८ वैशाख २०८१ शनिबार
समाज

साढे छ सय किलो लागुऔषधसहित सुकमाया पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बरामद गरेको गाँजा र चरेस । तस्बिर : नागरिक

धादिङ - प्रहरीले गाँजा र चरेस गरी ६ सय ४३ किलो लागुऔषधसहित गजुरी गाउँपालिका–७ पेटारबाट सुकमाया तामाङलाई पक्राउ गरेको छ। चरेस बनाउन तयारी अवस्थामा राखिएको धुलो गाँजा र तयार पारिएको चरेससहित तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो।

चरेस बनाउने कारखाना नै सञ्चालनमा भइरहेको सुराकीपछि गजुरी–७ पेटारका सुकमानको घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुंगेलले बताए। पक्राउ परेकी सुकमाया चरेस कारखाना सञ्चालक सुकमान तामाङकी श्रीमती हुन्।

   चरेस बनाउने कारखाना नै सञ्चालनमा भइरहेको सुराकीपछि गजुरी–७ पेटारका सुकमान तामाङको घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद भएको हो।

तामाङको घर, भैंसी गोठ र आँगनबाट तयारी अवस्थाको चरेस एक सय १० केजी तथा चरेस बनाउन प्रयोग गरिने धुलो गाँजा पाँच सय ३३ केजी बरामद भएको थियो। पक्राउ परेकी सुकमायालाई जिल्ला अदालत धादिङबाट म्याद थप गराई अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

सुकमानले बनाएको चरेस भारततर्फ निकासी हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जानकारी दिएको छ। सुकमान तामाङ भने घरमा नभेटिएको र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी बिष्टले बताए। धादिङ प्रहरीले यो आर्थिक वर्षमा राजमार्ग क्षेत्रबाट पटक–पटक ठूलो परिणाममा चरेस र गाँजा बरामद गर्दै आइरहेको छ।

प्रकाशित: १६ चैत्र २०७५ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App