काठमाडौं- अमेरिकी विशेष सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास आइतबारबाट नगरकोटमा सुरु भएको छ। अमेरिका र भियतनाम युद्धका समय स्थापना भएको बी कम्पनी फर्स्ट बटालियन, फर्स्ट स्पेसल फोर्सेज गु्रप एयरबोर्नका सैन्य अधिकारी र नेपाली सेनाको महावीर गण रेन्जर फोर्सका अधिकारी मंसिर ३ गतेसम्म संयुक्त अभ्यासमा संलग्न रहनेछन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ब्यालेन्स नेल १७–३०४५ नाम दिइएको संयुक्त सैन्य अभ्यास आतंकवादविरुद्ध कारबाहीसम्बन्धी सैन्य कुशलताका विषयमा केन्द्रित हुनेछ। साथै, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारजस्ता विषयमा आधारित तालिमका लागि असोज २७ गते अमेरिकी सैन्य टोली नेपाल आइसकेको छ।
निर्देशनालयले यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आएको जनाएको छ। संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभव आदान–प्रदान गर्न सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
प्रकाशित: १ कार्तिक २०७३ ०२:३९ सोमबार