८ वैशाख २०८१ शनिबार
समाज

घुस लिँदालिँदै वन प्रमुखसहित तीन पक्राउ

बारा – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख शिवशंकर ठाकुरसहित तीन जनालाई घुस रकमसहित शुक्रबार पक्राउ गरेको छ। अख्तियारबाट खटेका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन प्रमुख ठाकुरसहित सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेका अनुसार वन कार्यालयले कबाडी ठेक्काको टेन्डर स्वीकृत गर्न घुस मागेको सूचना आएपछि अख्तियारले निगरानी बढाइएको थियो। निगरानी बढाइएको अवस्थामा ठेक्का स्वीकृत गर्न प्रमुख ठाकुर र सहायक वन अधिकृत केशरीले कार्यालय सहयोगी अधिकारीमार्फत लिएको घुस रकमसहित पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये केसरीको साथबाट नगद २५ हजार र प्रमुख ठाकुरलाई बुझाउने क्रममा अधिकारीको साथबाट ९० हजार रूपैयाँ नगदसहित कार्यालयबाटै पक्राउ गरिएको हो। पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि आयोगको टंगालस्थित कार्यालयमा पठाइने पाण्डेले बताइन्।

 

प्रकाशित: १६ चैत्र २०७५ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App