६ वैशाख २०८१ बिहीबार
अन्य

१० मुक्तक

सविता बराल

जुन तारा साक्षी राखी, सँगै रुन्छन  क्षितिजहरू, 
खडेरी पारेर नष्ट पा-यौं, मेरो मायाको वीजहरू। 
क्यानभासमा गडेका, तिम्रो  यादले  सताउँदा, 
चिरिएर आउँछ  छाती, लैजाऊ  तिम्रा चीजहरू। 
...    
सपनीमा देखिरहन्छु  निकै तिमीलाई,  
मुटु छेवैमा पाइरहें नजिकै तिमीलाई। 
यति प्यारो भयौ आफ्नै प्राणभन्दा पनि, 
म मरे पनि पाइराखाैँ साँच्चिकै तिमीलाई। 
...

भेट  हुने  इच्छा  हुँदा  सम्झी, लिन जानुस्,
हातमा फूल मन्द मुस्कान, माया चिनो लानुस्। 
स्वागत गर्दा, लजाउँदै शिर झुकाउँदा उनले,
सुम्सुम्याउँदै कपाल उनको, अँगालोमा बाँध्नु। 
... 
कहिले साथ दियौ मलाई पीर पर्दाखेरि, 
बलिन्द्रधारा यी आँखामा आँसु झर्दाखेरि। 
एकै पटक मर्न देऊ पटक पटक मार्नुभन्दा, 
अन्तिम इच्छा तिम्लाई देख्ने मै मर्दाखेरि। 
...
मनमा कालो बादल एक्कासि छाउँछ, 
झरी  र  आँसु  किन, नसोधी आउँछ। 
खरानी भए सपनाहरू, मन छैन थिर, 
बितेका ती पलहरूले मुटु बल्झाउँछ। 
...

लुटिरह्यो  समयले  लुटाइरहें  नबोलेरै,
अनगिन्ती व्यथाहरू छुपाइरहें  नबोलेरै। 
अघाएर आउँदा ऊ तिर्खाउँथे म सधैँ
प्यास खपेर भित्रभित्रै लुकाइरहें नबोलेरै।                                     
... 
सबै  प्रश्नहरूको जवाफ  हुँदैन,
र सबै सम्बन्धहरू खराब  हुँदैन। 
प्रेमले पनि त लठ्याउँदो रहेछ, 
लठ्याउने चीज सबै सराब हुँदैन। 
...
म  पनि  त तिम्रो दिवानी भएछु,
तिम्रो प्रेम कथाको कहानी  भएछु। 
गल्ती भो मबाट देऊ अब  सजाय
त्यो मुटु भित्रको  निशानी भएछु। 
...
तिमी  मात्र  मेरै  हुन्थ्यौ, भने  कस्तो हुन्थ्यो, 
ती हातले मलाई नै छुन्थ्यौ,भने कस्तो हुन्थ्यो। 
हृदयदेखि  मन  खोलेर, व्यथा  साझा सम्झी, 
मसँगै दिल खोलेर रुन्थ्यौ, भने कस्तो हुन्थ्यो। 
...
मेरै  मुटुलाई  बनायौ  निसानी, 
तिम्रै यादले भिजेको हो सिरानी। 
लाखौं कोसिस गर्नेले सकेनन्, 
तिमीलाई रोजें नबनाऊ है बिरानी। 
...

प्रकाशित: १६ चैत्र २०७५ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App