coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पहिलो पटक जुगल हिमाल आरोहण

आधार शिविर नेपेमासालबाट देखिने जुगल हिमाल। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक - राजधानीबाट सबैभन्दा नजिक देखिने जुगल हिमालको पहिलो आरोहण तयारी पूरा भएको आयोजकले जनाएका छन्। प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हिमाल रहेको जुगल गाउँपालिकाको संयुक्त आयोजना तथा सिन्धु पर्यटन परिषद्को समन्वयमा जुगल आरोहण गर्न लागिएको हो। सिन्धु चेली माया गुरुङको नेतृत्वमा आरोहण दलका सदस्य शुक्रबार जुगल हिमशृंखलाको आधार शिविरतर्फ प्रस्थान गर्दै छन्।

‘प्रथम जुगल आरोहणको तयारी पूरा भएको छ,’ आरोहण दलका सदस्य रहेका परिषद्का महासचिव मिलन लामाले नागरिकसँग भने। सगरमाथाको सफल आरोहण गरिसकेकी गुरुङले अगुवाई गर्ने आरोहण दलमा लामासहित सर्मिला थापा, माधव सापकोटा र सुवास कर्माचार्य छन्। गुरुङ प्रथम महिला समावेशी सगरमाथा आरोहण दलकी सदस्यसमेत हुन्।

जुगल हिमशृंखलाका आरोहण अनुमति प्राप्त ११ पिक (चुचुरा) मध्ये ६ हजार एक सय ५१ मिटर उचाइको ग्याल्चेन पिकको आरोहण गर्न लागिएको परिषद महासचिव तथा आरोहण दल सदस्य लामाले जानकारी दिए। ‘आरोहण दलका सदस्यलाई पथप्रदर्शक र सहयोगीसमेत अरु २५ जनाले सघाउने छन्,’ उनले भने। आरोहण गर्न लागिएको ग्याल्चेन पिक जुगल गाउँपालिका–३, गुम्बामा पर्छ। आरोहण दलका सदस्यलाई तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार बिहान राजधानीबाट बिदाइ गर्दै छन्। उनीहरुलाई प्रदेश सांसद सरेश नेपालले अरनिको राजमार्गको बलेफी बजार र नेकपाका नेता अग्नि सापकोटाले गाउँपालिका मुकाम ढाँडे बजारबाट बिदाई गर्ने कार्यक्रम आयोजकले राखेका छन्।

मोटर चढेर पुग्ने दलका सदस्यले पहिलो रात गुम्बाकै क्याङसिङ गाउँमा बिताउने छन्। त्यहाँबाट पैदल हिँडेर यात्रा सुरु गर्ने उनीहरु दोस्रो दिनको रात बिताउन अन्तिम मानवबस्ती रहेको गोल्चेको दीपु गाउँ पुग्ने छन्। तेस्रो दिन अर्थात आइतबार आरोहण टोली राजधानीबाट एक सय ४५ किलोमिटर दूरीमा पर्ने हिमशृंखलाको आधार शिविर बुम्बाशेर्पु र नेपेमासाल पुग्ने छ। आधार शिविरसम्म पुग्नेको संख्या भने झन्डै ७० जना हुने आयोजकले जनाए।

झन्डै चार हजार दुई सय मिटरको उचाइमा रहने बुम्बाशेर्पु मुख्य आधार शिविर हो। यहाँ केही दिन बसेर मौसम अध्ययन र हिमाल पुग्ने बाटो खोजी कार्य सकेपछि आरोहण सुरु हुने पर्यटन परिषद्ले जनाएको छ। ‘प्रथम आरोहणमा बाटो खोज्नुपर्ने भएकाले आरोहण सम्पन्न गर्न १२ देखि २२ दिन लाग्ने अनुमान गरेका छौं,’ आरोहण दलका सदस्य लामाले भने। उनका अनुसार दोस्रो पटकदेखि ग्याल्चेज पिक निकै छोटो समय १०–१२ दिनभित्र आरोहण गर्न सकिने चुचुरो हो।

आरोहणमा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। उनकै विशेष सक्रियतामा सबैभन्दा नजिकको जुगल हिमाल आरोहण हुन लागेको हो। उनका अनुसार तीन प्रदेश सरकारले आरोहणका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। गाउँपालिकाले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। ‘पहिलो आरोहणपछि जुगल हिमशृंखला आरोहण गन्तव्य बन्ने विश्वास लिएका छौं,’ अध्यक्ष श्रेष्ठले भने।

प्रकाशित: १५ चैत्र २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App