coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुनरागमनमा मेसीको गोल

मड्रिड- चोटबाट पुनरागमन जनाएको खेलमा लियोनेल मेसीले तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिबार डेर्पोटिभो ला कोरुनामाथि ४–० को जित निकालेको छ। सबै शीर्ष टोली विजयी भएको दिन चौथो स्थानको बार्सिलोना जितका बावजुद आफूभन्दा माथिका तीन टोलीसँगको अन्तर घटाउन भने सफल भएन।

समान अंकका साथ ला लिगाको शीर्ष दुई स्थानमा कव्जा जमाएर बसेका मड्रिडका दुई टोली एट्लेटिको मड्रिड तथा रियाल मड्रिडले जित हासिल गरेको दिन तेस्रो स्थानको सेभियाले पनि लेगानेसमाथि ३–२ को नतिजा निकाल्यो।

यानिक कारास्कोको ह्याटि्रक तथा निकोलस जाइटानको दुई गोलप्रेरित एट्लेटिकोले घरेलु मैदानमा ग्रानाडामाथि ७–१ को प्रभाव जमायो। जाइटानले एट्लेटिकोका लागि गोल गरेको यही पहिलो खेल थियो। इसाक कुइन्साको गोलमा ग्रानाडाले १८ औं मिनेटमा अग्रता लिए पनि डिएगो सिमोनको टोलीले पहिलो हाफमै पुनरागमन जनायो। कारास्कोले ३४ र ४५ औं मिनेटमा गोल गरेर मध्यान्तरसम्ममा एट्लेटिकोलाई २१ ले अघि बढाएका थिए। ६१ औं मिनेटमा अर्को गोल गरेर कारास्कोले ह्याटि्रक पूरा गरे भने जाइटानले ६३ र ८१ औं मिनेटमा गोल थपे। एट्लेटिकोका लागि वाँकी गोल एन्जेल कोरियाले ८५ तथा टियागोले ८७ औं मिनेटमा गरे।

सहरी प्रतिद्वन्द्वी एट्लेटिकोले फराकिलो जित हालिस गरेको दिन रियालले पनि रियाल बेटिसमाथि ६–१ को अवे जित दर्ता गरायो। इस्कोले दुई गोल गरेको खेलमा राफेल भारानेले रियाललाई चौथो मिनेटमै अग्रता दिलाएका थिए। करिम बेन्जेमाले ३२ औं मिनेटमा रियालको अग्रता दोव्वर पारे भने मार्सेलोले ४० औं मिनेटमा टोलीको तर्फबाट तेस्रो गोल गरे। मध्यान्तर हुनै लाग्दा इस्कोले व्यक्तिगा गोलको खाता खोलेर पहिलो हाफमा रियाललाई ४–० को अग्रता दिलाए। ५६ औं मिनेटमा अल्भारो सेजुडोले घरेलु टोली रियाल बेटिसका लागि एक गोल फर्काए पनि पुनरागमन जनाउन त्यो पर्याप्त थिएन। इस्कोले ६३ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरे भने क्रिस्टियानो रोनाल्डोले समय सकिन ११ मिनेट बाँकी रहँदा टोलीको तर्फबाट छैटौं गोल गरे।

रियालका प्रशिक्षक जिनेदिन जिदान शनिबारको प्रदर्शनबाट निकै उत्साहित थिए। 'हाम्रो टोलीमा विश्वका सर्वोत्कृष्ट खेलाडीहरुको उपस्थिती छ। हामीले जव पूर्ण इच्छाशक्तिका साथ अनुसासित भएर खेल्छौं, त्यसपछि जस्तोसुकै विपक्षी पनि अप्ठेरोमा पर्छ,' कुनै बेला खराव प्रदर्शनका कारण लिगको चौथो स्थानमा सिमित टोलीले शीर्ष स्थानसम्मको पुनरागमन जनाएपछि जिदानले भने, 'हामीले आज अति मिहिनेत गरेका थियौं। आजको जित पक्कै पनि महत्वपूर्ण छ। तर लामो सिजनमा हाम्रा लागि योभन्दा पनि महत्वपूर्ण कुरा एकरुपको प्रदर्शन हो। आजकै जस्तो प्रदर्शन र जोशलाई हामीले पूरा सिजन कायम राख्न सक्नुपर्छ।'

सेभियाले फ्रांको भाज्क्वेजको गोलमा २५ औं मिनेटमा अग्रता लिएको थियो। समिर नासरीले ५८ औं मिनेटमा गोल गरेपछि टोली अवे मैदानमा २–० ले अघि बढ्यो। लेगानेसका डेविड टिमोर कोपोभीले ६७ तथा एलेक्जेन्डर स्जिमानोवस्कीले ७० औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए। तर समय सकिन पाँच मिनेट बाँकी रहँदा पाव्लो साराबियाले गोल गर्दै सेभियालाई महत्वपूर्ण तीन अंक दिलाए।

चोटका कारण झण्डै एक महिनापछि घरेलु क्याम्प नोउ रंगशालामा मेसीले पुनरागमन जनाउँदा बार्सिलोनाले राफिन्हाको दुई तथा लुइस स्वारेजको एक गोलमा ३–० को अग्रता लिइसकेको थियो। राफिन्हाले २१ र ३६ औं मिनेटमा गोल गरेका थिए भने स्वारेजले ४३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए। मेसीले पनि मैदान छिरेको केही वेरमै सिजनको नवौं व्यक्तिगत गोल गरेर बार्सिलोनाको अग्रता थप फराकिलो पारे। ६५ औं मिनेटमा लाउरेले रातो कार्ड सामना गरेपछि डेर्पोटिभो ला कोरुनाले १० जनामा सिमित भएर बाँकी समय बार्सिलोनाको दबाब झेलेको थियो।

'आजको प्रदर्शन सबै पक्षबाट पूर्ण थियो,' बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, 'आजबाटै हामीले मैदानमा मेसी फर्किएको देख्न पायौं र उनले मैदान फर्किएपछि उच्च फर्ममा फर्किएको प्रमाण दिन पनि बेर लगाएनन्।'

स्पेनिस  ला लिगामा शनिबारै सम्पन्न अर्को खेलमा लस पाल्मस र स्पान्योलले गोलरहित बराबरी नतिजा निकाले।

शनिबारका नतिजापछि ८ खेलमा समान १८ अंकका साथ एट्लेटिको र रियाल पहिलो तथा दोस्रो स्थानमा छन् भने सेभिया १७ अंकका साथ तेस्रो तथा बार्सिलोना १६ अंकका साथ चौथो स्थानमा छ। १२ अंक जोडेको लस पाल्मस छैटौं स्थानमा छ।

प्रकाशित: १ कार्तिक २०७३ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App