८ वैशाख २०८१ शनिबार
अर्थ

नेवानिको बोइङ न उडान, न बिक्री

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आफूसँग रहेको एकमात्र बोइङ बेच्ने कि उडाउने भनेर निर्णय गर्न सकेको छैन।

अन्तर्राष्ट्रिय उडान गर्ने बी ७५७–२०० सिरिजको एक सय ९० सिट क्षमताको बोइङ बिक्री गर्ने कि उडाउने भनेर निर्णय गर्न नसक्दा निगमलाई आर्थिक भार बढिरहेको छ। जहाजलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तपाएर राखिएको छ, जसले गर्दा मासिक पार्किङ शुल्कमात्रै १८ देखि २० लाख रुपैयाँ तिर्नुपर्छ। त्यसैगरी, बोइङ नउडाउँदा चार पाइलट पनि कामविहीन भएका छन्। पाइलटको तलब तथा पार्किङ शुल्कसहित जोड्दा बोइङबाट हाल दैनिक एक लाखभन्दा बढी आर्थिक भार निगमलाई परिरहेको स्रोतले बतायो।

यसअघि निगम सञ्चालक समिति बैठकबाट मंसिर १८ गते बोइङ बिक्री गर्ने निर्णय गरेर स्वीकृतिको लागि मंसिर २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएको थियो। मन्त्रालयको स्वीकृतिपछि जहाज बिक्री गर्ने योजना निगमले बनाए पनि मन्त्रालयले ‘त्यसलाई बेच्ने या सञ्चालन गर्ने निर्णय निगम आफैंले गर्नू’ भन्दै निर्देशन दियो।

जहाजमा समस्या आएर बारम्बार बनाउँदा कमाइभन्दा खर्च बढी हुने भएपछि निगमको बोर्ड बैठकले जहाज बेच्न २०७५ वैशाखमै सैद्धान्तिक सहमति दिएको थियो। त्यसपछि निगम व्यवस्थापनले बोइङ बेच्न मूल्यांकन समेत गराएर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको थियो। मन्त्रालयले स्वीकृति दिनुको सट्टा आफैं निर्णय गर्न निर्देशन दिए पनि निगमले निर्णय लिन सकेको छैन।

मन्त्रालयको निर्देशनपछि निगमले उपसमिति गठन गरेर बोइङ बेच्ने कि उडाउने विषयमा अध्ययन गरायो। उपसमितिले समेत बोइङ बेच्नुपर्ने प्रतिवेदन दिएको छ। तर, निगमले निर्णय गर्न नसकेको निगम बोर्ड सञ्चालक समितिका एक सदस्यले जानकारी दिए। बोर्ड बैठकबाट पनि बोइङको निर्णय टुंगिन नसकेपछि फेरि एकपटक मन्त्रालयकै राय लिने तयारीमा निगम छ। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार बोइङ बेच्दै उपयुक्त देखिन्छ। त्यसैले एकपटक फेरि मन्त्रालयको राय लिन लागिएको उनले बताए।
मर्मतमा झण्डै दुई करोड
बोइङ मर्मतको लागि कात्तिक ११ गते मलेसिया पठाइएको थियो। बोइङको इन्जिन एक्सरे गराउनुपर्ने भन्दै क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले काठमाडौंबाट उडाएर मलेसिया पु-याए। मलेसियाको डेभिएसनल इन्जिनियरिङ कम्पनीमा बोइङ मर्मत गराउँदा जहाजको इन्जिनमा हुने सी–डक्ट उपकरण बिग्रिएको पाएपछि त्यसको लागिमात्रै एक लाख ७० हजार डलर खर्च भयो।

निगम सञ्चालक समितिका एक सदस्यका अनुसार मर्मत खर्च एक लाख ७० हजार डलरसँगै विमानस्थल पार्किङ, पाइलट, इन्जिनियर आवतजावत लगायतमा करिब ३० हजार डलर खर्च भएको छ। निगमका अनुसार बोइङ मर्मतको क्रममा छ जना नेपाली इन्जिनियर पनि केही समय मलेसियामा बसेका थिए। ती इन्जिनियरको दैनिक भत्ता, मलेसियन कम्पनीको ज्यालालगायतको खर्च जोड्दा दुई लाख डलरभन्दा बढी खर्च भएको छ। यो भनेको नेपाली दुई करोड रुपैयाँभन्दा बढी हो।

बोइङ बिक्री प्रक्रिया अगाडि बढाउँदा बढाउँदै निगमको कार्यकारी अध्यक्ष मदन खरेलले कमिसनको लागि बोइङ मर्मत गर्न मलेसिया पठाएको ती सदस्यको दाबी छ। ‘निगमले बोइङ नउडाउने भनेर एअरबस खरिद गरी भएका दुईमध्ये एउटा बोइङ बिक्री गरी अर्को पनि बेच्ने तयारीमा थियो,’ ती सदस्यले भने, ‘बिक्री प्रक्रियासमेत अगाडि बढेपछि मर्मत गराउनुको कारण कमिसनबाहेक अरु के हुन्छ?’

कमिसन लिन बोइङ मर्मत गराउँदा निगमलाई मर्मत शुल्कको भार थपिएको स्रोत बताउँछ। ‘कमिसनको लागि मर्मत गरिएको होइन भने मर्मत गरेर ल्याइएको जहाज किन उडाइँदैन,’ निगम स्रोत भन्छ, ‘अब, फेरि मर्मतको नाममा निगमलाई आर्थिक भार थपिन्छ, त्यसैले यो जहाज सक्दो चाँडो बेच्नुपर्छ।’

निगम सञ्चालक समितिका एक सदस्य पनि बोइङ सक्दो चाँडो बेच्नुपर्ने बताउँछन्। बोइङ नबेच्दा दिन प्रतिदिन निगमलाई घाटा हुने र निश्चित केही व्यक्ति मोटाउने खेल हुने ती सदस्यको दाबी छ। ती सदस्यले बोइङ राख्न नहुने भन्दै चाँडो बेच्न सञ्चालक समितिमा आवाज उठाइरहेको दाबी गरे। तैपनि बोर्डले किन निर्णय गर्न सकेको छैन, आफैं अनविज्ञ रहेको ती सदस्यको भनाइ छ।

निगमसँग बोइङ जहाज दुइटा थिए। एउटा बेचिसकेको छ। निगमले यसअघि २०७४ माघमा कलसाइन एन–एसिए भएको बोइङ बिबी एअरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बेचेको थियो।

निगमले बोइङको सट्टा एअरबस उडाउने भन्दै आफूसँग भएको अर्को जहाज पनि बेच्ने निर्णय गत वैशाखमै गरिसकेको छ। ‘पहिलो कुरा त जहाज पुरानो भएर बिग्रिरहने समस्या भयो,’ सहप्रवक्ता कोइरालाले भने, ‘अर्को त हामी बोइङ छाडेर एअरबसतिरै केन्द्रित हुँदैछौं।’ उनका अनुसार एअरबस र बोइङ फरक प्रकारका जहाज राख्दा व्यवस्थापनमै समस्या आउँछ। छुट्टै इन्जिनियर राख्नुपर्ने लगायत समस्या रहेको हुँदा निगम पनि बोइङ बिक्री गर्ने मनस्थितिमै छ।

निगमसँग भएको गण्डकी नामको अहिलेको बोइङ सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनीसँग खरिद गरिएको थियो। करिब ३० वर्ष पुरानो जहाजले हङकङ, दुबई, भारत, थाइल्यान्ड लगायत देशमा उडान गर्दै आएको थियो।

बोइङ बिग्रिएर मर्मतको क्रममा मलेसिया लगेपछि त्यसले उडान गरिरहेका गन्तव्यमा अहिले एअरबसबाट उडान भइरहेको छ। अहिले निगमका ए३३०–२०० सिरिजका दुई वाइड बडी र ए३२०–२०० सिरिजका दुई न्यारो बडी जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। 

प्रकाशित: १४ चैत्र २०७५ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App