coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेयर बजार १६ बिन्दुले घट्यो

काठमाडौं- नौ दिनपछि खुलेको सेयर बजार मापक नेप्से १६ बिन्दुले घटेको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि खुलेको पहिलो दिनमै दोहोरो अंकको गिरावट आयो। दसैंअघि सेयर बजार बढ्दा लगानीकर्तामा खुसीयाली छाएको थियो। दसैंअघिको अन्तिम कारोबारमा नेप्से १३ बिन्दुभन्दा बढीले उकालो लागेको थियो।

आइतबार समग्र नेप्से परिसूचक १६.१४ बिन्दुले घटेर १८०३.७४ अंकमा आएको छ। दसैंअघि लगानीकर्तामा तुलनात्मक रुपमा खरिद गर्ने प्रवृत्ति देखिएको थियो। तर, दसैं मनाएर बजारमा फर्किएका लगानीकर्ता सेयर बेचेरै बस्ने सोचमा देखिए।

दसैं बिदापछि खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेपछि लगानीकर्तामा उत्साह देखिएन। कारोबार रकमले समेत लगानीकर्तालाई खुसी तुत्याउन सकेन।

दसैंअघिको अन्तिम दिन १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। दसैपछि पहिलो दिन आइतबार खुलेको सेयर बजारमा कारोबार रकममा पनि कमी आएको छ।

दसैंअघिको अन्तिम दिन भएको कारोबार भन्दा आइतबार ४० करोड रुपैयाँले कमी आयो। आइतबार ६० करोड रुपैयाँको मात्र सेयर कारोबार भयो।

आइतबार बजारमा १ सय २२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर किनबेच भए।

आइतबार बिमा समूहमा सबैभन्दा धेरै ८१.४६ बिन्दुले गिरावट आयो। होटल समूहमा ७२.३६, जलविद्युतमा १८.६७, वाणिज्य बैंक समूहमा १५.४८ बिन्दुको गिरावट आएको छ। त्यसैगरी, विकास बैंकमा ९.६८, वित्तमा ५.२७ र अन्य समूहमा ११.८६ बिन्दुको गिरावट आएको छ।

१७ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको प्रस्ताव गरेको प्रभु इन्स्योरेन्सको धेरै सेयर किनबेच भएको छ। लगानीकर्ताले २५ प्रतिशतको हाराहारीमा बोनस तथा शतप्रतिशत हकप्रदको अपेक्षा गरे पनि त्यस्तो प्रस्ताव नआएका कारण प्रभु इन्स्योरेन्सको सेयर मूल्य भने तल ओर्लिएको छ। उक्त कम्पनीको ५ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बोनस र हकप्रद सेयर घोषणा गरे पनि प्रभु इन्स्योरेन्समा लगानीकर्ताको अपेक्षा पूरा नभएकोले मूल्य तल झरेको हो। अन्य धेरै कम्पनीको सेयर मूल्य घटे पनि समग्रमा बिक्रीको चाप नै परेको देखिएको छ।

कुनै पनि कम्पनीको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छैन र मूल्य बढ्ने कम्पनीमा पनि ज्योति बिकास बैंकबाहेक अरुको उच्च दरले बढेको छैन।

कुमारी र बैंक अफ काठमाण्डू लुम्बिनी जस्ता भर्खरै सेयर कारोबार खुलेका बैंकहरुमा भने खरिद बिक्रीको चाप देखिएको छ।

मर्जर पूरा गरी दुई साताअघिदेखि सेयर कारोबार खुलेको कुमारी बैंकको सेयर आइतबार अधिक मात्रामा किनबेच भएको छ। यसअघिका कारोबारमा सेयर बेच्ने नहुँदा किन्नेको मात्र चाप पर्दै आएकोमा आइतबार कुमारी बैंकको सेयर बेच्नेको संख्या धेरै भएका कारण कारोबार पनि धेरै हुन पुग्यो। उक्त बैंकको १७ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बैंक अफ काठमाण्डू लुम्बिनीको ४ करोड ४६ लाख, ज्योति विकास बैंकको २ करोड १५ लाख, शिखर इन्स्योरेन्सको २ करोड २ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १ करोड ७१ लाख, सानिमा बैंकको १ करोड ४२ लाख, सोल्टी होटलको १ करोड २७ लाख र हिमालयन बैंकको ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बैंक तथा बित्तीय संस्थाले निक्षेपको ब्याज बढाउने क्रम सुरु भएको र केही दिनमा कर्जाको ब्याज पनि बढ्ने संकेतले सेयर बजारलाई प्रभावित पारेको विश्लेषकको भनाइ छ। तरलताको अभावमा बैंक तथा बित्तीय संस्थाले सेयर बजारतर्फ आइरहेको कर्जालाई कसिलो बनाउने अवस्था आउन सक्ने सम्भावना भएकोले पनि सेयर बजारमा गिरावट आएको उनीहरुको तर्क छ।

प्रकाशित: १ कार्तिक २०७३ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App