सुरुङ पल्लो छेउको उज्यालो

शुक्रबार, १५ चैत २०७५, ०८ : ४४ डा.सरोज धिताल

‘अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो’ भन्ने उक्ति सुन्न थालेको धेरै भयो। जहिले पनि यसको एउटै अर्थ लाग्यो– जतिसुकै लामो र अँध्यारो भए पनि सुरुङबाट निस्कन सम्भव हुन्छ तर त्यो आशा साँच्चै नै त्यतिबेला मात्र जाग्रत हुन्छ, जब सानो विन्दुका रूपमा पल्लो छेउमा उज्यालो देखिन्छ। तर सुरुङ बाङ्गोटिङ्गो रहेछ भने त नजिकै पुगिसक्दा पनि त्यो उज्यालोको थोप्लो नदेखिन पनि सक्ला। के हामी हिंँडिरहेको अँध्यारो सुरुङ पनि बाङ्गोटिङ्गो भएकै कारणमात्र हो त उज्यालो देख्न नसकेको? निकासचाहिँ अब नजिकै छ त? यसो भए त गज्जब हुनेथियो। कि यो अँध्यारो सुरुङ अति लामो भएर हो जति हिँडे पनि त्यो उज्यालोले दर्शन नदिएको? अझ डरलाग्दो चिन्ता त के भने कहीँ निकासै नभएको अँधेरो सुरुङभित्र त हिँड्दै छैनौँ हामी?

विदेशका विशाल मानवनिर्मित भौतिक सुरुङमा पस्दा ‘सुरुङको अर्को छेउको उज्यालो’को सोझो अर्थ लागेथ्यो होला पटकपटक। तर आफ्नै देशमा भने निराशाका सुरुङमा मात्र पस्नुपर्ने बाध्यताकै पुनरावृत्ति धेरै भोग्नुपरेको छ। यही दूरावस्थाको अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो छ कि त भन्ने आशा पनि धेरैचोटि नपलाएको हैन। ३६ साल, ४६ साल, ६२–६३ को आन्दोलन, गणतन्त्रको घोषणा, संविधान निर्माण, स्थायी हुन सक्ने सम्भावना भएको बहुमतको सरकार... यी सबैले त्यो पल्लो छेउको उज्यालोको आशा जगाएका हुन्। आँखालाई सकेसम्म ठूलो पारेर कुर्कुच्चा उचाल्दै त्यो उज्यालो कतै देखिइ पो हालिन्छ कि भनी जनता हेरेको हे-यै पनि छन्। तर अझै त्यो देखिएको छैन। त्यसको सट्टा जताजतैबाट भ्रष्टाचारीका फोहोरी अनुहार देखिन्छन्, राजनीतिक कुटिलता वा निरीहता देखिन्छ, परनिर्भरतामा चुर्लुम्म डुबेको देशको दुःखी अनुहार देखिन्छ, असमानता र असुरक्षाका कहालिलाग्दा रूप देखिन्छन्, धूलो, धुवाँ, सुकेका धारा र खाली गाग्री देखिन्छन्। तैपनि बाङ्गोटिङ्गो भएका कारणमात्र नजिकै आइसकेको निकास नदेखिएको होला, अब अर्को एउटा मोडपछि देखिइहाल्छ कि भन्ने आशामा अल्मलिन मन लाग्छ जनतालाई। बाँच्नका निम्ति एउटा गजबको काइदा हो आशा गरिरहनु पनि।

मृगतृष्णाका बीचमा फेरि एकचोटि लगानी सम्मेलन हुँदैछ भन्ने सुनिन्छ। उद्योगलाई प्रोत्साहित गर्ने नियम कानुन पनि बन्दैछन् रे भन्छन्। अब साँच्चै होला त केही? देखिएला त उज्यालो? थाहा छैन तर आशा बोकेरै पर्खेर हेर्नुमा केही हानि छैन।

जनताको यही मृगतृष्णाका बीचमा फेरि एकचोटि लगानी सम्मेलन हुँदैछ भन्ने सुनिन्छ। उद्योगलाई प्रोत्साहित गर्ने नियम कानुन पनि बन्दैछन् रे भन्छन्। अब साँच्चै होला त केही? देखिएला त उज्यालो? थाहा छैन तर आशा बोकेरै पर्खेर हेर्नुमा केही हानि छैन। विदेशी लगानी किन चाहिन्छ, के गर्दा त्यो आउँछ, आएछ भने त्यसलाई कसरी उपयोग गर्नुपर्छ भन्नेबारे यतिबेला घण्टा÷घण्टामा सरदर २–३ विज्ञका लेख प्रकाशित भइरहेका होलान्। हामी नबुझ्नेले जान्ने भएर धेरै टाउको दुःखाउनु आवश्यक छैन। तर सबभन्दा भरपर्दो उज्यालोको स्रोत भने विदेशीका लगानीका आशा नभएर जनताका अग्रपंक्तिमा रहेका असल मानिस नै हुन्। तिनमा रहेको सिर्जनात्मकता हो। यतिचाहिँ हामी सबैलाई थाहा छ। त्यो सिर्जनतात्मकता कला÷साहित्यमा केही समययता देखिँदै आएको हो। दूरदराजका अप्ठ्यारामा दिन÷रात नभनी आआफ्ना काममा जुटिरहने केही युवा डाक्टर, इन्जिनियरलगायत प्राविधिकका सत्कार्यमा देखिन थालेको हो। विभिन्न अप्ठ्यारा र अभावबीच पनि राष्ट्रको नाम राख्न थालेका खेलाडी र पर्वतारोहीका सौर्यमा हो। विज्ञान, प्रविधि र व्यवस्थापन क्षमतामा पनि अब बिस्तारै देखिन थाल्छ कि त भन्ने आशामा हो। उज्यालोको त्यो स्रोत अझै पनि नागरिकका मनमा जिउँदो रहेको सामाजिक न्याय लोकतन्त्र र खुसीका निम्तिका आग्रह हो, त्यसका निम्ति संघर्षरत हुने चेत हो। अन्धकारमा यही सिर्जनात्मकताको पुल्ठो बोकेर त हो नि अघि बढ्ने।

अघिल्लो हप्ता अचम्मको संयोगले नित्तान्त भिन्न व्यवसाय, भिन्न पृष्ठभूमि, भिन्न उमेर समूहका भइकन पनि कुरा मिल्ने ३ साथी अचानक दोलखा÷रामेछापतिर घुम्न निस्कियौँ। मेरानिम्ति महत्वपूर्ण सिकाइको अवसर बन्यो यो। जताजतै साना÷ठूला सरकारी, गैरसरकारी जलविद्युत् आयोजना झण्डै झण्डै बिजुली उत्पादनकै सङ्घारमा पुगिसकेको देख्दा सिर्जनात्मकताको त्यही पुल्ठोको उज्यालोले बाटो देखाइरहेझैँ लाग्यो। उपल्लो तामाकोशीको आयोजनाका कथा सुनियो– निरञ्जन कपालीको दूरदृष्टि र मेहनतलाई निरन्तरता दिँदै काँध थाप्ने उनकै पदचिह्नमा हिँडेका मृगेन्द्र श्रेष्ठ र अहिले रातोदिन खटेर मेहनत गरिरहेका विमल गुरुङका यत्नबारे थाहा भयो। पक्कै पनि सुनेजत्तिकै राम्रो हुनुपर्छ यी असल मानिसका योगदान। (तर अचम्म, तिनका बारे किन धेरै चर्चा हुँदैन मिडियामा? स्याबासी नै दिन त्यति अल्छी गर्ने जात त हैन नेपाली !) त्यति ठूलो निर्माण कार्यमा लाग्ने पैसा नेपालीकै भन्ने सम्झँदा अझै रमाइलो लाग्यो। पहाडको गर्भमा खनिएका सुरुङ र भूमिगत भव्य पावरहाउसमा उभिएर ‘यो त नेपालमै हो नि!’ भन्ने सोच्दा गजबको आशा पलायो (फेरि उज्यालोको अर्को बीऊ भेटेझैँ भयो। नेपालीबाटै यति ठूलो आयोजना सम्भव हुने रहेछ त!

हामी ३ जनामध्ये हाम्रा पथप्रदर्शकचाहिँ प्रादेशिक नेता थिए– पक्का राजनीतिकर्मी। उनले जुन खुलापनका साथ सम्भावना, चुनौती र आफ्नै दललगायत हरेक राजनीतिक दलमा रहेका कमजोरीबारे कुरा गरे, त्यसले अझै त केही असल राजनीतिकर्मी पनि बाँकी रहेछन् देशमा भन्ने लाग्यो। उनको क्षेत्रमा रहेका अति पिछडिएको कुनै समुदायले हालसालका वर्षमा गरेका प्रगतिबारे कुरा गर्दा ती प्रसन्न हुन्थे, अर्को कुनै समुदाय भने अझै पछि पर्न थालेकामा चिन्ता प्रकट गर्थे, के गर्ने होला भनेर सल्लाह खोज्थे। उनको प्रसन्नता र चिन्ता दुवैमा इमान्दारी झल्किन्थ्यो। उनीसँगै गाउँ पस्दा फरक राजनीतिक समूहका मानिसबीच पनि सद्भाव र मित्रता देख्दा अझै आशा पलाउँथ्यो। जनतासँग उनको दर्परहित हिमचिम बडो सुन्दर थियो।     

उज्यालोका बीउ देख्दै थियौँ हामी तर अन्धकारको स्रोत पनि छ जताजतै। अन्धकारका यी स्रोतमध्ये सबभन्दा विशाल अन्धकार पिण्ड शायद भ्रष्टाचार नै हो, यसले फ्याँकेको अन्धकार छायाँ असंख्यरूपमा देखापरिरहेछ। र, त्यो छायाँले निलिएर हामी चोर, फटाहा, माग्ने, अल्छी, आत्मसम्मानबिहीन परनिर्भर बेइमान बनिरहेका छौँ। जसरी साना÷ठूलो विद्युत् आयोजनाबाट उत्पादित हुनसक्ने बिजुली ट्रान्समिसन लाइनको अभावमा बेकार भएर अन्धकारको आयु बढ्दैछ, जनतामा रहेको ऊर्जा, सिर्जनशीलता, जीवनप्रेम जस्ता प्रकाशले निकास नपाउने स्थितिमा हाम्रो जीवनको अँध्यारो सुरुङ झन् झन् लामो हुँदैछ। हाम्रो देशको राजनीतिमा रहेको कुसंस्कार, हरेक पार्टीले आफ्नो अस्तित्व रक्षाका निम्ति शत्रु उत्पादन गर्नुपर्ने ‘बाध्यता’, दिशाबिहीनता, छिद्रान्वेषणको कुलत, सानो भिन्नतालाई फराकिलो पारेर आफ्नो निहित स्वार्थका निम्ति स्थान बनाउने आतुरता, भ्रष्टाचार, दण्डबिहीनता र नातावादलाई मलजल गर्ने प्रवृत्ति... जस्ता असंख्य व्याधिले नजिकै आइसकेको निकास पनि झन् झन् टाढिँदै गइरहेको छ, हामी हिँड्न अभिशप्त भएको अँधेरो सुरुङ पनि त्यसैगरी झन् झन् लम्बिँदैछ।

उज्यालोका बीउ देख्दै थियौँ हामी तर अन्धकारको स्रोत पनि छ जताजतै। अन्धकारका यी स्रोतमध्ये सबभन्दा विशाल अन्धकार पिण्ड शायद भ्रष्टाचार नै हो, यसले फ्याँकेको अन्धकार छायाँ असंख्यरूपमा देखापरिरहेछ। र, त्यो छायाँले निलिएर हामी चोर, फटाहा, माग्ने, अल्छी, आत्मसम्मानबिहीन परनिर्भर बेइमान बनिरहेका छौँ।

दशकौँदेखि नेपाली जनताले अक्षम सरकार नै बढी भोगिरहेका हुन्। राष्ट्रको सुरक्षाका निम्तिसमेत जनता नै लाग्नुपरेको छ बेलाबेलामा। जस्तै कठिन परिस्थितिका बीचबाट जनता फेरि उठेकाछन् र मुस्कुराउन सकेका छन्। त्यसैले राष्ट्र नै सिद्धिइहाल्ला कि त भनेर पीरैचाहिँ गर्नु नपर्ला। सुरुङको पल्लो छेउको उज्यालो जतिसुकै टाढा भए पनि हातमा सिर्जनशीलताको राँको लिएर जनताभित्रकै सानो अंश अघि बढिरहेकै छ। उज्यालोको सानो स्रोतले ठूलो भूभाग उज्यालो पर्ने गर्छ। उज्यालोको गुणधर्म नै त्यही हो। त्यसैले निराश भइहाल्नुपर्ने स्थिति नहोला। तर भ्रष्टाचार र परनिर्भरताको आहालबाट बाहिर ननिस्किउन्जेल, उज्यालाका बीउहरू टुसाउन पाउँदैनन्। यति चेत त सत्तासारथिहरूमा आउनैपर्ने हो।   

हाम्रो यात्राको अन्तिम गन्तव्य थियो बिगु गुम्बा। त्यहाँ फर्फराइरहेका ध्वजाले मनका फोहोर सफा गरिदिन खोजिरहे जस्तो लाग्यो। भुइँचालोले भत्किएपछि पुनर्निर्माणमा उठिरहेको गुम्बाले जीवनप्रेमको गीत गाइरहे जस्तो लाग्यो। बुद्धको सौम्य मूर्तिले हामी सबैका लागि ‘तोङलेन’ गरिदिइरहेको छ र हाम्रो मनको अँध्यारो बिस्तारै उज्यालोमा समाहित हुँदै गइरहेको छ जस्तो लाग्यो। यस्तै होस ! यो लामो अन्धकार सुरुङमा धेरै हिँडिसक्यौँ। अब अर्को छेउको उज्यालो देखापरोस्। लगानी सम्मेलनलगायतका यत्नहरू साँच्चै सार्थक र देशका लागि लाभदायक बनून्। मङ्गल होस् !






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad