८ वैशाख २०८१ शनिबार
अर्थ

हुलाकी सडक बनाउन अझै भारतकै भर

नेपालगन्ज‍- समझदारी भएको झन्डै १३ वर्षसम्म काम नगरेर नेपाललाई जिम्मा लगाएको भारतसँग सरकारले हुलाकी राजमार्गको दोस्रो चरणको काम गर्न सहयोग माग्ने तयारी गरेको छ।

स्वदेशी स्रोतमा निर्माण गर्न सकिने विषयमा छलफल नै नगरी सरकारले भारतको मुख ताकेको हो। भारतले अनुदानमा निर्माण गरिदिने भनेको करिब १ हजार ७ सय किलोमिटरमध्ये १३ वर्षमा मुस्किलले सय किलोमिटर मात्र निर्माण भएको छ।

पहिलो चरणको करिब साढे ६ सय किलोमिटर सडक निर्माणमा संलग्न ठेकेदार भागेपछि भारतले सबै कामको जिम्मा नेपाललाई सुम्पेको थियो। यो काम गर्न अहिले ठेक्का प्रक्रिया सुरु गरेको हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए।

'लामो समयदेखि रोकिएको पहिलो चरणको काम अघि बढाइएको छ, यो वर्षमा पूरा गर्ने लक्ष्य हो,' उनले आइतबार नागरिकसँग भने, 'दोस्रो चरणको ११ सय ५२ किलोमिटर निर्माण गर्न आवश्यक स्रोतका लगि भारतसँग छलफल भइरहेको छ।' सरकारी बजेटबाटै निर्माण गर्न सक्ने आधार भए पनि सरकार लाचार भएर भारतसामु झुक्न लागेको यस क्षेत्रका जानकार बताउँछन्।

'स्वदेशी वा विदेशी कुन स्रोतबाट निर्माण गर्ने त्यो सरकार वा राजनीतिक विषय हो,' मिश्रले भने, 'कार्यान्वयन गर्ने निकायलाई जे गर भन्यो त्यही गर्ने हो। भारतसँग प्रारम्भिक छलफल भएकोले अहिले नै भारतको सहयोग आउने वा नआउनेमा यकिन गर्न नसकिने उनको भनाइ छ।

पहिलो चरणको निर्माण पूरा गर्न भारतले ८ अर्ब रुपैयाँ (५ अर्ब भारु) अनुदान दिने कबोल गरेको थियो। तर, दोस्रो चरणको वास्तविक लागत तयार गरिएको छैन। अनुमानित लागत नै तयार नगरी भारतको भर पर्नुले दोस्रो चरणको काम पूरा हुन दशकौं लाग्ने देखिन्छ। कबोल गरेको रकम दिनसमेत विभिन्न सर्त तेर्र्स्याएको भारतले थप रकम दिएर हुलाकी सडक बन्ने अवस्था नदेखिएको आयोजनाका अधिकारीको दाबी छ।

पहिलो चरणको काम पूरा गर्न सन् २००४ मा भारतले ८ अर्ब रुपैयाँ दिने कबोल गरेको थियो। त्यसको लागत अहिले करिब १३ अर्ब रुपैयाँ नाँघेको छ। भारतीय पैसाले नपुगेको ठाउँमा सरकारले बजेट छुट्ट्याएको मिश्रले बताए। '१७ वटा सडकमध्ये १० वटा भारतीय सहयोगमा र बाँकी सरकारकै स्रोतमा निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ,' उनले भने।

भारतले निर्माणबाट हात झिकेपछि सडक विभागले पहिलो चरणमा सक्ने लक्ष्य राखिएका १७ मध्ये १२ सडकको ठेक्का प्रक्रिया सुरु गरेको थियो। तर, नयाँ सर्तअनुसार काम गर्नुपर्ने हुँदा सबै ती ठेक्का बदर गरेर नयाँ प्रक्रियामा जानुपर्ने भौतिक सचिव अर्जुनकुमार कार्कीले बताए। २०७२ फागुन ७ गते भएको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यस्तो सर्तसहितको समझदारी भएको थियो।

अनुदान प्राप्त भएपछि शोधभर्ना लिने गरी १२ सडकको ठेक्का गर्न अर्थ मन्त्रालयले गत असार १ मा २ अर्ब ६ करोड रुपैयाँ निकासासमेत दिएको थियो। भारतले अहिले अनेक सर्त तेर्स्याएर भएको काम पनि रद्द गर्न बाध्य बनाएको हुलाकी सडक आयोजनाका अधिकारी बताउँछन्।

पहिलो चरणको काम सुरु

दशकौंदेखि रोकिएको हुलाकी राजमार्गको पहिलो चरणको काम सुरु भएको मिश्रले जानकारी दएका छन्। उनका अनुसार जनकपुर–भिट्टामोड, चारआली–केचना, नवलपुर–मलंगवा, जनकपुर (कदमचोक)–कप्तौडको काम सुरु भएको छ।

यसैगरी, नेपालगन्ज–बघौडा, भुरिगाउँ–गुलरिया र राजापुर–कैलाली खण्ड निर्माण गर्न ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाइएको छ। 'तीन वटै खण्डको ठेक्काको आवेदन दिने समय कात्तिक ५ गतेसम्म तोकिएको छ। ७ गतेभित्र सबै टुंगो लाग्छ,' उनले भने, 'एक महिनाभित्र काम सुरु हुन्छ।'

भारतीय सहयोगमा निर्माण हुने १० सडकका भारतबाट परामर्शदाता आइसकेको जानकारी दिँदै मिश्रले भने, 'उनीहरुको इन्स्पेक्सन सकिएपछि हामीले ठेक्का सुरु गर्छौं। उनीहरुले अनुगमनमात्र गर्ने हो ठेक्का गर्ने, भुक्तानी दिने र काम लगाउने नेपालले नै हो।' निर्माण सुरु भएकाले आगामी तीन वर्षभित्र पहिलो चरणको काम सकेर दुई लेन सडक पिच हुने उनको दाबी छ।

भुरिगाउँ–गुलरिया खण्ड खाल्डै–खाल्डा

सरकारको लापरबाहीले हुलाकी राजमार्ग अन्तर्गतको भुरिगाउँ–गुलरिया खण्ड वर्षौंदेखि धराशयी छ। पटक–पटक ठेक्का गरेर पनि काम नहुँदा सडक खाल्डोमा परिणत हुँदै गएको छ। बर्खाको पानीले ध्वस्त पारेको सडक सम्बन्धित निकाय वा कार्यालयले पुर्ने कामसमेत गरेको छैन।

हुलाकी राजमार्ग आयोजना अन्तर्गतको नेपालगन्ज कार्यालयको जिम्मामा रहेको यो सडकको अवस्था ज्यादै नाजुक छ। दैनिक सयौं सवारी चल्छन् तर यत्रुले धुलो र हिलोको सास्ती खेप्नु परेको छ। ठाउँठाउँमा ठूला खाल्डा र पुल भत्केका कारण करिब ३० किलो्मिटर सडक छिचोल्न सवारीलाई झन्डै ३ घन्टा लाग्ने स्थानीय रामु काफ्लेले बताए। 'सडक पिच होला भन्नेमा अब स्थानीयले आश मारिसकेका छन्,' उनले भने, 'घाम लाग्दा धुलो र पानी पर्दा हिलो खाँदै यात्रा गर्नुपर्छ। सरकारले यो सडक निर्माणमा कहिल्यै चासो नदिएको अधिकांश स्थानीयको गुनासो छ।

भारतीय राष्ट्रपतिबाट सडक शिलान्यास

नेपालको औपचारिक भ्रमणमा आउन लागेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले हुलाकी सडक अन्तर्गतको जनकपुर खण्ड शिलान्यास गर्ने भएका छन्। आगामी कात्तिक १७ गते नेपाल आउन लागेका उनले सडक निर्माणको शुभारम्भ गर्ने मिश्रले जानकारी दिए। हुलाकी सडकको पहिलो चरण निर्माणमा भारतले ८ अर्ब रुपैयाँ अनुदान दिएको छ।

प्रकाशित: १ कार्तिक २०७३ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App