coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हातमा लगाएको औंठीमा चुम्बन गर्न नदिँदा धर्मगुरू पोप फ्रान्सिस विवादित

भ्याटिकन सिटी– क्याथोलिक धर्मगुरू पोप फ्रान्सिसले एक अनुयायीलाई आफ्नो हातमा रहेको औंठीलाई चुम्बन गर्न नदिएको विषय यतिबेला विवादित बनेको छ।

इटालीको एउटा सहरमा पोपलाई अभिवादन गर्न आएकामध्ये एकलाई उनले आफूले लगाएको औंठीमा चुम्बन गर्न नदिएको विषय विवादित बनेको छ।

विशेषगरी पोपको यस्तो कदम सामाजिक सञ्जालमा ताजा कुराकानीको विषय बनेको छ। पोपको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा आफ्ना विचार पोख्ने क्रम जारी रहेको छ।

पोपलाई कसरी अभिवादन गर्ने भनेर शताब्दीदेखि विवाद रहँदै आएको छ। शताब्दीदेखि क्याथोलिक परम्पराअनुसार पोपलाई अभिवादन गर्दा उनको गोडालाई चुम्बन गर्ने परम्परा रहेको थियो।

यद्यपि अहिले भने कैयौं अनुयायीले उनीसामू शीर झुकाएर उनले हातमा लगाएको औंठीमा चुम्बन गर्न इच्छा राख्छन्। वर्तमान पोपलाई चर्चको नीति र परम्परालाई तोड्दै गएको आरोप लगाउने रुढीवादी क्याथोलिकले उनले औंठीमा चुम्बन गर्न दिने परम्परा तोड्दै गएको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन्।

उनीहरुले सोमबार इटालीको लोरेटो भन्ने सहरमा लिइएको एउटा भिडियोप्रति इंगित गर्दै यस्तो अवधारणा राखेको बिबिसीले उल्लेख गरेको छ। सो भिडियोमा एक क्याथोलिकले धर्मगुरू पोपको हातमा लगाएको औंठी चुम्बन गर्न खोज्दा उनले हात झिकेको देखिएको छ।

सार्वजनिक भएको सो भिडियो धर्मगुरू पोपले गरेको विभिन्न गतिविधिको छोटो भाग भएको बिबिसीले उल्लेख गरेको छ।भ्याटिकन टेलिभिजनबाट प्रसारित भएको आधिकारिक फुटेजमा भने पोप फ्रान्सिसले करिब १३ मिनेटसम्म करिब ११३ जना भिक्षु, आनी र अनुयायीलाई व्यक्तिगत वा समूहमा अभिवादन गरेका थिए।

सो समयमा कोही कसैले पखिन पोपसँग कसरी अभिवादन गर्ने भनेर नसिकाएको बिबिसीले उल्लेख गरेको छ। सुरुको १० मिनेटमा १४ व्यक्तिले फ्रान्सिससामु नझुकिकनै उनीसँग हात मिलाएको र उनको हातमा लगाइएको औंठीमा चुम्बन गरेको बिबिसीले उल्लेख गरेको छ।

योबीचमा ४१ जनाले फ्रान्सिसको हात अगाडि शीर निहुराएर सांकेतिक रूपमा वा साँच्चिकै उनको औंठीमा चुम्बन गरेका थिए। यी अनुयायीले यस्तो गर्दै गर्दा उनले कुनै वास्ता गरेका थिएनन्। त्यसपछि पनि नौ जना अनुयायी पोप नजिक पुगेर अभिवादन गरेका थिए। उनीहरुले पोपको औंठी चुम्बन गरेका थिए। तीमध्ये एकले त उनीसँग अंकमाल नै गरेका थिए। यो प्रक्रिया लिरहेकै थियो, तर १० मिनेटपछि पोपको व्यवहारमा एकाएक परिवर्तन आयो। अभिवादनका लागि बसेका मानिसको लाइन छिटोछिटो अघि बढ्न थाल्यो।

सार्वजनिक रूपमै पोपले अनुयायीसँग हात मिलाउन नमानेको वा चुम्बन गर्न नदिएको भन्ने विवरण बाहिरिए पनि उनले भने कुनै प्रतिक्रिया दिएका छैनन्। 

अन्तिम ५३ सेकेन्डमा उनले १९ जनाको अभिवादन स्वीकार गरे। यस अवधिमा उनले अनुयायीले शीर झुकाउन खोजेको र उनको औंठीमा चुम्बन गर्न खोज्दा छिटोछिटो आफ्नो हात झिकेका थिए। पोपले हात झिकिदिँदा अन्तिममा एक अभागी मानिसले भने आफ्नै हातमा चुम्बन गर्दै पोपसँगको अभिवादन कार्यक्रम सकिएको थियो। यही खण्ड नै अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

कतिपयले लाइनमा बसेका सबैलाई पोपले भेट्न चाहेकाले उनले छिटोछिटो हात मिलाएको हुनसक्ने बताएका छन्। तर कतिपय आलोचकले भने पोप फ्रान्सिसले आफूले लगाएको औंठी कसैले चुम्बन नगरोस् भनेर चाहेको बताएका छन्।

पोपले ‘पापल’ औंठी आफ्नो हातको साहिंली औंलामा लगाउने गरेका छन्। जुन शक्तिशाली प्रशासनको एउटा संकेत भएको बताइन्छ।

जब पोपको मृत्यु हुन्छ उनले लगाएको औंठी तत्काल नष्ट गर्ने गरिन्छ। औंठी नष्ट गर्नुको अर्थ उनको शासन अन्त्य भएको भन्ने बुझिन्छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App