८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन, झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

जनकपुर - प्रदेश नं २ को एसइई परीक्षा स्थगित निर्णयको विरोधमा परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। लगातार प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रेका हुन्। 

बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी लगाएका थिए। उनीहरूले आफूहरुलाई न्याय दिनुपर्ने भन्दै टायर बालेर जुलुस प्रदर्शन गरेपछि शान्ति सुरक्षा कायम राख्नको लागि व्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ। उनीहरुले बिहानैदेखि जनकपुर महेन्द्रनगर सडकखण्डमा चक्काजामसमेत गरेका छन्। चक्काजामका कारण सवारी साधनको आवागमन ठप्प भएको छ।

त्यस्तै  बारामा आन्दोलनरत विद्यार्थीहरु र प्रहरीसँग झडप भएको छ ।  विद्यार्थीले तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप भएको हाे। बाराको जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै  झपडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् । 

शनिवार कलैयामा भएको झडपमा  प्रहरी नायव निरीक्षक (सई) अशोक कुर्मी घाईते भएका छन् भने जितपुरमा भएको झडपमा परी डिएसपी शाही र प्रहरी जवान निरु श्रेष्ठ सहित चार प्रहरी घाइते भएका छन् । बारामा आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीहरुले डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो ।

सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

त्यस्तै परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दानबहादुर थापाले बताए । प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको उनको भनाई छ ।

परीक्षाको चौथो दिन बिहीबार हुने विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो भने हिजो शुक्रबार हुनुपर्ने सामाजिक विषयको पनि प्रश्नपत्र पनि बिहीबार रातिदेखि नै सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती भएको थियो। प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार, केन्द्र सरकार त्यसको छानबिनमा लागेका छन्। परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोशित बनेका हुन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App