैभन्दा जोखिम नै भीरको तलबाट हिँड्नुपर्ने देउरालीको यही खण्ड पर्छ। त्यहाँ मोदिखोला तरेर वारपार गर्दै हिँड्नुपर्ने हुन्छ। कुनै पनि बेला हिमपहिरो झर्न सक्ने खतरा रहेको उनले बताए।

‘बर्सेनि त्यही खण्डमा सानातिना हिमपहिरो झर्छन्। योपटक अधिक हिमपातले गर्दा दिउँसोमा निकै नै खतरा छ,’ केसीले भने, ‘दिउँसोमा घामले पग्लेर सानातिना हिमपहिरो खसिरहेका छन्।’ एबिसीको होटलमा क्षति भएपछि आधारशिविरको यो सिजनको पदयात्रा खेर गएको उनले बताए। यतिबेला जोखिमपूर्ण भएपछि धेरै पर्यटक देउरालीबाटै फर्किएको उनले बताए। ‘जोखिमपूर्ण भएकाले यो बेला आधारशिविरसम्म नजानु नै उत्तम हो। तर पर्यटक गएका छन्,’ उनले भने।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले पनि एबिसीसम्मको आउजाउ सुचारु भए पनि सहज नरहेको बताए। ‘एबिसीमा त बासै बस्ने ठाउँ छैन। एमबिसीबाटै आउजाउ भएको छ। तर पदयात्रा उत्ति सहज छैन,’ उनले भने, ‘यो पटक अधिक हिमपात भयो। त्यसले गर्दा हिँडडुलमा जोखिम छ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका घान्द्रुकस्थित अधिकृत विदुर कुँइकेलका अनुसार एबिसीमा वर्षमा ३५ हजार हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन्। ‘यो पटक हिमपातले अलि त्रास बढाएको छ। देउरालीदेखि एमबिसी पुग्न बिहान सबैरै हिँड्नु भनेर हामीले सूचना गरेका छौ,’ कुँइकेलले भने, ‘मध्यान्हतिर हिमपहिरोको जोखिम छ।’ बिहान ११ बजेभित्रै देउरालीबाट हिँडेर एमबिसी पुगिसक्न सूचित गरेको उनले बताए। ‘यो पटक हिउँ बढी परेर त्रास भएको हो। त्यो ठाउँका कुनै पनि बेला हिमपहिरो झर्न सक्ने जोखिम चाँही छ,’ उनले भने।

प्रकाशित: १७ चैत्र २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App