७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भूउपग्रह खसाल्न सफल भएको भारतको दाबी

मुम्बईको एउटा सोरुममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिभिजनमार्फत गरेको राष्ट्रका नामको सम्बोधन हेर्दै एक व्यक्ति । तस्बिर:एजेन्सी

नयाँदिल्ली – भारतले पृथ्वीको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन्। प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब ‘अन्तरिक्ष शक्तिका रूपमा स्थापित’ भएको घोषणा गरेका हुन्। 

मोदीको दाबीसँगै भारत अब पृथ्वीको तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत सफलतापूर्वक खसाल्ने चौथो राष्ट्र बनेको छ। यस्तो खालको प्रविधिको प्रयोग पहिलो पटक भएको भन्दै प्रधानमन्त्री मोदीले भारत अब अन्तरिक्ष महाशक्ति बनेको दाबीसमेत गरेका छन्। ‘क्षेप्यास्त्रको प्रयोग गरेर भूउपग्रह खसाल्ने परीक्षणको सफलतासँगै अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बताए।

भारतभन्दा अघि संयुक्त राज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन्। यो भारतका लागि गर्वको क्षण हो,’ टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बताए। उनले भने, ‘यसले भारतलाई बलियो र अझ बढी सुरक्षित बनाउनुका साथै शान्ति तथा सौहार्द्रताको दिशामा अझ अघि बढाउने छ।’

प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको जिकिर गरेका छन्। उनले पछिल्लो परीक्षण कुनै पनि मुलुकप्रति लक्षित नभएको पनि स्पष्ट पारेका छन्। भारतको तल्लो सदन लोकसभाको आसन्न निर्वाचनअन्तर्गत पहिलो चरणको मतदानको दिन आउनुभन्दा केही दिन अघि भएको यस्तो घोषणालाई कतिपयले मौन समयमा प्रधानमन्त्री मोदीले चालेको चुनावी प्रचारको संज्ञासमेत दिएका छन्।

राष्ट्रिय निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री मोदीले गरेको यस्तो घोषणाबाट उनले राजनीतिक लाभ लिने प्रयास गरेको र देशको अन्तरिक्ष निकायको उपलब्धीको जस आफैले लिन खोजेको आरोप विपक्षीले लगाएका छन्। ‘प्रधानमन्त्री मोदीले चुनावको अगाडिको समयमा राजनीतिक फाइदा लिन खोजेका छन्,’ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको दौडमा रहेका मोदीले चुनावी प्रयोजनका लागि यस्तो घोषणा गरेको आरोप पनि लागेको छ। प्रमुख विपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले भने भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था डिआरडिओलाई यो सफल परीक्षणका लागि बधाई दिँदै प्रधानमन्त्री प्रति व्यंग्यात्मक रूपमा विश्व रंगमञ्च दिवसको शुभकामना व्यक्त गरेका छन्। यद्यपि प्रधानमन्त्री मोदीले गरेको क्षेप्यास्त्र परीक्षणको घोषणाले निर्वाचन नियमहरूको उल्लङ्घन हुनसक्ने भनी निर्वाचन निर्देशिकामा उल्लेख नभएको भारतका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त टि एस कृष्णमूर्तिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रम सुरु हुँदैछ र यो करिब छ हप्ता चल्नेछ। विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतमा यस पटकको लोकसभा निर्वाचन विभिन्न सात चरणमा चल्नेछ र करिब ९० करोड मतदाताले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ चैत्र २०७५ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App