७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुरक्षाकर्मी–विद्यार्थी झडप

प्रदर्शनकारीको आक्रमणबाट क्षतिग्रस्त जितपुर प्रहरी कार्यालयमा रहेको गाडी। तस्बिर : उपेन्द्र यादव/नागरिक

बारा- एसइई स्थगित गरेको विरोधमा शनिबार बारामा प्रदर्शनमा उत्रेका परीक्षार्थी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका कारण जितपुर बजार बिहान आठदेखि १२ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमबहादुर शाहीले बताए।

उनका अनुसार प्रदर्शनकारी उग्र बन्दै गए पछि नियन्त्रणमा लिने क्रममा प्रहरीले १० राउन्ड अश्रुग्यास र ११ राउन्ड हवाईफायर गरेको हो। झडपका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय जितपुरमा कार्यरत महिला प्रहरी जवान निरु श्रेष्ठ र प्रहरी जवान लगनदेव यादव गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि वीरगन्ज पठाइएको उनले बताए।

कलैया र जितपुरमा भएका झडपमा गरी आधा दर्जन सुरक्षाकर्मी र एक दर्जनजति प्रदर्शनकारी सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सई अशोककुमार कुर्मी, प्रहरी हबल्दार विजय राय यादव पनि घाइते भएका छन्। प्रदर्शनकारीतर्फ जितेन्द्र यादवसहितका विद्यार्थी सामान्य घाइते भएका छन। जितपुरमा प्रदर्शनकारीले सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरको ना१झ ७१२ नम्बरको सरकारी गाडीमा आगो लगाइदिए। गाडीको पछाडिको सिट, ढाल र बडी प्रोटेक्टर जलेको शाहीले बताए।

प्रदर्शनकारीले सडकमा ग्डिरहेका र सडक छेउमा रोकेर राखिएका नेपाली तथा भारतीय नम्बरप्लेटका एक दर्जन बढी ट्रक, टिपर र बसमा समेत तोडफोड गरेका जानकारी उनले दिए। प्रदर्शनकारीले कलैयाको भरतचोकमा राखिएका सार्वजनिक होर्डिङ बोर्ड तोडफोड र आगो लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले रोक्न थालेपछि प्रदर्शनकारीले ढुंगाा प्रहार गरेका थिए।

रौतहटमा पनि प्रदर्शन
यसैगरी एसइई रद्द भएको विरोधमा रौतहटमा पनि परीक्षार्थीले प्रदर्शन गरेका छन्। आक्रोशित परीक्षार्थीले सदरमुकाम गौर, सखुअवा, गरुडा, बिर्ता र कटहरियामा प्रदर्शन गरे। सरकारविरुद्ध विभिन्न नाराबाजी गर्दै उनीहरूले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कडा कारबाहीको माग गरेका छन्। प्रदर्शनकारीले केहीबेर सडक जाम गरेका थिए।

कटहरियामा परीक्षार्थीले स्थानीय सरकारविरुद्ध पनि नाराबाजी गरे। प्रदर्शनकारीले कटहरिया नगरपालिकाको कार्यालयमा डुंगा प्रहार गरे। ढुंगा प्रहारबाट नगरपालिकाको चारवटा झ्यालका सिसा फुटेका छन्। सदरमुकाम गौरमा भएको प्रदर्शनमा प्रहरीसँग सामान्य विवाद भएको थियो।

प्रकाशित: १७ चैत्र २०७५ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App