काठमाडौं– शुक्रबारबाट दुई नेपाली फिल्म ‘शुभ लभ’ र ‘साइँली’ नेपालभर प्रदर्शनमा आउँदैछन्। सन्तोषबाबु लोहनीको निर्देशन रहेको फिल्म ‘शुभ लभ’मा युवा ज्योतिष हरिहर अधिकारी प्रमुख भूमिकामा छन्। हरिहरको यो ‘डेब्यू’ फिल्म हो।
फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा छन्। प्रेमकथा र कमेडी फ्लेभरमा बनेको फिल्ममा कृष्टिन पौडेल, डा. सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डेलगायतका कलाकारको पनि अभिनय छ। फिल्ममा प्रस्तुतकर्ता प्रदीपकुमार उदयको विशेष भूमिका छ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीपकुमार उदय प्रस्तुतकर्ता छन्। फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, हरिहरकै कथा, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व तथा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ।
गायक हेमन्त रानाले गाएको चर्चित गीत ‘साइँली’बाट नाम सापटी लिएर निर्माण गरिएको फिल्म ‘साइँली’मा रामबाबु गुरुङको लेखन र निर्देशन छ। फिल्मले बाबुको ऋण तिर्न वैदेशिक रोजगारीमा जान बाध्य एक युवाको कथा समेटिएको छ। फिल्ममा गौरव पहारी, मेनुका प्रधान, माओत्से गुरुङ, प्रकाश घिमिरे र अरुणा कार्कीलगायतको अभिनय छ।
गायक हेमन्त राना र अभिनेता गौरव पहारीको व्यानर जीएच इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्माता तथा मणिराम पोखरेल कार्यकारी निर्माता छन्।
प्रकाशित: १५ चैत्र २०७५ ०५:४९ शुक्रबार