coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हिउँ बिलाउनुअघि...

माघ अन्तिम साता परेको झरीले वर्षौपछि पोखरा नजिकैका गाउँ हिउँले सेताम्मे थिए। माछापुच्छ्रे पनि वर्षौपछि पूर्ण रूपमा ढाकिएको थियो। धेरै दिनदेखि धुलाम्मे पोखरा झरीपछि भर्खरै स्नान गरेकी कुमारीजस्तै देखिन्थी।

नजिकैको शान्ति स्तुप, सराङ्कोट, काहुँडाँडा, कृस्ती र पोखराबाट दिनहुँ देखिने हिमाल अझै नजिकै देखिए। जंगल हरिया र सडक सफा भएका थिए। तर बिहान ९ बज्दासम्म पनि आकाशमा कालो बादल मडारिरहेकै थियो। चिसो सिरेटोसहित पोखरा कहिले अँध्यारो, कहिले उज्यालो हुँदै थियो।

वर्षौपछि माछापुच्छ्रेले सानले फेवातालमा मुहार देखाइरहेथ्यो।  आसपासका गाउँ पनि सेताम्मे थिए। चलचित्र र युट्युवतिर मात्रै हिउँ देखेका छोरीहरूले पोखरा नजिकै परेको हिउँ हेर्न जाने रहर गरे। दिउँसो १ बजे लुम्लेतिर हिउँ खेल्न जाने योजना बन्यो।

पोखराबाट निस्कँदा बिहानको बादल फाटेर पारिलो घाम लागिसकेको थियो। घाम पारिलो भए पनि नजिकैको हिउँले मौसम चिसो नै थियो। अरू बेला भएको भए मौसम चिसो हुँदा घाम लागोस् र न्यानो होस् भन्ने चाहना हुनु सामान्य हुन्थ्यो। तर आज किनकिन मौसम चिसो भए पनि घाम नलागोस् भन्ने लागिरह्यो। यस्तो लाग्नुको कारण थियो हामी काँडे पुग्दा नपुग्दै हिउँ पग्लिएर नसकियोस् र नानीहरू निराश नहोऊन्। तर प्रकृतिको नियमलाई कसले रोक्न सक्छ र? हाम्रो गाडीको रफ्तार जसरी अगाडि बढिरहेको थियो घाम पनि उसै गरी पारिलो हुँदै थियो। सराङ्कोटनेर पुग्दा थाहा भयो त्यहाँ हिउँ हेर्न जाने आन्तरिक पर्यटककै कारण ट्राफिक जाम सुरु भइसकेको रहेछ। मोटरसाइकल र हरियो प्लेटका पर्यटक गाडी लाइन लागेर फर्किरहेका थिए। सराङ्कोटको बाटोमा ट्राफिक जाम भएपछि हामी अर्को लामो बाटो हेम्जातिरबाटै लुम्लेतिर लाग्यौ।

बाटाभरि हिउँ हेर्न जाने युवाको मोटरसाइकल र गाडीको भीड थियो। जब मिलनचोक पुग्दै थियौं बाटोमा गाडी फसेका कारण यो बाटो पनि बन्द भएको रहेछ। एकातर्फ साँघुरो बाटोको कारण भएको ट्राफिक जाम, अर्कोतर्फको बाटोमा गाडी फसेको र चाँडै बाटो खुलाउन पहल नगरेका कारण धेरै पर्यटक हिउँ हेर्ने आशा मार्दै निराश भएर पोखरा फर्कदै थिए। हाम्रो गाडी पनि त्यहीँ निराश भीडको पछिपछि फर्कियो। साँघुरो सडककै कारण वर्षौपछि पोखरा नजिकै परेको हिउँ हेर्न गएका आन्तरिक पर्यटक गन्तव्यमा नपुगिकनै फर्कन बाध्य थिए। अघि जाँदै गर्दाको सराङ्कोटको ट्राफिक जाम झन् बढिरहेको थियो।

गुराँसका डालीसहित भाँचेर मोटरसाइकलमा फर्केका युवा देखेपछि भने दिक्क लाग्यो। हामी कति असभ्य हौं? हामी कति स्वार्थी हौ ? हाम्रो यस्तो बाँदरे प्रवृत्तिको अन्त्य कहिले होला?

हुलका हुल युवा मोटरसाइकलमा फर्किरहेका थिए। ‘बाटो जाम छ नजानुस फर्कनुस्’ भन्दै थिए। तर छोरीहरु फर्कने मुडमा नभएकाले हामीले बागलुङ बसपार्क नजिकैको नयाँ बाटो हुँदै काँडे पुग्ने निधो ग-यौं। यो नयाँ बाटो भने धेरैलाई जानकारी थिएन सायद र बाटो जाम थिएन। तर, काँडे पुग्नुभन्दा वरैबाट लामो जाम रहेछ। गाडी अघि बढ्न सक्ने अवस्थामा थिएन। हिउँ हेर्न जानेको भिडले मेला लागेजस्तै रमाइलो दृश्य देखिन्थ्यो। मानिस सडकमै गाडी, मोटरसाइकल अलपत्र छाडेर जंगलभित्र हिउँ खोज्न छिर्दै थिए। कोही भोक र तिर्खाले पानी, चाउचाउ र बिस्कुट किन्न पसलमा थिए। पसलेहरु मौका यही हो भने जसरी अरू बेलाभन्दा डबल मूल्यमा सामान बेच्दै थिए।

कोही हातमा हिउँका डल्ला लिएर फर्कदै थिए। कोही हातभरि गुराँसका हाँगैसहित फर्कदै थिए। अघिसम्म एक दुई जनाले गुराँसका फूल हातमा लिएको देख्दा केही जस्तो नलागेको मलाई जब गुराँसका डालीसहित भाँचेर मोटरसाइकलमा फर्केका युवा देखेपछि भने दिक्क लाग्यो। सोचे–अहो! हामी कति असभ्य हौं? हामी कति स्वार्थी हौ? हामीलाई आफुले हेरेर मात्रै भएन, आँखाले देखेर मात्रै सन्तुष्टि भएन। 

सेल्फी खिचेर सामाजिक सञ्जालमा राखिसकेपछि आफन्तबाट वाह वाही पाउनु थियो। धन्य हो हाम्रो बाँदरे प्रवृत्ति। त्यसरी बोटै रित्याएर नटिपिदिएको भए पोखराबाट छोटो समय लिएर नजिकैको जंगलमा गुराँस हेर्न आउने पर्यटकलाई हाम्रो राष्ट्रिय फूल देखाउन सकिन्थ्यो। विडम्बना! शनिबारको हिउँ हेर्ने मेलाले लुम्ले, काँडे र यस वरपर भर्खरै फुल्दै गरेका गुराँस डाँलीसँगै चुँडिन विवश थिए।

हाम्रो यस्तो बाँदरे प्रवृत्तिको अन्त्य कहिले होला? मनमा यस्तै प्रश्न खेल्दै थिए, छोरीहरु गाडीबाट ओर्लेर हिँडेरै काँडेसम्म जान तम्सिए। मोटरसाइकलको भीड, दुईतिरको रोकिरहेका बसहरुको लाइनले काँडे पुग्न पनि समस्या भएपछि हिउँ हेर्ने आशा मारेर हामी चाँडै पोखरा फर्कने निचोडमा पुग्यौ। फर्कदा पनि जब गाडी अगाडी बढाउँदै थियौं फेरी उहीँ ट्राफिक जामको सास्ती सुरु भयो। ठाउँठाउँको साँघुरो बाटो र घुम्तीको जामले पोखराबाट एक घन्टा पनि नलाग्ने लुम्ले पुगेर फर्कन हामीलाई करिब पाँच घन्टा लाग्यो। जसको मूल समस्या थियो साँघुरो सडक।

हामीले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्रयाउने कुरा गरिरहँदा हाम्रा पर्यटक लक्षित सडकहरु भने आन्तरिक पर्यटकको भार पनि थेग्न नसक्ने अवस्थाका छन्। यहीँ समस्या संकेत गर्दै केही समय अगाडि एक कार्यक्रममा कनेक्टिङ स्पेससकी सञ्चालिका स्विस नागरिक मोनिका स्काफनेरले हालको पूर्वाधारको आधारमा नेपालले २० लाख पर्यटक ल्याउन चुनौति हुने बताएकी थिइन।

यहाँ पर्यटक भित्र्याउनु मात्रै ठुलो कुरा होइन । स्तरीय पर्यटक भित्र्याउनु र उनीहरुको नेपाल बसाइ लम्ब्याउन सक्नु अर्को ठुलो चुनौति हो। त्यसका लागि हामीले स्तरीय होटल र फराकिला सडक निर्माणसँगै गाउँगाउँमा खुलेका होमस्टेहरुले मौलिक खाना र संस्कृतिलाई निरन्तरता दिनुपर्छ। अन्यथा अहिलेकै पूर्वधारमा २० लाख पर्यटक भित्र्याउँछु भनेर सपना देख्नु पोखरादेखि एक घन्टा दूरीको लुम्लेसम्म पाँचघन्टामा पुगेर हिउँ नहेरी फर्कनु जस्तै हो। 2073gaurigmail.com

प्रकाशित: १६ चैत्र २०७५ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App