८ वैशाख २०८१ शनिबार
समाज

दुई सातामा राजधानीमा ९ जनाको मृत्यु

काठमाडौं- यसपटकको दसैंमा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ। घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिनमा सवारी दुर्घटनामा नौजनाको ज्यान गएको छ। गत वर्ष दसैं अवधिमा उपत्यकामा सवारी दुर्घटनाबाट सातजनाको मृत्यु भएको थियो। त्यस्तै, दुई वर्ष अघिको दसैं अवधिमा दुईजनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु संख्यासँगै दुर्घटनाको संख्या पनि यो वर्ष बढी भएको छ। अघिल्लो वर्ष दसैं अवधिमा  एक सय ८ दुर्घटना भएका थिए भने यो वर्ष एक सय ६४ दुर्घटना भए।

दुर्घटनाको संख्या बढेसँगै यो वर्ष घाइते हुनेको संख्या पनि बढेको छ। यो दसैंमा सवारी दुर्घटनाबाट एक सयभन्दा बढी घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अघिल्लो दसैंमा ७८ जना घाइते भएका थिए।

घटस्थापनाको दिन रविभवनमा एक, १७ गते डल्लु रामघाट सडकखण्डमा एक, २० गते भक्तपुर लोकन्थलीमा एक, २१ गते कलंकी र महाराजगन्जमा गरी दुई, फूलपातीको दिन थानकोटमा दुई, २६ गते बालकुमारीमा एक र २७ गते लोकन्थलीमा एक गरी नौजनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

यो दसैं अवधिमा नियमविपरीत सवारी चलाउने १७ हजार तीन सय २४ चालक कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेले लेन अनुशासन मिचेको, बढी भाडा असुलेको, मापसे गरेको, कागजपत्र नबोकेको लगायत नियम उल्लंघन गरेको महाशाखाले जनाएको छ।

महाशाखाको तथ्यांकअनुसार यो दसैं अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या पनि गत वर्षभन्दा बढेको छ। यसपालि एक हजार दुई सय ९१ चालक मापसे कारबाहीमा परेका छन्। टीकाको अघिल्लो दिन एक सय १७ चालक, टीकाको दिन मात्रै एक सय ४१ चालक मापसे कारबाहीमा परेको महाशाखाले जनाएको छ। गत वर्ष दसैं अवधिमा मापसे कारबाहीमा एक हजार दुई सय ५७ जना परेका थिए।

मापसे कारबाहीमा पर्नेमा भाडाका सवारीसाधन समेत रहेका छन्। यो वर्ष आठवटा भाडाका सवारी मापसे कारबाहीमा परेका छन्। गत वर्ष २० वटा परेका थिए। भाडाका सवारीसाधनलाई निजीलाई भन्दा बढी सजाय हुने गर्छ। भाडाका सवारी चालकलाई सार्वजनिक मुद्दा लगाइएको महाशाखाका प्रवक्ता लोकन्द्र मल्लले बताए। दसैं अवधिमा नागरिक सहायता कक्षमार्फत यात्रु ठग्ने सवारीसाधनलाई समेत कारबाही गरिएको उनले जनाए।

प्रकाशित: १ कार्तिक २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App