७ वैशाख २०८१ शुक्रबार
कला

देउमाइमा साहित्य उत्सव

काठमाडौ– इलामको देउमाइस्थित मंगलबारे बजारमा आगामी चैत २३ र २४ गते ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ। समाजका लागि युवा संस्थाले पहिलो पटक आयोजना गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीतिलगायतका विषयमा विमर्श हुने आयोजकले जनाएका छन्।

आयोजकका अनुसार कार्यक्रमको पहिलो दिन प्राडा अभि सुवेदीको प्रवचन, कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला सकस कति सुविधा’ विषयमा बहस, ‘थातथलो र परदेश’ विषयमा पत्रकार टीकाराम यात्रीले विश्लेषक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन्। सोहीदिन देउमाइ क्षेत्रका देउमाइ नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका प्रमुखसँग ‘देउमाई–२०९०’ विषयमा छलफल हुनेछ।

दोस्रो दिन ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पत्रकार बसन्त बस्नेतले बहस गर्दा ‘कविता कला कि नारा? कवितामा स्थानीय भाषाको प्रभाव’ विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलको अन्तरसंवाद हुनेछ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्रदीप गिरीले ‘२००७ साल पछिको नेपाल’ बारे एक घण्टा प्रवचन दिनेछन्। त्यस्तै, पत्रकार नारायण वाग्ले, अभिनेता दयाहाङ राई र मूर्तिकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउनेछन्। यसैगरी ‘देउमाइ किन घुम्ने’ विषयमा प्रदेश सांसद राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन्। महोत्सवमा प्रदेशका र भारत सिलिगुडीका कविहरूले कविता सुनाउनेछन्। नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहने महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाइ नगरपालिका सहयोगी संस्था हुनेछन्।

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App