८ वैशाख २०८१ शनिबार
अन्य

मासुको नेवारी परिकार

नेवारी भोजमा मासुको विशेष महत्व छ, त्यसमा पनि राँगाको मासु। प्रायः नेवारको भोजमा चिउरा, भटमास, अण्डा, गेडागुडी, अचार, दही हुन्छन्। तर ती सबै हुँदाहुदै पनि बिनामासु नेवारको भोज पूरा हुँदैन। नेवारी भोजमा राँगाका धेरै थरीका मासु छन्। नेवार समुुदायमा जुनै पनि बेला नभई नहुने मासु रागाँको मासु हो। अरु कुखुरा, खसी, बोकाको मासु भनेको समय र पर्वअनुसार खाने चलन छ।

नेवारहरुले खाने रागाँको मासुको परिकार भक्तपुरको अधिकांश पसलमा पाइन्छ। यहाँका धेरै खाजा पसलमा राँगाका थरिथरिका मासुका परिकारहरु पाइन्छ। यहाँका पसलहरुमा बरु कुखुरा, खसीका मासुहरु पाइँदैन तर राँगाको मासुहरु भने झण्डै पसल पसलमा पाइन्छ। सबैले खाने भएकाले पनि सायद त्यसो भएकाले होला। भक्तपुर दरबार स्क्वायरको पश्चिमतिरको ढोकाबाहिर रहेको कुटुम्ब खाजामा पनि नेवारी भोजमा खाने रागाँको सबै प्रकारका मासुको परिकार पाइन्छ। यहाँ धुम्न आन्तरिक तथा बाह्य पर्यटक दुवै खालका ग्राहक त्यहाँ आउने गरेको पसले कृष्ण सुवाल बताउँछन्। उनीहरु धेरैले मिठो मानेर राँगोको मासु खाने उनले बताए।

कुटुम्ब खाजा घरमा टिपिकल नेवारी खाजा बनाउने गरेको सुवालले सुनाए। यस पसलमा रागाँको मासुबाट बन्ने सबै किसिमको परिकार बनाउने गरेको उनले जनाए। उनले भने, ‘रागाँको मासुको छोयला, काचिला, द्याकाला (झोल भएको रागाको मासु), तकोला (रागाँको ठूलो ठूलो पिस बनाएर पकाएको मासु), भुटन, ससेज र सेकुवा बनाउने गरेका छौं।’ धेरैजसो शनिबारका दिन भीड हुने सुवाल सुनाउछन्। शनिबारको दिन त हात त एकछिनको लागि पनि चुप लाग्न नपाउने उनी बताउँछन्। उनले यो पसल श्रीमती र आपूm दुई जना मिलाएर चलाइराखेको बताए। नेवारी परिकार र रागाँको मासु मनपराउनेले कुटुम्ब खाजा घर छिरे भयो। अरु पसलहरु भन्दा सस्तो, हाइजेनिक भएको दिनेश बताउँछन्।

यहाँ मासुको परिकारबाहेक नेवारी खाजा सेट, समेबजी, कुखुराको लेक पिस, ससेज, बारा, चटामरी र योमरी इत्यादी नेवारी परिकार पाइन्छ।

केही प्रचलित मासुका परिकार
छोयला

कुटुम्ब खाजा पसलका कृष्ण सुवालले पसलमा अधिकांश ग्राहकहरु उपत्यकाबाहिरबाट आउने गरेको सुनाए। साथै पसलमा छिर्ने बित्तिकै ग्राहकहरु छोयला छ भनी सोध्ने गर्दछन्। उनले भने, ‘धेरै जस्तो घुम्न आउने ग्राहकहरु नै छोयला खान आउने गर्दछन्।’ साथै धेरै मनपराउने मासुको परिकारमा छोयला नै रहेको उनको भनाइ छ। राँगाको मासुलाई आगोले सेकेर टुक्राटुक्रा गरी बनाएको मासुलाई स्थानीय नेवारी भाषामा छोयला भनिन्छ। जसको नेपाली अर्थ सेकेको मासु हो।
‘मलाई घुम्न एकदम मनपर्छ। साथै नयाँ ठाउँको नयाँ परिकारहरुको स्वाद चाख्ने इच्छा हुन्छ,’ कुुटुम्ब खाजा घरमा आएकी अमिता महर्जनले भनिन्। ‘पहिलो पटक भक्तपुर आउँदा एक जना साथीलाई मलाई यो पसलमा ल्याएको थियो। त्यसपछि भक्तपुर आउँदा यहाँ नछिरीकन नर्फकिने गरेका छौं,’ उनी बताउँछिन्।  उनले साथीहरुसँग आउदा पनि यहाँ नै आउने गरेको सुनाए। उनी थप्छिन्, ‘यो पसल नछिर्ने कमै होला जस्तो लाग्छ। किनकी जहिले आउदा पनि यो पसल प्याक हुन्छ। कहिले काही बस्ने ठाउँ नै नभएर बाहिर कुरिराख्नुपर्ने हुन्छ। मासुको परिकार मनपराउनेका लागि यो सबैभन्दा बेस्ट ठाउँ हो।’ यहाँ केटीहरुको लागि पनि उपयुक्त ठाउँ भएको उनी बताउँछिन्। यहाँ अरु मान्छेहरु आइराख्ने जाने हँुदैन। एउटा कोठामा साथीहरुसँग गएर कुराकानी गरी आन्नदले बस्न पाइन्छ।

सेकुवा
तेलमा भुटेर बनाएको मासुलार्ई सेकुवा भनिन्छ। सेकुवा जहाँ पनि पाइन्छ, होटल पसल रेष्टुरेन्टमा। तर कुटुम्बको खाजाको स्वाद नै भिन्नै छ। दिनेश श्रेष्ठलाई यहाँको खाजाको परिकारमा सबैभन्दा मनपर्ने मासुको डिस सेकुवा हो। त्यसपछि छोयला, कचिला खाने गरेको उनले बताए।

भुटन
कुटुम्बमा अर्को ग्राहकहरुले मनपराएको डिस भनेको भुटन हो। यहाँ भुटनको चिउरा खान आउने धेरै रहेको सुवाल बताउँछन्। उनले कोही कोही स्थानीयबासीहरु नै भुटन चिउरा खान आउने जनाए। उनले बाहिरबाट घुम्न आउने ग्राहकहरु एकचोटी आएपछि निरन्तर आइराख्ने गरेको उनले बताए। उनले कुटुम्बमा समय समयमा ग्रुप साथीहरु आउने सुनाउँछन्। १० देखि २५ जना सम्मको गु्रपलाई ठाउँ उपयुक्त भएकाले यहाँ आउने गरेका हुन् कि भन्छन्।

र अन्तमा
पहिलो पल्ट भक्तपुर दरबार स्क्वायर घुम्न आउँदा म भोकै फर्केको छु, काठमाडौंका दिनेश श्रेष्ठ बताउँछन्। करिब १५ वर्ष अगाडि यहाँ यति धेरै पसलहरु नभएको उनले स्मरण गरे। उनले भने, ‘पहिला केही केही पसल मात्र थिए। अहिले जस्तो रेस्टुरेन्ट, कफी सफ, खाजा घरहरु कम नै थिए।’ खुसी हुर्दै अहिले भने कुटुम्ब खाजा घर थाहा भएपछि भक्तपुर घुम्न आउँदा यही खाजा खान आउने उनले सुनाए। यहाँको खाजा खाएपछि अरु ठाउँको मिठो नलागेको उनी सुझाउँछन्।

भक्तपुरकै प्रवीण तुइतुई भन्छन्, ‘हामी साथीहरु मिलेर एउट ढुकुटी खेलेका छौं। त्यसको ग्यादरिङ्ग जहिले पनि कुटुम्ब खाजा घरमा गर्ने गरेका छौं।’ उनले भने, ‘हामीले यहाँबाहेक अरु ठाउँमा पनि गयौं। यहाँ कहिले काहीँ यो पसल नखोल्ने बेलामा तर यहाँको जस्तो आन्नद तथा स्वादिलो मासुको परिकार हामीले कहीँ पनि पाएनौं।’ उनले यहाँ अरु ठाउँमा जस्तो मान्छेहरु आएर डिस्ट्रब पनि नहुने सुनाए। कोठाहरु पार्टेसन गरिएका छन्। साथै यहाँ खाजा खान आउँदा आफ्नौ घरमा बसिराखेको महसुस हुने उनी सुनाउँछिन्। किनकी यो पहिलाको पुरानो घर हो। भक्तपुरका प्रवीण भन्छन्, ‘भक्तपुर घुम्न आउने बेलामा यो पसल एकचोटी छिर्नुस् पछि त नजाने भन्दै भन्नुहुन्न।’

प्रकाशित: १५ चैत्र २०७५ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App