coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

नयाँ वर्षदेखि स्मार्ट पार्किङ

नेपाली नयाँ वर्षदेखी काठमाडौंको नयाँ सडक आसपासमा ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरुवात गरिने भएको छ। काठमाडौं महानगरपालिकाले ब्हिल्स ट्रुली योर्स प्रालीको सहकार्यमा स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागेको हो। सवारीको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो समयदेखि प्रविधिमा आधारित समाधान हेरिरहेको महानगरले उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजना अघि बढाएको हो।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य स्मार्ट पार्किङले ट्राफिक व्यवस्थापनमा सहज हुने बताउँछन्। ‘काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा ध्यान दिँदै आइरहेको छु,’ उनले भने, ‘उपत्यकाको पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ।’ २०७६ सालको वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाइको पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबि कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरु हुनेछ। यी स्थानमा एकपटकमा करिब आठ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ। प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले ५ वटै स्थानमा  स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट पार्किङ सेवा सञ्चालनमा ल्याउने बताए।

‘नयाँ सडक जानुअघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन्,’ उनले भने, ‘ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्। त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन्। उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन्।’ उनका अनुसार ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ, चार पाङग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २०० रुपैयाँ शुल्क लाग्नेछ। यसरी संकलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजस्व बुझाउनेछन्।

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ। न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र क्षेत्र नं. २ मा पर्छन्। त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट विष्णुमती लिङ्क रोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो। 

काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्तावहरु आएका छन्। यीमध्ये अहिले प्रयोगमा ल्याउन लागिएको प्रणालीमा सेन्सरमा आधारित छ। यसमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ। रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ। यसका एप्लिकेसनहरु एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिन्छ। 

काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत मात्र सडकमा गुड्छन्। बाँकी समय पार्किङ गरिएका हुन्छन्। त्यसैले पार्किङको समस्या बढेको हो। पहिले एक परिवारमा एउटा मात्र सवारी साधन हुन्थ्यो। अब हरेक परिवारका लागि एक एक वटा सवारी चाहिने बेला भइसक्यो। यसबेला परम्परागत रुपमा गरिने पार्किङले मात्र समस्याको समाधान निकाल्न सक्दैन। यसका लागि प्रविधिमा आधारित व्यवस्था नगरी सुखै छैन।
 

प्रकाशित: १५ चैत्र २०७५ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App