८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बंगलादेशमा आगलागी, कम्तीमा सातको मृत्यु

बंगलादेशको राजधानी ढाकास्थित एक व्यापारिक क्षेत्रमा रहेको एउटा भवनमा लागेको आगलागी । तस्बिर: एजेन्सी

ढाका – बंगलादेशको राजधानी ढाकास्थित एक व्यापारिक क्षेत्रमा रहेको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

आगलागीमा परी २० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ। 

राजधानी ढाकाको बनानीमा रहेको १९ तल्ले सो भवनको एउटा कार्यालयबाट सुरु भएको भनिएको आगलागीमा कैयौं मानिस फसेको अनुमान गरिएको छ। 

आगलागी सुरु भएलगत्तै सो भवनका झ्यालहरुबाट मानिस सहयोगको याचना गर्दै कराइरहेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही मानिस ज्यान जोगाउनका लागि सो भवनको झ्यालबाट हामसेमत फालेका थिए। 

यसै महिनाको सुरुवातमा ढाकाको पुरानो बस्तीतिर भएको एउटा विध्वंसकारी आगलागीमा परी कम्तीमा ७८ जनाको मृत्यु भएको थियो भने दर्जनबढी घाइते भएका थिए। आगलागी भएलगत्तै अग्निनियन्त्रक समूहसहित बंगलादेशी जलसेना र हवाई फौज सो भवनमा उद्दारका लागि पुगेका थिए। आगलागीलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले  जनाएको छ। 

‘आगलागी भएको क्षेत्रमा बिहीबार साँझसम्म १९ जना अग्निनियन्त्रकले काम गरेका छन्। आगो नियन्त्रणका लागि बंगलादेशी जलसेना र हवाई फौजको पनि सहभागिता थियो,’ ढाकास्ति केन्द्रीय अग्नि नियन्त्रण सेवाका एक जना अधिकारी मोहम्मद रुसेललाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 

आगलागी भएको क्षेत्रमा फसेका मानिसलाई उद्दार गर्न वायु सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। हेलिकप्टरले दनदनी बलिरहेको भवनको आगोलाई नियन्त्रणका लागि पानी पनि छर्किएको थियो। आगलागीले भवन जलिरहेको बेला आत्तिएका आफन्तहरु सो भवन बाहिर बेला भएर कराइरहेका थिए। 

दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आगलागीका घटना प्रायः भइरहन्छन्। सुरक्षा नीति नियम तथा भवनका कमजोर अवस्थाका कारण आगलागी हुने गरेको बताइन्छ। पछिल्ला वर्ष आगलागीमा परेर मात्रै बंगलादेशमा सयौंको ज्यान गइसकेको छ  भने हजारौं अंगभंग भएका छन्। 

गत महिना तटीय सहर चितगोङस्थित एउटा सुकुमबासी बस्तीमा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको थियो। बंगलादेशको राजधानी ढाकास्थित एउटा भवनमा बिहीबार लागेको आगलागीका कारण २० जनाभन्दा बढी घाइते भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ। 

एक करोड ८० लाखभन्दा बढी जनसंख्या रहेको ढाका विश्वको अति धेरै जनसंख्या भएका सहरमध्येको एक हो। ढाकामा करिब ३५ लाख मानिस सुकुमबासी क्षेत्रमा बस्ने गरेको विश्व बैंकको तथ्यांक उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App