८ वैशाख २०८१ शनिबार
अन्य

‘प्रतिवद्धताको जग हाल्ने काम भइरहेको छ’

विजय तामाङ, वडाध्यक्ष बूढानीलकण्ठ नगरपालिका–५

तपाईं जनप्रतिनिधि भएर आएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले जनप्रतिनिधिसँग जनताको धेरै चाहना र अपेक्षा रहेका छन्। स्थानीय तहको निर्वाचन ताका जनतामाझ गरेका प्रतिबद्धताहरुलाई योजनाको रुपमा मूर्तरुप दिँदै डिपीआर बनाउनेलगायतका काम धमाधम भइरहेका छन्। जनप्रतिनिधि भएर आएसँगै वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका छौं। जसबाट वडाबासी प्रथामिक स्वास्थ्यसेवाबाट लाभान्वित भइरहेका छन्। भौगोलिक हिसाबले नगरका अन्य वडाभन्दा तीन गुणा ठूलो छ। तर, पूर्वाधारको हिसाबले धेरै काम गर्न अप्ठेरो छ। त्यसैले  सडक, खानेपानी, ढल, स्वास्थ्य, शिक्षालगायतका योजनालाई प्रथामिकतामा राखेर काम अघि बढाएका छौं। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि दुई लाख रुपैयाँको छात्रवृत्तिको  प्रदान गरेका छौं। आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउने विद्यार्थीको लागि ठूलो राहतको काम गरेको छ।
जनप्रतिनिधी भएपछि पूर्वाधार निर्माणतर्फ के के काम गर्नुभयो?
हामी आएसँगै डाडाँगाउँ ग्रीन भ्याली रिर्साेटदेखी गुम्बाछेउसम्म जाने डेढ किलोमिटर सडक निर्माणको लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं। उक्त सडकमा पहिलो चरणमा ड्रेन तथा रिटेनिङ वाल निर्माण गर्ने योजना छ। कम्फर्ट हाउजिङ–बूढानीकलकण्ठ स्कुलदेखि पासीकोट जाने सडक खण्ड ढलान गर्ने काम सम्पन्न भयो। नार्काेनानदेखि भित्रीवस्ती जाने सडक पनि ढलान ग-यौं । दुई वर्षको अवधिमा वडाको विभिन्न स्थानमा साढे दुई किलोमिटर सडक ढलान तथा कालोपत्रे ग-यौं। वडा कार्यालयले नयाँ ट्रयाक खोल्ने कामलाई पनि तीव्र गतिमा अघि बढाइरहेको छ। डाँडागाउँको बीच वस्तीमा करिब डेढ किलोमिटर नयाँ सडकको लागि ट्रयाक खोलेका हौं। त्यस्तै गरी दुलालगाउँको छेवैमा पनि सात मिटर लम्बाईको नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ।
तपाईंको वडामा खानेपानीको समस्या कस्तो छ?
वडाको अधिकांश स्थानमा खानेपानीको समस्या छैन। तर, ठकुरीटोल, टुसाल, सिस्नेगाउँ फाँट एरियालगायतका स्थानमा सुक्खायाममा खानेपानीको समस्या देखिएको छ। हामी निर्वाचित भएर आएसँगै दुलालगाउँ, डाँडागाउँलगायतका स्थानमा खानेपानी पर्याप्त मात्रामा आपूर्ति गरेका छौं। ती एरियामा बिहान र बेलुका गरेर तीन घण्टा खानेपानी उपलब्ध गराउँदै आइरहेका छौं। जसका कारणले वडाबासीको घरघरमा पर्याप्त मात्रामा खानेपानी वितरण भएको छ। अबको तीन वर्षभित्रै वडाका सम्पूर्ण टोलमा पर्याप्त खानेपानी उपलब्ध गराउने योजनासहित काम गरिरहेका छौं।
तपाईंको वडामा सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा करिब ४०–५० रोपनी सार्वजनिक जग्गा छन्। लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुनुको फाइदा उठाउँदै केही भूमाफियाले सार्वजनिक जग्गा अतिक्रमण गरेका छन्। ती मध्ये सार्वजनिक जग्गासँगै जोडिएका केही  निजी क्षेत्रका सर्वसाधारणले सार्वजनिक जग्गा भोगचलान गर्दै आइरहेका छन्। वडा कार्यालयले अतिक्रमणमा परेको सार्वजनिक जग्गाको अहिलेसम्म यकिन गर्न सकेका छैनौं। त्यसैले अब सार्वजनिक जग्गा छुट्याएर संरक्षण गर्नेतर्फ ध्यान केन्द्रीत गर्नेछौं। तपाईंको वडा हुँदै बग्ने विष्णुमति प्रदूषण भइरहेको छ, संरक्षण गर्ने कस्तो योजना अघि सार्नुभएको छ?
विष्णुमति नदीको मुहान मेरै वडामा पर्छ। विष्णुमति नदी पछिल्लो समय अतिक्रमण र प्रदूषण हुने क्रम ह्वातै बढेको छ। विष्णुमति नदीको घरबाट निस्कने फोहोरमैलाको ढल सोझै मिसाउँदा नदी दिनप्रतिदिन दुर्गन्धित भइरहेको छ। चिसने युवा क्लवले विष्णुमति नदीमा पाँचहप्तादेखि नियमित सरसफाई कार्यक्रम गर्दै आइरहेको छ। त्यसैले वडा कार्यालयले घरघरमा अनिवार्य रुपमा सेफ्टी ट्यांकी निर्माण गर्न निर्देशन दिएका छौं। अब केही समयभित्रै विष्णुमति नदी सरसफाई कार्यक्रमलाई अघि बढाउनेछौं।
नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
गत आबको नगरपरिषद्बाट वडाको लागि दुई करोड  रूपैयाँको बजेट विनियोजित भएको थियो। उक्त बजेटबाट ३५ वटा योजना अघि सारेका थियौं। जसमध्ये २ वटा खानेपानीका योजना विवादित भएकाले सम्पन्न हुन सकेनन्। नगरपरिषद्बाट आएको बजेटबाट खानेपानी, बाटो, सडक बत्ती, ढल निकास, लक्षित समुदायका लागि कार्यक्रम अगाडी बढाएका थियौं। चालू आबमा दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट लगभग  ४६ वटा योजना अघि सारेका छौं। जुन  योजना धमाधम काम भइरहेका छन्। संघीय सरकारबाट ५० लाख र प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ती बजेटलाई जनताको आवश्यकताअनुसार योजना छनोट गरेर काम गरेका छौं।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
जनप्रतिनिधि भएर आउनुअघि वडाको नागरिक मञ्चको अध्यक्ष थिए। त्यो बेला पनि जनताकै घरदैलोमा पुगेर जनताको सेवा गर्थे। अहिले पनि जनताको जीवनस्तर कसरी सुधार्नेतर्फ केन्द्रित हुँदै आइरहेका छौं । मेरो वडा ७० प्रतिशत ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले ग्रामीणस्थानका जनताको अवस्था सुधार्नेतर्फ ध्यान दिँदै आइरहेका छौं। आर्थिक रुपले विभिन्न र भौगोलिक रुपले पिछडिएको वडामा पर्छ। त्यसैले पर्यटकको विकास गरेर वडाबासीको जीवनस्तर उकास्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौं। डाडाँगाउँमा होमस्टे सञ्चालन गरेर जनताको जीवनयापनलाई परिवर्तन गर्न खोजेका छौं। वडामा विष्णुमतिद्वार, बाघद्वार, झरना, वालेश्वर मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिक सम्पदा रहेका छन्। डाँडागाउँबाट सूर्यादय पनि देखिने गर्छ। त्यसैले वडामा पर्यटकीय नगरी बनाएर विदेशी तथा स्वदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित काम गरिरहेका छौं।

प्रकाशित: १५ चैत्र २०७५ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App