‘यस्तो लोकतन्त्रले मात्र भारतको सपना साकार हुन्छ’

आइतबार, १७ चैत २०७५, ०९ : २९ नागरिक

कन्हैया कुमार
सन् २०१६ को फेब्रुअरीमा कन्हैया कुमारको नाम भारतमा एकाएक चर्चामा आयो। उनी त्यत्तिबेला जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)को विद्यार्थी युनियनका सभापति थिए। उनलाई प्रहरीले गिरफतार गरी राजद्रोहको आरोप लगाएको थियो। कन्हैयाले ‘आजादी’ को माग गर्दै नारा लगाएको प्रमाणित गर्न त्यतिबेला सार्वजनिक गरिएको श्रव्यदृश्य कालान्तरमा नक्कली भएको पुष्टि भयो। त्यो घटना भएको तीन वर्षपछि गएको जनवरी महिनामा प्र्रहरीले उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर ग-यो। तर प्रहरीको उक्त अभियोगपत्रमा धेरै प्रकारका अस्पष्टता छन्।
यसबीच कन्हैयाले विद्यावारिधि हासिल गरे। भारतमा हुन लागेको लोकसभा निर्वाचनमा उनले विहारको बेगुसारियाबाट भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्।

आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रस्तुत छ कन्हैयाको विचार:
घटनाक्रम यसरी हुँदै गए कि म आफू कतिबेला ‘संयोगको राजनीतिज्ञ’(एक्सिडेन्टल पोलिटिसियन) बनें, चालै पाइनँ। म सुरुदेखि नै राजनीतिमा सामेल छु। तर केही वर्षअघिसम्म कसैले मलाई र मेरा साथीहरूलाई लोकसभाको चुनावमा प्रतिस्पर्धा गर्न सुझाव दिए, हाम्रा लागि त्यो हासोको विषय बन्थ्यो।

पढेलेखेर म प्राज्ञिक क्षेत्रमा आएको हुँ। तर म हुर्के बढेको समाजवरपर जताततै हिंसामात्र थियो। शाब्दिक, मानसिक वा व्यवस्थागत हिंसाले घेरेको समाजबाट म हुर्केको हुँ। त्यसकारण म मूलभूतरूपमा अभियन्ता हुँ। वर्तमान सत्ता केन्द्रमा रहेको पाँच वर्षपश्चात् अहिले म राजनीतिमा छु। र, अझै म ‘राजनीतिज्ञ’ होइन। वैकीलपक राजनीतिको हिस्सा बन्नु मैले मेरो सामाजिक दायित्व मानेको छु।
घृणा र उत्पीडनविरुद्ध उठ्ने र लड्ने राजनीति। हामीबीच विभाजन ल्याउनेविरुद्ध लड्ने र हामीलाई एकताबद्ध गर्नेलाई समर्थन गर्ने भारतको सपना जोडिएको राजनीति। व्यक्तिगत अधिकार, समावेशी विकास र प्रगतिशील चिन्तनलाई वास्तवमै सम्मान गर्ने समाजको सपना देख्ने राजनीति। बितेका पाँच वर्षमा भएका क्षतिलाई पूर्ति गर्नेमात्र होइन बरु आगामी २० वर्षमा अवसर छोप्न पनि पुग्ने लोकतन्त्रको सपना देख्ने राजनीति।

मेरो संघर्षको कथा
म को हुँ भन्ने कुरा प्रमुख होइन। मेरो वरपरका अधिकत्तर मानिसजस्तै औसत मानिस हुँ म। स्कुले दिनमा म पोलियो थोपा खुवाउँथें। कलेजका दिनमा म कोचिङ कक्षा पढाउँथें। दिल्लीमा बसेर लोकसेवा आयोगको परीक्षा तयारी गर्दैगर्दा काम गर्न थालें। मेरा दाइ आसाममा सुरक्षा गार्डको काम गर्थे र मलाई लोकसेवा आयोगको परीक्षा तयारी कक्षाका लागि पैसा पठाउँथे।

सरकारले लोकसेवा आयोगको परीक्षामा सरकारी सेवा अभिक्षमता परीक्षा थप्ने निर्णय गरेपछि भने सरकारी कर्मचारी बन्ने मेरो सपना भताभुंग भयो। अभिक्षमता परीक्षाको नियमका कारण हिन्दी माध्यममा पढेका र विशेषतः मानविकी संकायबाट आएका विद्यार्थीका लागि सरकारी सेवामा प्रवेश गर्न लगभग असम्भव बनाइदियो।

त्यसमाथि सिस्याट कक्षामा जान मेरो आर्थिक क्षमताले दिएन। तर मलाई ती दिनप्रति पश्चाताप वा दुःखेसो छैन। लोकसेवा परीक्षाको तयारीकै क्रममा मेरो प्राज्ञिक उन्नयन र राजनीतिक चेतना विस्तार भयो। त्यतिबेलासम्म सब ठीकठाक नै चलेको थियो।

जेएनयुमा पढ्ने क्रममा आफ्नो अनुसन्धानमार्फत जनताका लागि केही योगदान गर्न सकिन्छ भन्ने महसुस गरें। जेएनयु मेरा लागि कहिल्यै पनि एउटा शिक्षालयमात्र भएन। जेएनयु आफ्नै जीवन भएको त्यस्तो ठाउँ हो जहाँ स्वतन्त्र रूपमा अध्ययन गर्न सक्छौं। पाठ्यपुस्तकबाट मात्र होइन, व्यावहारिक अनुभव र सामाजिक आन्दोलनबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं।

उचित मुद्दामा सक्रियता सधैं प्राथमिकतामा रह्यो। विश्वविद्यालयको विद्यार्थी युनियनको सभापति पदका लागि उम्मेदवारी दिंदा पनि त्यति धेरै संख्यामा विद्यार्थीले मलाई समर्थन गर्ने अपेक्षा थिएन। जेएनयुमै मेरो जीवनले बिल्कुल नयाँ दिशा लियो।

मैले राजनीतिक यात्राभरि आफ्नोे पद र शक्तिको दुरूपयोग गर्ने मानिसमाथि सधैं प्रश्न गर्दै आएको छु, आलोचना गर्दै आएको छु। तर अहिलेको शासन व्यवस्था भने फरक छ। प्रहरी दमन र लाठी प्रहार त पहिले पनि हुने गथ्र्यो। तर निन्दा, झूटा समाचार, घृणा र कोहीविरुद्ध दमन गर्न ‘राजद्रोही’ को दोषारोपण गर्ने समन्वयात्मक अभियान अहिलेको सरकारको नयाँ विषय हो। ग्रिसका राजनेता पेरिकल्सको एउटा पुरानो उक्ति छ– ‘तिमीले राजनीतिमा चासो नराख्दैमा राजनीतिले तिमीबारे चासो नराख्ने होइन।’ मैले राजनीतिप्रति चासो राखें र राजनीतिले पनि मेरो विषयमा चासो राखेको छ।

राज्यले हामीविरुद्ध हमला गर्दा हाम्रासामु दुई विकल्प थिए– लड्नु वा आत्मसमर्पण गर्नु। तर मेरो विचारमा हामीसँग एउटैमात्र विकल्प थियो। त्यसैले हामी लड्यौं र त्यही लडाइँले मलाई आज यहाँ पु-याएको छ।

म यहाँ कुन् पार्टीको विकल्प कुन् हो वा कुन् होइन भनी देखाउन खोजिरहेको छैन। म यहाँ हाम्रो देशका लागि वैकल्पिक राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा भन्न खोजिरहेको छु। वैकल्पिक राजनीतिको अर्थ उत्पीडनविरुद्ध लड्नुमात्र होइन, बरु स्वतन्त्रता र समानताका लागि पनि संघर्ष गर्नु हो। वैकल्पिक राजनीतिको अर्थ भारतीय जनता पार्टी र राष्ट्रिय स्वंयसेवक संघको हिन्दुवादी अहंकारवादविरुद्ध लड्नुमात्र होइन, अम्बेडकरको सामाजिक समावेशीका पक्षमा वकालत गर्नु पनि हो। वैकल्पिक राजनीतिको अर्थ भिडतन्त्रविरुद्ध लड्नुमात्र होइन, बरु वास्तवमै सहभागितामूलक लोकतन्त्रको पक्षमा आन्दोलन गर्नु पनि हो। यो लडाइँ मेरोमात्र होइन, यो हामी सबैको हो।

नयाँ ढाँचा
राजनीतिमा कुनै परिवर्तन गर्ने पहिलो कदम भनेको राजनीतिलाई धनीको गोजीबाट झिक्नु हो र औसत करदाताको हातमा राखिदिनु हो।
तिनै करदाताले सरकारको कोष बनाइदिने हो। तर, हाम्रो बहसमा उनीहरू र उनीहरूका मुद्दामा पूर्णतः ओझेलमा परेका छन्। किन ? किनभने यो सरकार करदाताको सरकार नै होइन। यो सरकार धनीहरूको राजनीतिक मेसिनमात्र हो। यस्तो प्रणालीलाई पन्छाउनुपर्छ। सरकार जनताको हुनुपर्छ।

दोस्रो कदम भनेको विषयवस्तुमा आधारित वैकल्पिक राजनीति स्थापना गर्नुपर्छ। हामीले सार्वजनिक शिक्षा, जनस्वास्थ्य र सार्वजनिक पूर्वाधारका अवस्थाबारे बोल्नुपर्छ। हामीले सीमान्तकृत जनताका बारेमा बोल्नुपर्छ। अल्पसंख्यक जनताका बारेमा मात्र होइन, बरु तेस्रो लिंगीका विषयमा पनि बोल्नुपर्छ। हामीले पितृसत्ताको विरोधमा बोल्नुपर्छ। विचार र अभिमतको अधिकारका पक्षमा बोल्नुपर्छ।

आज हाम्रो देशले सामना गरिरहेको नयाँ–नयाँ चुनौतीबारे बोल्नुपर्छ। दिगो वातावरणदेखि विद्युतीय क्रान्तिसम्म तथा गोपनीयताको अधिकारका विषयमा बोल्नुपर्छ। आधारभूत रूपमा सबभन्दा महत्वपूर्ण कुरा, हामी संगठित बन्नुपर्छ, वैकल्पिक राजनीतिका पक्षमा दबाब दिने र मतदान गर्ने  गर्नुपर्छ। वैकल्पिक राजनीतिकै माध्यमले हामीले प्रणाली लोकतन्त्रदेखि सहभागितामूलक लोकतन्त्रसम्म आकार दिन सक्छौं।
वैकल्पिक राजनीतिकै सहयोगमा हामीले जनहितका निम्ति नयाँ व्यवस्था निर्माण गर्न सक्छौं। त्यस्तो व्यवस्था जवाफदेही र पारदर्शीमात्र होइन, मूलतः समावेशी चरित्रको हुनेछ।

त्यो व्यवस्थाले सीमान्तकृत जनताका आवाज सुन्नुपर्छ र सत्यको शक्तिबारे बोल्नुपर्छ। त्यस्तो लोकतन्त्र वास्तविक सहभागिताको पक्षमा उभिनुपर्छ। हरेक नागरिकले बोल्न संगठित हुन र चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने अधिकारका लागि लड्नुपर्छ। त्यस्तो व्यवस्थाले मात्र हामी समयले सिद्ध गरेको लोकतन्त्रका पक्षमा उभिन सक्छौं। त्यस्तो लोकतन्त्रले मात्र विगतमा पूरा हुन नसकेको भारतको सपना साकार गर्न सहयोग गर्न सक्छ।
नेपाली अनुवादः नीरज लवजू
स्रोतः स्क्रोल.आइएन








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad