coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

इटहरी - सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।

मेलाका लागि अब एक साता मात्र बाँकी रहेकाले तीव्र रूपमा तयारी गर्ने मन्त्री कार्कीले बताए। ‘योजना बनाएर फटाफट काम गर्नुपर्ने अवस्था छ, पैसाको चिन्ता गर्नुपर्दैन,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम थालिनेछ।’ उनले प्रदेशका सबै स्थानीय तहलाई प्रदेश सरकारले नै सर्कुलर गरेर पोस्टर तथा होर्डिङ बोर्डसँगै अन्य प्रचारका काम गर्न लगाउने बताए। ‘स्वदेशी भक्तजनबाहेक विदेशी भक्तजनलाई आकर्षित गर्न पनि भारतीय सीमा क्षेत्रमा प्रचारात्मक कार्य तीव्र पारिनेछ,’ मन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर कामलाई अघि बढाउनेछ।’ उनका अनुसार प्रदेश सरकारले अन्य ६ वटा प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि सहयोग गर्न आग्रह गरिसकेको छ।

प्रदेश १ सरकारले अन्य ६ वटा प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि सहयोगका लागि आग्रह गरिसकेको छ।

‘प्रचारात्मक कामलाई तीव्रता दिन नेपाल टेलिकम, सरकारी सञ्चार माध्यमसँगै निजी सञ्चार माध्यमलाई पनि सहयोगका लागि आग्रह गरिनेछ,’ उनले भने, ‘यातायातका सवारीसाधनमा समेत प्रचारात्मक ब्यानर राखिनेछ।’ नेपाल टेलिकमको मोबाइलमा अवरोध पुग्न नदिन अस्थायी मोबाइल टावरको व्यवस्था गरिनेछ। चतरासम्म पुग्नका लागि धरान, इटहरीको पकली र झुम्कालगायत स्थानबाट पुग्ने बाटोलाई मर्मत गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई सर्कुलर गरी सकिएको छ। झुम्काबाट चतरा पुग्ने २६ किलोमिटर कच्ची बाटो मर्मत गर्नुपर्ने अवस्था छ। सुनसरी–मोरङ सिँचाइको जिरो आरडीदेखि पाँच किलोमिटर मेन क्यानलमा रङ लगाउने र चहकिलो बत्ती बाल्नुपर्ने कार्य पनि गर्नुपर्नेछ।

यस्तै, सहभागी भक्तजन बिरामी पर्दा स्वास्थ्य उपचारका लागि एक लाखसम्मलाई पुग्ने औषधिको व्यवस्था पनि प्रदेश सरकारले गर्ने भएको छ। भक्तजन बिरामी पर्दा उपचारको जिम्मा चतरा प्राथमिक स्वास्थ्य केन्द्रलाई दिइएको छ। २४सै घण्टा विद्युत् आपूर्ति सहज गर्ने, वैकल्पिक रूपमा जेनेटरको व्यवस्था, कुम्भ स्नान तथा जोखिम व्यवस्थापनका लागि प्रदेशस्थित सुरक्षा निकाय परिचालन, २४सै घण्टा वारुणयन्त्रको व्यवस्था र सरसफाइको व्यवस्थापन गर्न वराहक्षेत्र आसपासका स्थानीय तहलाई जिम्मेवारी दिइएको छ। मेलामा सहभागी हुने भक्तजनका लागि चार हजार हाराहारीमा सुत्ने र बस्ने क्षमताको टेन्टको व्यवस्था समेत गरिने भएको छ। मेलामा एक करोडभन्दा बढी भक्तजन भित्र्याउने लक्ष्य राखिएको छ। चतरामा २०७०÷७१ मा भएको बहुवर्षे महाकुम्भ मेलामा पनि एक करोडभन्दा बढी नै भक्तजन सहभागी भएका थिए।

कुम्भ मेला सञ्चालनका लागि दुई करोड खर्च हुने मूल आयोजक समिति वराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनालले जानकारी दिए। अहिलेसम्म प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीका अनुसार संघीय सरकारसँग समन्वय गरेर थप खर्चको क्रमशः व्यवस्थापन गर्दै जाने तयारी भएको छ। मेलालाई सफल पार्न बिहीबार आयोजित बैठकमा प्रदेश सांसद विमल कार्कीले स्वदेशका मात्र नभएर विदेशका समेत भक्तजन जमघट गराउनाले चतराको आध्यात्मिक महत्व स्थापित गर्ने बताए।

नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजजीले आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्न, वर्षेनी धर्मका नाममा बिदेसिने रकम रोकथाम गर्न र नेपाललाई धार्मिक गन्तव्यको रूपमा विकास गर्न कुम्भ मेलाले सहयोग पुग्ने उनले बताए। नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ साल चैत ६ गतेदेखि एक महिनासम्म, २०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भ मेला प्राचीन हरिद्वार चतराधाममा लागेको थियो। यस्तै, २०७०÷७१ मा बहुवर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो। भगवान् नारायणले कोसिका नदीमा नुहाएर सारा भगवान्लाई बोलाएर स्नान गरेपछि कुम्भ मेला लाग्न थालेको मान्यता रहेको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App