coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप : उपाधिका लागि दाउफिन्स र आयोजक भिड्ने

दाउफिन्स फुटबल क्लबका खेलाडीलाई रोक्न खोज्दै रुस्लान थ्री स्टार क्लबका सुनील बल।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ र आयोजक मकवानपुर ११ भिड्ने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई दाउफिन्सले टाइब्रेकरमा पराजित गरेसँगै दाउफिन्स र मकवानपुरको भिडन्त पक्का भएको हो।

थ्री स्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले स्तब्ध पार्दै दाउफिन्सले उपाधिको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेको हो। हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो।

टाइब्रेकरमा दाउफिन्सका लागि एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे र यानिक ओआनाले थ्री स्टारका गोलरक्षक एलन न्यौपानेलाई छक्याउँदै गोल गर्न सफल भए। थ्री स्टारका लागि भने अनुभवी खेलाडी अनिल गुरुङले प्रहार गरेको बल पोस्टबाहिर गएपछि दुर्भाग्य बन्न पुग्यो। थ्री स्टारका रञ्जित धिमाल, मान्सा बेभोग्भी र विजय धिमालको बललाई भने दाउफिन्सका गोलरक्षक प्रिसो एम्जाम्बेले रोक्न सकेनन्।

‘दाउफिन्सका खेलाडीहरूले धेरै फाउल खेले। आफूहरूले समयमै रेफ्रीलाई सजग नगराएको भए धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था आउन सक्थ्यो।’

खेलको ६०औं मिनेटमा दाउफिन्सका यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर थ्री स्टारका हेटौंडेली खेलाडी रञ्जन विष्टले ७०औं मिनेटमा आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दाउफिन्सले थ्री स्टारलाई दबाबमा राखे पनि आधा दर्जन बढी अवसरलाई दाउफिन्सका खेलाडीले गोलमा परिणत गर्न सकेनन्। त्यस्तै, थ्री स्टारले पनि केही अवसर पाए पनि बललाई जाली चुमाउन सकेन। हारका बावजुद खेलको म्यान अफ दी म्याच थ्री स्टार क्लबका जीवन गुरुङ भए। उनले नगद दश हजार पाउन सफल भए।

खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। ‘दाउफिन्सका खेलाडीहरूले धेरै फाउल खेले,’ उनले भने, ‘आफूहरूले समयमै रेफ्रीलाई सजग नगराएको भए धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था आउन सक्थ्यो।’ थ्री स्टारका कप्तान एलन न्यौपानेले खेलमा राम्रै प्रदर्शन गरेपनि भाग्यले साथ नदिँदा खेलमा हार व्यहोर्नु परेको बताए।

दाउफिन्सका टिम व्यवस्थापक आशिक थापामगरले राम्रो अवसर पाए पनि खेलाडीले समयमै गोल नगर्दा समस्या परेको दाबी गरे। ‘रेफ्रीले समयमै निर्णय लिन नसक्दा खेलमा सामान्य तनावको अवस्था आयो,’ उनले भने, ‘फाइनलमा उपाधिका लागि हामी अझै सुधारिएर खेल्छाैं।’

प्रतियोगितामा घरेलु मकवानपुर, एक विदेशी र राष्ट्रियस्तरका चर्चित ‘ए’ डिभिजनसहित दश टोलीको सहभागिता छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ। 

प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, पदक र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाउनेछन्। 

प्रकाशित: १५ चैत्र २०७५ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App