४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

जनचेतना अभावले ‘साइकोसिस’ रोगी बढ्दै छन्

‘साइकोसिस’ कडा मानसिक रोग हो। पछिल्लो समय विदेशमा जस्तै नेपालमा पनि यो रागको सिकार हुनेहरूको संख्या बढ्दो छ। यस्तो रोग कसरी लाग्छ ? रोग लागिसकेपछि कस्तो उपाय अपनाउने ? प्रस्तुत छ, नागरिक दैनिककी पवित्रा सुनारले मानसिक अस्पतालका वरिष्ठ मानिसक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीसँग गरेको कुराकानीको संक्षिप्त अंश:

साइकोसिस कस्तो रोग हो ?
– मानिसमा विभिन्न खालका मानसिक असन्तुलन देखापर्ने अवस्थालाई साइकोसिस (मानसिक असन्तुलन) भनिन्छ। यो रोगभित्र विभिन्नथरीका रोग पर्छन्। ‘सिजोफेनियाँ’ पनि साइकोसिसभित्र पर्ने एक प्रकारको साइकोसिस रोग हो।

साइकोसिसमा कति प्रकारका मानसिक रोग पर्छन् त ?
– विश्व स्वास्थ्य संगठनले अन्य रोगलाई जस्तै साइकोसिसलाई कोर्ड समूहमा विभाजन गरेको छ। साइकोसिस रोगको कोर्ड एफ समूहमा पर्दछ। जस्तो कि एफटु ०–९ भित्र यो रोग पर्छन्। जसमा एक्युर्ड साइको डिसअर्डर (तुरुन्तै भएको मानसिक असन्तुलन) साइकोएफेक्टिभ डिसअर्डर (सिजोफेनियाँले हुने मानसिक असन्तुलन), परसिस्ट डेलुजन डिस्अर्डर (मिथ्या भ्रम आउने रोग), अनस्पेसिफिक साइकोसिस (विशेष पहिचान नभएका), लागूपदार्थ दुव्र्यसनीमा हुने वाइपोलार डिसअर्डर तथा मेनियाँ साइकोसिसलगायत पर्छन्। मानसिक असन्तुलन हुने रोगहरूमा अनौठो खालको अनुभूति हुने, बिरामीमा असामान्य व्यवहार हुने, नभएको आवाज सुनिने, सत्य नभएका दृश्य देख्ने, असत्य कुराहरू बिरामीलाई सही लाग्नेजस्ता भ्रम आउँछ, त्यही गलत भ्रमअनुसार आफ्नो क्रियाकलाप देखाउँछन्।

सिजोफेनियाँ भनेको के हो ?
– यो पनि साइकोसिसभित्र पर्ने कडा मानसिक रोग हो। यो एफ २–० समूहभित्र पर्छ। यो रोगमा ६ महिनाभन्दा बढी लक्षण रहन्छन्। बिरामीमा भ्रम आउने, अरूले नसुनेको आवाज सुन्ने, सामान्य मानिसले नदेखेको कुरा देख्नेजस्ता लक्षण देखिन्छन्। यो रोग विश्वको कुल जनसंख्याको १ प्रतिशतमा देखिन्छ। यो रोग लागेकामध्ये ३० प्रतिशत बिरामी उपचारपछि पूर्ण रूपमा स्वस्थ हुन्छन्। कडा खालको साइकोसिस दीर्घकालीन रूपमा रहन्छ।

सिजोफेनियाँ कसरी हुन्छ ?
– खास कारण यही हो भन्ने नै थाहा हुन्न। शारीरिक तथा मनोसामाजिक कारणले पनि हुन्छ। बायोसाइकोसोसियल संरचनाको प्रभावले पनि यो रोग लाग्छ। जस्तो कि शारीरिक कारण मस्तिष्कको सूक्ष्म तहमा संरचनागत गडबडी हुँदा, न्युरोट्रान्समेटिक (मस्तिष्कका भागहरू) मा तलमाथि हुने, वंशबाट सन्तानमा देखिन पनि हुन्छ। त्यसैगरी व्यक्तिको मनोविज्ञानको अवस्थाको कारणले यो रोग लाग्छ। जस्तो कि सिजोइडिटी व्यक्तित्व, सिजोटाइपल व्यक्तित्व, प्यारामेथी व्यक्तित्व भएका मानिसमा पनि यो रोग हुन्छ। सामान्य व्यक्तित्व भएका मानिसलाई भन्दा यस्तो व्यक्तित्व भएका मानिसलाई सिजोफेनियाँ हुने सम्भावना बढी हुन्छ। जसमा पहिल्यै मनोवैज्ञानिक समस्या हुन्छ, उनीहरूमा तनाव, बसाइँसराइ, बेरोजगारीजस्ता  सामाजिक कारणले यो रोग फुत्त बाहिर निस्कन्छ। त्यसैले साइकोसिसमा बायोसाइकोसोसियल पक्षको भूमिका बढी हुन्छ। त्यसैगरी मस्तिष्कमा संरचनागत रोग तथा समस्या छ भने पनि साइकोसिस देखिने सम्भावना हुन्छ। लागूपदार्थ दुव्र्यसनी, एचआइभी संक्रमण, मस्तिष्कको संक्रमणजस्ता कारणले पनि यो रोग लाग्नमा सहयोग पुगेको हुन्छ।

मस्तिष्कमा गडबडी कसरी आउँछ ?
– संरचनागत रूपमा सामान्य देखिने तर मस्तिष्कले काम गर्ने संवेनदनशील केन्द्रहरूको समन्वयमा गडबडी आए मस्तिष्कमा गडबडी आउँछ। निश्चित केन्द्रमा न्युरो रसायनको गडबडी हुन्छ। जस्तो कि डोपामिन, सेरोटोलिनलगायत रसायनहरूको तह तथा कार्यक्रमा गडबडी भए साइकोसिस रोग लाग्छ।

साइकोसिसका बिरामी कति छन् ?
– १ प्रतिशतमा कडा खालको सिजोफेनियाँ छ। साइकोसिस रोगमा सबै खालको गरी ३ देखि ४ प्रतिशतमा साइकोसिस रोग छ भन्ने अनुमानित तथ्यांक छ।

यो रोग स्थिर छ कि बढेको छ ?
– आजभोलि यो रोग नेपालमा तथा विश्वव्यापी रूपमा बढेको छ। एकातिर जनचेतना बढेकाले उपचारमा आउने चलन पनि बढेको देखिन्छ, अर्कोतिर रोग पनि बढ्ने क्रममै छ।

यी रोगमध्ये सजिलै निको हुने खालको कुन हो ?
– एक्युड साइको डिसअर्डर ‘एटिपिडी’ (ठूलो तनावले हुने मानसिक असन्तुलन) समयमा उपचार पायो भने पुरै निको हुन्छ। सिजोफेनियाँ पनि निको हुन्छ। ३० देखि ३५ प्रतिशत निको हुन्छ। लागूपदार्थका कारण पनि मानसिक असन्तुलन पैदा हुन्छ। लागूपदार्थको सेवन रोकेपछि यो निको हुन्छ। संक्रमणका कारण आएको पनि संक्रमण नियन्त्रण भएपछि निको हुन्छ। सिजोएफेक्टिभ डिअस्र्डर (साइकोसिस) अलिक लामो प्रकृतिको हुन्छ। तर औषधि उपचार गरे सबै रोगलाई नियन्त्रणमा राख्न सकिन्छ। यसका लागि चिकित्सकको निगरानीमा औषधि नियमित सेवन गर्नुपर्छ। रोगसित जोडिएका मनोसामाजिक समस्याको व्यवस्थापन, पेसागत क्रियाकलापको व्यवस्थापन भए नियन्त्रणमा राख्न सकिन्छ।

साइकोसिसको लक्षणहरू के–के हुन् ?
– नभएको कुरा सुनिने,
– मिथ्या अनुभूति हुने,
– सामान्य व्यक्तिले नदेखेको कुरा देखिने,
– व्यक्तित्वमा परिवर्तन आउने,
– अनावश्यक शंका उत्पन्न हुने,
– सामाजिक प्रतिष्ठा गुम्दै जाने,
– यदाकदा हिंसात्मक व्यवहार गर्ने,
– व्यक्तिगत सफाइमा ध्यान नदिने।

बिरामी कुन अवस्थामा आइपुग्छन् ?
–जनचेतनाको अभावमा रोग धेरै बिग्रेपछि मात्र आइपुग्छन्। सुरुमा घरसमाजले मति बिग्रियो, व्यवहार बिग्रियो भन्छन्। परिवार तथा समाजले यस्तो व्यवहार गरे उनीहरू सजिलै निको हुन सक्दैनन्।

यो सुरुमै कसरी पहिचान गर्ने ?
– यी बिरामीमा सुरुका लक्षणका आधारमा रोग थाहा पाउन सकिन्छ। जस्तो कि एक्लै हाँस्ने, एक्लै बोल्ने, बर्वराउने, निद्रा गडबड हुनेजस्ता लक्षण देखिन्छ। यस्तो लक्षण देखिए उपचारमा लैजानुपर्छ।
ढिला गरी उपचारमा पुगे के हुन्छ ?
– औषधिले नछुन सक्छ। अर्कोतिर बिरामीको छिटो निको हुन सक्छ।

नेपालमा मानसिक रोग उपचारको अवस्था कस्तो छ ?
– जिल्लास्तरमा मानसिक रोगको उपचार पुगेको छैन। क्षेत्रीय अस्पताल र मेडिकल कलेजहरूले मानसिक रोगको सेवा दिइरहेका छन्। केन्द्रमा मानसिक रोग अस्पताल पाटन सक्रिय छ।

औषधि सेवनपछि पनि कतिपय बिरामी पुरै सामान्य अवस्थामा फर्किन सकेको देखिँदैन,किन होला ?
–    सबै रोगको पूर्ण उपचार नहुन सक्छ। तर धेरैजसो रोग नियन्त्रणमा आउँछन्।

नियन्त्रणका लागि कसको कस्तो भूमिका हुनुपर्छ ?
– मेडिकल उपचार गर्नुका साथै जीवनशैली बदल्नुपर्छ। समयमा व्यायाम गर्ने, तनाव घटाउने गर्नुपर्छ। यसका साथै सामाजिक, पारिवारिक सहयोग चाहिन्छ। जस्तो कि बेरोजगार छ भने रोजगार बनाउने कोसिस गर्नुपर्छ, परिवारका सदस्यले अनावश्यक तनाव दिनुहुँदैन, अर्थात् रचनात्मक अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ।

यो रोग लागेपछि वैवाहिक जीवन सामान्य हुन सक्छ कि सक्दैन ?
– अरू रोग लाग्यो भने उपचार गर्न अस्पताल लैजाने चलन छ, मानसिक रोग लाग्यो भने परिवार र समाजबाटै विभेदको सिकार हुनुपर्छ। साइकोसिस रोगको पनि उपचार गरेपछि सुधार आउँछ। उसलाई समाज र नेपालको कानुनले समेत विभेद गरेको छ। कार्यक्षेत्रको वातावरण सहज हुनुपर्छ र यी बिरामीले धूमपान–मद्यपान गर्नुहुँदैन। सुरुको अवस्थामा औषधि दिने र पछि गएर मनोसामाजिक परामर्श दिए सामान्य अवस्थामा फर्काउन सकिन्छ।

नेपाल तथा विश्वभर यो रोग किन बढेको हो ?
– आधुनिक जीवनशैलीका कारण मानिसमा महत्वाकांक्षा वृद्धि हुनु र सोचेको कुरा नपुग्नु, लागूपदार्थको दुव्र्यसनीजस्ता कुराले पनि यो रोग बढेको देखिन्छ। जीवनशैलीमा आएको परिवर्तन, पारिवारिक वातावरण, बेरोजगारी, पारिवारिक झगडा, विखण्डनजस्ता पक्षले पनि यो रोगलाई बढाएको छ।

यी रोगका बिरामीलाई परिवारको भूमिका कस्तो हुनुपर्छ ?
– बिरामीको क्षमताअनुसारको काम, परिवारको मायाममता, सफाइमा सहयोग गर्ने, गृहकलहको अन्त्य गर्ने, व्यक्तिलाई सक्रिय बनाउने, मद्यपान–धूमपानबाट टाढा राख्ने गर्नुप-यो।

वंशाणुगत रूपमा भए पनि साइकोसिस रोग बढी हुने हो ?
–    वंशाणुगत रूपमा यो रोग भएकालाई सामान्य व्यक्तिको तुलनामा बढी हुन्छ। तर यसलाई बढाउने कारक तत्व अरू पनि हुन्छ। हाम्रो शरीरको प्रतिरक्षा शक्ति बलियो छ, पोषणको अवस्था राम्रो छ भने सजिलै यो रोग लाग्दैन।

पहिल्यै केही मनोसमस्या छ, त्यसमा तनावको भूमिका कस्तो रहन्छ ?
– ठूलो तनावका कारण ६० देखि ७० प्रतिशत एटिपिडी रोग लाग्छ। एक बिरामी ठूलो चुनाव जितेपछि एटिपिडी भएर आएका आउनुभएको थियो। तर यो रोग अरू कारणले पनि हुन्छ। तनावको ठूलो भूमिका हुन्छ।

साइकोसिसका बिरामी महिला बढी कि पुरुष बढी ?
– दुवै बराबर छन्।

कुन उमेर समूहमा यो रोग देखिन्छ ?
– बढी उत्पादनशील उमेरमै यो रोग देखिन्छ। विशेषगरी १६ वर्षदेखि माथि ४५ वर्षभित्रकामा यो रोग बढी देखिन्छ। यो सिर्जनशील भएर भविष्य बनाउने उमेर हो।

यो रोग बढ्न नदिन नीति निर्माता सरकारको के भूमिका हुन सक्छ ?
– यो रोगको व्यवस्थापनको मुख्य जिम्मेवार सरकार नै हो। बेरोजगारी, लागूपदार्थ नियन्त्रण, चोरी डकैटी नियन्त्रण गर्ने र मनोरोगबारे जनचेतना जगाउनेजस्ता गतिविधि र रोगको उपचारमा नीति निर्माणमा सरकारको सक्रिय भूमिका हुनुपर्छ।

प्रकाशित: १६ चैत्र २०७५ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App