coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाँच हजार २ सय ११ खेलाडी सहभागी हुने

काठमाडौं – वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पाँच हजार २ सय ११ खेलाडीले ३ सय ७२ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्ने भएका छन्। 

आगामी वैशाख पाँचदेखि ११ गतेसम्म प्रदेश–५ का कुल पाँच जिल्लामा पाँच हजारभन्दा बढी खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका हुन्। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। करिब पाँच हजारभन्दा बढी खेलाडीका लागि ६ सय ४० प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक रहँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय निर्णायक ९ सय २२ र ४ सय ७१ स्थानीय निर्णायकको सहभागिता रहनेछ।

कुल ३५ खेलमध्ये तीन खेल प्याराग्लाइडिङ कास्कीमा, स्क्वास ललितपुरमा र गल्फ काठमाडौंमै सञ्चालन हुनेछन्।  बाँकी ३१ खेल भने प्रदेश–५ का जिल्ला बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा हुनेछन्। धरैजसो खेल बाँकेमा हुनेछन्। राखेपले शनिबार जारी गरेको खेलतालिकाअनुसार बाँकेमा १७ वटा खेल हुनेछ। 

यस पटक व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई १५ हजार र टिममा स्वर्ण जित्ने खेलाडीलाई ७ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

त्यसै गरी दाङमा सात, रूपन्देहीमा चार, बर्दियामा चार र कपिलवस्तुमा एक खेल आयोजना गरिनेछ। उद्घाटन वैशाखमा भए पनि तीन खेल भने चैत २७ गतेदेखि नै सञ्चालन हुनेछन्। हक्की, स्क्वास र प्याराग्लाइडिङ २७ गतेदेखि हुनेछन्। अन्य पाँच खेल पनि चैतदेखि खेलाइने राखेपको तालिकामा उल्लेख छ। 

गत शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय ११औं बोर्ड बैठकले मिति तय गरेसँगै खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको कोटा निर्धारण भएको हो। २ वर्षको अन्तरालमा हुने राष्ट्रिय खेलकुदको आठौं संस्करणमा कुल १० हजार जनाको प्रत्यक्ष सहभागिता रहने भएको छ। यिनै सहभागितामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन बाँकेको नेपालगन्ज रंगशालामा एक भव्य समारोहबीच हुनेछन्। 

आठौंमा सहभागिता जनाउने खेलमध्ये तेक्वान्दोको भने दुईवटा प्रदेशको छनोट हुन बाँकी रहेको राखेपले जनाएको छ। बाँकी रहेको प्रदेश तीनको चैत २३ देखि २५ र सुदूरपश्चिम प्रदेशको २० देखि २२ सम्म हुनेछन्। यस पटक सात प्रदेश, तीन विभाग र एक एनआरएनएको टिम गरी ११ टोलीले चुनौती गर्ने भएका छन्। 

सबैभन्दा थोरै एनआरएनएबाट २४ खेलाडीले खेल्नेछन्। विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको पनि आन्तरिक छनोट भइसकेका छन्। खेलाडी छनोट तथा खेल सामग्री लागि सात लाख दरले कुल एक्काइस लाख निकासा गरिसकेको राखेपले उल्लेख गरेको छ।

यस पटक व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई १५ हजार र टिममा स्वर्ण जित्ने खेलाडीलाई ७ हजार रुपैयाँ नगद प्रदान गरिने राखेपले उल्लेख गरेको छ। गत वर्ष व्यक्तिगतमा स्वर्ण जित्नेलाई १० हजार र टिममा स्वर्ण जित्नेलाई ५ हजार रुपैयाँ  प्रदान गरिएको थियो। 

यस पटक रजत पदक जित्ने खेलाडीका लागि पनि नगद पुरस्कार दिइने प्रयास भइरहेको राखेपका सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिएका छन्। राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक ४३ करोड ८५ लाख ५१ हजार ६ सय ५० मध्ये  ३२ करोड ८४ लाख ५९ हजार रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको छ। 

यद्यपि, पूर्ण रूपमा सञ्चालनका लागि एघार करोड बयानब्बे हजार छ सय पचास रुपैयाँ आवश्यक रहेको राखेपले जनाएको छ। त्यसका लागि शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले आवश्यक रकम निकासा गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरिसकेको छ। 

आठौंमा सहभागिता जनाउने खेलमा फुटबल, एथलेटिक्स, बक्सिङ, भारत्तोलन, टेबल टेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो–खो, ऊसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन,  प्याराग्लाइडिङ, ह्यान्डबल बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ टेक्वान्दो, सेपाकताक्रो, जिम्न्यास्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट, कराते, गल्फ र हक्की छन्।

प्रकाशित: १७ चैत्र २०७५ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App