४ वैशाख २०८१ मंगलबार
खेल

आयोजक मकवानपुरलाई उपाधि

उपाधिविजेता मकवानपुर ११ का खेलाडी सामूहिक तस्बिर खिचाउँदै।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

उपाधिसँगै मकवानपुरले नगद आठ लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता दाउफिन्सले नगद चार लाख, शिल्ड, पदक र प्रमाणपत्रमै चित्त बुझायो। मोफसलका चारवटा राष्ट्रिय प्रतियोगिताको उपाधि कब्जा गरिसकेको दाउफिन्सलाई उपविजेतामा सीमित गरी मकवानपुरले उपाधि चुमेको हो। मिडफिल्डर योगेश गुरुङले पेनाल्टीमार्फत दुवै गोल गरी मकवानपुरलाई विजेता बनाएका हुन्।

खेलमा पहिलो हाफको पाँच मिनेटमै दाउफिन्सले घरेलु टोली मकवानपुरमाथि १ गोल गरेको थियो। सशक्त देखिएको दाउफिन्सका यानिक ओवानाले खेलको सुरुमै गोल गरेपछि घरेलु दर्शक निराश भए। तर मकवानपुरले नौ मिनेटमै खेललाई बराबरीमा ल्याएपछि खेलाडीसँगै दर्शकमा उत्साह छाएको थियो। पेनाल्टीमार्फत पहिलो गोल गरेका मकवानपुरका गुरुङले दोस्रो गोल खेलको ८२ मिनेटमा पेनाल्टीबाटै गरेका थिए।

यसअघि नेपाल आर्मीबाट मात्र पराजित भएको दाउफिन्सले मकवानपुरविरुद्ध भने राम्रो खेल प्रदर्शन गर्न सकेन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुरका कप्तान एवम् गोलरक्षक अशोक बरालले नगद ७५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। साथै उनले उत्कृष्ट गोरक्षकको उपाधिसहित २० हजार रुपैयाँसमेत हात पारे।

प्रतियोगितामा दाउफिन्सका ओको बोटा उत्कृष्ट डिफेन्डर, मकवानपुरका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर, मकवानपुरका रेजिन सुब्बा उत्कृष्ट फरवार्ड र मकवानपुरकै विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही नगद २० हजार रुपैयाँ पाउन सफल भए। 

प्रतियोगिताका विजेता, उपविजेता खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, मकवानपुर फुटबल संघका अध्यक्ष टीका लामालगायतले पुरस्कार वितरण गरेका थिए।

चैत ७ बाट सुरु भएको प्रतियोगितामा करिब ८५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक प्रताप विष्टले बताए। प्रतियोगितामा घरेलु मकवानपुर, एक विदेशी र राष्ट्रियस्तरका चर्चित ‘ए’ डिभिजनसहित दश टोलीको सहभागिता रहेको थियो। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा करिब ११ वर्षअघि २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो 

 

प्रकाशित: १७ चैत्र २०७५ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App