बसन्त महर्जन
एकै नाउँका दुई वा दुईभन्दा बढी व्यक्ति एकै क्षेत्रमा भइदिँदा व्यवहारमा अलि अप्ठ्यारै पर्छ। इतिहास अध्ययनमा त यसले उल्टोपाल्टो नै पारिदिन्छ। इतिहासका कतिपय प्रसिद्ध लेखक, कलाकार, दार्शनिक तथा राजा महाराजालगायत अन्यको काल निर्धारण गर्न नसक्नुमा यस्ता कुराले पनि असर गरेको हुन सक्छ। नाममा समानता भएकाले एकभन्दा बढी व्यक्तिको कृति एकैको हो भन्ने भ्रम यसरी स्थापित भइदिन्छ कि त्यसलाई छुट्टयाउनै मुस्किल हुन्छ। र बहुमुखी, अद्भूत र विराट व्यक्तित्वका रूपमा लिई नतमस्तक हुन्छौं। यस्ता व्यक्तित्वको सूची लामो बन्छ।
नेपाली भाषामा अनुवाद भई हालै बजारमा आएको ‘बज्रसूची उपनिषद’ (मोदनाथ प्रश्रितद्वारा अनुवाद) ग्रन्थलाई पनि यही कोटीमा राखेर हेर्न सकिन्छ। अनुवादकका अनुसार उक्त ग्रन्थ ‘महाकवि बौद्धाचार्य अश्वघोष’ को हो। ‘महाकवि अश्वघोष’ का रूपमा बढी चिनिने यिनी भिक्षु पाश्र्वका शिष्य, कुषान महाराज कनिष्कका गुरु एवं चतुर्थ बौद्ध संगायनका उपसभापति हुन्। यस ग्रन्थका ग्रन्थकार सम्बन्धमा लामो प्राज्ञिक विवादपछि प्रायः निरूपण भइसक्दा पनि नेपाली भाषामा अवतरण हुँदा पुनः विवादको विषय हुनुलाई अप्राज्ञिक संस्कृतिका रूपमा लिनु पर्ने हुन्छ।
‘बज्रसूची’को ग्रन्थकारका सम्बन्धमा केही छलफल गर्नुअघि महाकवि अश्वघोषकै विषयमा गम्नु आवश्यक देखिन्छ। अश्वघोषको जीवनसम्बन्धमा साङ्गोपाङ्गो वृतान्त भने उपलब्ध छैन। आफ्ना तीन प्रसिद्ध संस्कृत ग्रन्थहरू ‘बुद्धचरित’, ‘सौन्दरनन्द’ र ‘सारिपुत्रप्रकरण’ को अन्तमा ‘आर्य सुवर्णाक्षीपुत्रस्य साकेतकस्य भिक्षोराचार्यभदन्ताश्वघोषस्य महाकवेर्महावादिनः कृतिरियम्’ भनिएबाट उनको जन्म साकेत (अयोध्या) मा भएको र माताको नाउँ सुवर्णाक्षी हुन् भन्ने जानिन्छ। चीनी परम्पराअनुसार उनका पिता सैंह्यगुह्य थिए जो स्वयं न्यायशास्त्रका प्रसिद्ध पण्डित थिए। अश्वघोष वेद, उपनिषदजस्ता वैदिक वाङ्मयमा बेजोडको पकड हुँदा उनी विभिन्न ठाउँमा शास्त्रार्थ गर्दै हिँड्थे। तत्कालीन चलनअनुसार शास्त्रार्थमा जुन दर्शनबाट पराजित हुन्थे सोही दर्शन अपनाउनु पर्दथ्यो र भिक्षु पाश्र्वसँग भएको शास्त्रार्थमा उनी पराजित हुन पुगे। र, बुद्धधर्ममा दीक्षित भए। उनी बौद्ध धर्ममा दीक्षित मात्रै भएनन, गहन अध्ययनमा पनि लागी बौद्ध दर्शनमा अधिकार जमाए। त्यसपछि उनी आफूमा निहित विभिन्न शिल्पहरू प्रयोग गरी बुद्ध धर्मको प्रचारमा लागे। भिक्षु पाश्र्वकै सल्लाहमा कुषान महाराज कनिष्कले अश्वघोषलाई दरबारमा प्रश्रय मिलेको थियो। कनिष्ककै संरक्षकत्वमा सम्पन्न चतुर्थ बौद्ध संगायनमा अश्वघोष उपसभापति बनेका थिए। अश्वघोषद्वारा रचित महाकाव्यहरू ‘बुद्धचरित’ र ‘सौन्दरनन्द’मा प्रयुक्त उपमाहरूमा ‘रामायण’ र पौराणिक ज्ञानको प्रभाव प्रचुर मात्रामा परेको देखिन्छ। उनी बाल्मिकीका परवर्ती, कालिदास एवं भासका पूर्ववर्ती हुन्। उनका रचना एक समय घरघरमा पाठ हुन्थ्यो भनी ईसंं ६७१ देखि ईसं ६९५ भित्र भारतको भ्रमण गर्ने चिनियाँ यात्री इत्सिङले वर्णन गरेका छन्।
महायानी बौद्धहरू मन्जुश्रीलाई एक बोधिसत्वका रूपमा लिन्छन् र अत्यन्तै सम्मान गर्दछन् तर बोधिसत्व मन्जुश्रीको अवधारणा सुरुदेखिको होइन। पछि मन्जुश्रीको नाममा एउटा समूह नै बनेको पनि देखिन्छ। तर यो महाकवि अश्वघोषभन्दा निकै पछिको कुरा हो।
उनैका अनुसार अश्वघोषको साहित्य त्यति बेला पूरा भारत वर्षमा र सुमात्रा, जावा, तथा अन्य वरिपरिका द्वीपहरूमा पनि लोकप्रिय थियो। तर ती महाकाव्य कालान्तरमा प्रायः अज्ञात अवस्थामा हुँदा अश्वघोष भन्ने महाकवि पनि रहेछन् भन्ने हेक्का हुनै छाड्यो। सर्वप्रथम सिल्भाँ लेभीले सन् १८९२ मा ‘बुद्ध चरित’को प्रथम सर्ग प्रकाशमा ल्याएपछि भने साहित्य तथा इतिहासका पाखरीहरू चौकन्ना हुन पुगे। हाल संस्कृत साहित्याकाशमा अश्वघोषको नाम बडो आदरका साथ लिइन्छ। हालसम्ममा महाकवि अश्वघोषका सम्बन्धमा धेरै खोज र अध्ययन भएका छन्। यस क्रममा अन्य ग्रन्थ पनि भेटिए जुन अश्वघोषद्वारा रचित मानिन्छन्। महाकवि अश्वघोष, नाटककार, संगीतकार, गायक, तार्किक, बौद्ध विद्वान आदि व्यक्तित्वले युक्त भई बहुमुखी प्रतिभाका थिए। यस्तो व्यक्तित्वबाट विभिन्न विषयमा ग्रन्थ रचना भएको मान्नु स्वाभाविक पनि हो। तर तथ्यगत दृष्टिले ती सबै रचना अश्वघोषको हुन नसक्ने आधारहरू इतिहाससम्मत पनि छन्।
इत्सिङले ‘सूत्रालङ्कार’को उल्लेख गरी त्यसका रचनाकार महाकवि अश्वघोषलाई नै मानेका थिए। ई.सं. ४०५ मा कुमारजीवद्वारा चिनियाँ भाषामा अनुदित उक्त ग्रन्थलाई ई. १९०८ मा इ. ह्यूवरले अंग्रेजीमा अनुवाद गरेका थिए। पछि मध्य एशियाबाट भेटिएको यस मूल संस्कृत ग्रन्थका कारण ठूलो प्रश्न उठ्यो। प्रोफेसर लुदर्सले मूल संस्कृत ग्रन्थ भेटाएका थिए र ग्रन्थमा रचनाकारका रूपमा कुमारलात वा कुमारलब्ध उल्लेख छ। महाकवि अश्वघोषकै भनिएको चर्चित ‘‘महायान–श्रद्धोत्पाद–शास्त्र’’ पनि अरु नै कसैको ग्रन्थ भएको कुरा बौद्ध धर्मदर्शनको विकास क्रमलाई अध्ययन गर्दा छर्लङ्ग हुन्छ। जापानमा यही ग्रन्थका आधारमा अश्वघोषलाई महायानी आचार्य मान्ने गरिएको पाइन्छ। यस ग्रन्थमा दर्शनका जुन कुराहरू लेखिएका छन् ती बौद्ध दर्शनको विकास क्रम वा इतिहाससम्मत छैनन्। ग्रन्थ मूलतः शून्यवाद (माध्यामिक मत) र विज्ञानवादको समन्वयका रूपमा रहेको छ तर यी दुवै दार्शनिक मत अश्वघोषभन्दा पछि मात्र विकास भएको हो। यस अवस्थामा अश्वघोष नाउँका कुनै अर्कै बौद्ध आचार्यले ‘‘महायान–श्रद्धोत्पाद–शास्त्र’’ लेखेको तर भूलवस महाकवि अश्वघोषसँग जोडिन पुगेको अनुमान हुन्छ। बुद्ध र संघको प्रशंसा गर्दै लेखिएको ‘गण्डीस्तोत्र’ को अवस्था पनि यही छ। ग्रन्थको मौलिक नाम पनि ‘कल्पनामण्डितिका’ रहेछ।
नेपाली भाषामा अनुदित ‘बज्रसूची उपनिषद’ पनि एउटा यस्तै संदिग्ध ग्रन्थ हो। ‘बज्रसूची’ का नामले बढी चिनिएको यो ग्रन्थ अनुवादककै शब्दमा ‘‘ ... मानिस मानिसको बीचमा जातपात र छुवाछूत प्रथा बढाएर मानव जातिलाई विभाजित र अपमानित गर्ने परम्पराको विरोधमा यो कृति रचिएको हो। वर्णव्यवस्था (जातपात प्रथा) का पक्षधरहरूले कसैको कुरा नसुनी जातपात एवम् छुवाछूतका पक्षमा लेखेर र व्याख्या गरेर भेदभावलाइ झन् जटिल बनाउँदै लगेका थिए। जातपातको भेदभाव बेठीक हो भनेर सहज ढङ्गले कुरा गर्दा त्यो कुरै नसुन्ने, त्यसको वेवास्त गर्ने, त्यस विचारलाई नास्तिक विचार भनी दमन गर्ने प्रवृत्ति बढेपछि त्यस प्रवृत्तिमाथि प्रहार गर्न खरो भाषामा यो पुस्तक रचिएको हो। संसारमा सबैभन्दा सा-हो भौतिक वस्तु हीरा हुन्छ। हीरालाई बज्र पनि भनिन्छ। वज्र इन्द्रको शक्तिशाली हतियार पनि मानिएको छ। र, त्यस हतियारद्वारा इन्द्रले ठूल्ठूला पहाड भत्काएका कथा छन्। अझ त्यस बज्रको पनि सुइरो बनाएर मानिसको दिमाग या मुटुमा घोचे कति भयङ्कर असर र पीडा होला! समाजमा देखिएका तिनै अमानवीय विचार र भावनालाई छेड्न अश्वघोषले यो ग्रन्थ रूपी सुइरो तयार पारेका हुन्।’’
इत्सिङबाट तयार पारिएको महाकवि अश्वघोषका ग्रन्थहरूको सूचीमा ‘बज्रसूची’ परेको थिएन। तिब्बती ‘तंग्यूर’ मा पनि यस ग्रन्थलाई अश्वघोषको रचना मानिएको छैन। बरु चिनियाँ श्रोतले यसको रचनाकार धर्मदेवलाई मानेको छ (तर प्रश्रितका अनुसार धर्मदेव अनुवादक हुन्)। आचार्य नरेन्द्रदेव एवं भरतसिंह उपाध्यायका अनुसार बज्रसूचीको शैली अश्वघोषको भन्दा सर्वथा भिन्न छ। नेपालीभाषामा अनुवादित ‘बज्रसूची’ ग्रन्थमा संस्कृत श्लोकहरू पनि समावेश छन्। शुरु र अन्तिम दुई श्लोकमा ग्रन्थकारका रूपमा ‘अश्वघोष’ नाम उल्लेख छ। तर ग्रन्थमा उल्लेखित नामले महाकवि अश्वघोष नै हुन् भन्ने कुनै सङ्केत गर्दैन। ग्रन्थको प्रस्तुति हेर्दा ‘महायान श्रद्धोत्पाद शास्त्र’जस्तै यो पनि इतिहाससम्मत देखिन्न। इतिहासको कालक्रमअनुसार हेर्दा पनि यो अझ प्रष्टिन्छ। यसमा मन्जुश्रीको स्वस्ती वाचन गरिएको छ तर बौद्ध इतिहासमा मन्जुश्रीको सन्दर्भलाई कसरी लिने भन्ने नै समस्याको विषय भएको छ।
महायानी बौद्धहरु मन्जुश्रीलाई एक बोधिसत्वका रुपमा लिन्छन् र अत्यन्तै सम्मान गर्दछन् तर बोधिसत्व मन्जुश्रीको अवधारणा सुरुदेखिको होइन। पछि मन्जुश्रीको नाममा एउटा समूह नै बनेको पनि देखिन्छ। तर यो महाकवि अश्वघोषभन्दा निकै पछिको कुरा हो। संभवतः मन्जुश्री सम्प्रदायबाट प्रभावित बेग्लै अश्वघोष र महाकवि अश्वघोषमा फरक छुट्याउन समस्या पर्दा एक व्यक्तिको रुपमा भ्रम पर्न गएको हो। यो कुरा अन्य ग्रन्थबाट पनि सिद्ध हुन्छ।
नाममा साम्यता हुँदा विज्ञानवाद पनि भनिने दार्शनिक सम्प्रदाय योगाचार्य मतका संस्थापक आचार्य असंगका गुरु आचार्य मैत्रेयनाथ र भविष्यका बुद्धका रुपमा चिनिएका मैत्रेय बोधिसत्व एकै हुन् भन्ठानिएको थियो तर अहिले त्यसमा धेरै कुरा स्पष्ट भइसकेको छ। शून्यवाद वा माध्यमिक दार्शनिक सम्प्रदायका संस्थापक आचार्य नागार्जुनको नामसँग मिल्ने पछिल्ला बौद्ध आचार्यहरुका कारण एकै व्यक्ति भन्ठानेर बहुप्रतिभाशाली र दीर्घजिवीका रुपमा वर्णन गरिएको पाइन्छ जबकि एउटै नामका तीन वा चार व्यक्तित्वको अस्तित्व भेटियो। महाकवि अश्वघोषका सन्दर्भमा पनि यही भएको छ। ‘बज्रसूची उपनिषद’ ग्रन्थका ग्रन्थकारलाई महाकवि अश्वघोष नै मान्नु हजुरबुवाभन्दा नाति जेठो जस्तो हुने आपत्ती छ।
प्रकाशित: १६ चैत्र २०७५ ०५:४७ शनिबार