७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिन्स र रसिलालाई उपाधि

काठमाडौं – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ को उपाधि उचालेका छन्। हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालय कभर्डहलमा भएका फाइनलमा प्रिन्सले एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले र रसिलाले मोरङकी सीमा राजवंशीलाई २१–१४, २१–१५ ले स्तब्ध बनाउँदै उपाधि उचालेका हुन्।

ब्वाइजतर्फ एपिएफका प्रियांशुसिंह क्षत्री र दिवस शंकरले तेस्रो स्थानमा चित्त बुझाए। गल्र्समा भने मोरङकी नीता लम्साल र आर्मीकी रञ्जना भट्ट तेस्रो भए। मिश्रित युगलमा एपिएफका दीपेश धामी र पूजा श्रेष्ठको जोडीले उपाधि उचालेका छन्। 

गत वर्षका विजेतासमेत रहेका धामी र श्रेष्ठको जोडीले फाइनलमा आफ्नै क्लबका विजित थापामगर र शोभा गौचनको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हरायो। ५५ वर्षमाथिको फाइनलमा ग्यालेक्सी ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडीले एपिएफका भरतकुमार श्रेष्ठ र सुरेश बमको जोडीलाई २१–१९ र २१–७ ले हरायो। 

धादिङका रमेश भट्टचन र विष्णुलाल श्रेष्ठ तथा एपिएफका चूडामणि उपाध्याय र जंगबहादुर चन्दको जोडी संयुक्त रूपमा तेस्रो भए। ४५ वर्षमाथिको फाइनलमा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले बाजी मारे। पराजुली र श्रेष्ठको जोडीले जेष्टकै मुन्ना केसी र प्रेम घलेको जोडीलाई २१–१३, २१–१४ ले पाखा लगाउँदै उपाधि उचाल्यो। 

सोही विधामा मण्डलाका हरि खत्री र लोकेश्वर बखती तथा धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडी तेस्रो स्थानमा रहे। ३५ वर्षमाथि एपिएफका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको जोडीले उपाधि उचाल्दा फाइनलमा आफ्नै विभागका राजु गौतम र लोकबहादुर थापाको जोडीलाई २१–८, २१–१२ ले सहज हराए। 

सोही विधामा एपिएफका कुशल बुढाथोकी र धीरेन्द्र चन्द तथा जीवेशकुमार पाण्डे र गणेशबहादुर मल्ल संयुक्त रूपमा तेस्रो भए। विजेतालाई बिहीबार सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण महत र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कृत गरे। 

पुरुष एकलतर्पm एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालबीच शुक्रबार उपाधि भिडन्त पक्का भएको छ। बिहीबार दीपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१२, २१–१५ ले तथा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१९, २१–११ ले हराउँदै उपाधि भिडन्त तय गरेका हुन्।

महिला एकलमा एपिएफका जेसिका गुरुङ र आर्मीका रसिला महर्जनले फाइनलको यात्रा तय गरेका छन्। सेमिफाइनलमा जेसिकाले आर्मीकी अमिता गिरीलाई २१–१३, २१–११ ले तथा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१५, २१–१२ ले पाखा लगाए। पुरुष युगलमा पनि एपिएफका दीपेश धामी उपाधि निकट पुगेका छन्। 

उनले विजित थापामगरसँग मिलेर पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २१–१८, २१–७ ले हराउँदै उपाधिका लागि आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीसँगको भेट पक्का गरे। 

महर्जन जोडीले भने एपिएफका सुदीप सेढार्इं र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१९ ले पाखा लगाएका थिए। कुल ७ लाख १० हजार पुरस्कार राशिको प्रतियोगितामा छात्र तथा छात्रातर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः २५, १५ र ५ हजार रुपैयाँ प्राप्त गरे। 

मिश्रित युगलका शीर्ष तीनका जोडीले नगद ४० हजार, २५ हजार र १० हजार, मास्टर ३५ वर्षमाथि, भेट्रान्स ४५ वर्षमाथि तथा ५५ वर्षमाथिका शीर्ष तीनले क्रमशः समान १० हजार, ८ हजार र ६ हजार नगद रुयैयाँ प्राप्त गरेका छन्। शुक्रबारको प्रतियोगिताको अन्तिम दिन महिला एकल, पुरुष एकल, पुरुष युगल र महिला युगलका फाइनल खेल हुनेछन्।

प्रकाशित: १५ चैत्र २०७५ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App