८ वैशाख २०८१ शनिबार
अर्थ

'दर्जन सम्झाैता र समझदारी'

युवराज खतिवडा, अर्थमन्त्री
सरकारले आगामी शुक्रबार र शनिबार (चैत १५ र १६) सम्पन्न हुन गइरहेको लगानी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट उद्घाटन हुने उक्त सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ। सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ।

सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा एवं स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिनेछ। त्यसैगरी, सम्मेलनमा करिब एक दर्जन विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी छ। सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐन पनि ल्याइसकेको छ। औद्योगिक व्यवसाय ऐन तर्जुमा भइसकेको छ, आउँदो संसद्को अधिवेशनमा प्रस्तुत गरेर पास गराउने तयारी छ। त्यसैगरी बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धी ऐन र कम्पनी ऐनमा पनि संशोधनको प्रक्रिया अगाडि बढाएका छौं। कानुनसँगै नियमावलीहरु पनि बनाउने÷संशोधन गर्ने काम भइरहेको छ। लगानीकर्तालाई सहज वातावरण दिने कुरा हाम्रो व्यवहार र हाम्रो कार्यालयका संरचना र कार्यविधिमा भरपर्छ। अहिलेको ऐनहरुले गरेको राम्रो व्यवस्था भनेको लगानीकर्तालार्ई एकद्धार सेवा दिने हो। एकदर्जनभन्दा बढी संस्थाहरु जो विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्तासँग सम्बन्धित हुन्छन् उहाँहरुलाई एकैठाउँबाट सेवा दिने व्यवस्था गरिएको छ।

लगानी सम्मेलन वर्षैपिच्छे गरिँदैन। हामीले २०४७ को परिवर्तनपछि एउटा लगानी सम्मेलन गर्‍यौं। नेपालको संविधान बनिसकेपछि ०७३ मा अर्को एउटा लगानी सम्मेलन गर्‍यौं र ०७५ मा हामी अर्को सम्मेलन गर्दैछौं। ०७३ मा गरिएको लगानी सम्मेलनको अझ विस्तृत तयारीको रुपमा र त्यसकै जगमा अझ धेरै विदेशी लगानी ल्याउनका लागि यो सम्मेलन गर्न लागिएको हो। विगतका लगानी सम्मेलनमा भएका उपलब्धिहरुलाई अझ सुदृढ गर्दै त्यसको पतिफललाई अझ बढी व्यावहारिक कार्यान्वयनमा लैजान सकिने परियोजनाहरुबारे छलफल गरेर एउटा टुंगोमा पुग्नलाई यो सम्मेलन आयोजना गरिरहेका छौं। सरकारका नीति, कार्यक्रमहरु निजी क्षेत्रलाई नजिकबाट चिनाउन पनि जरुरी छ। सरकार निजी क्षेत्रसँग कसरी अगाडि बढ्न चाहन्छ ? विकास र समृद्धिको कुरा गरिरहँदा सरकारले कस्तो नियामक र कार्यान्वयन पक्षका कस्ता–कस्ता प्रावधानहरु अगाडि बढाइराखेको छ भन्ने नजिकबाट सुनाउनु छ। साथै, त्यसमा केही कमीकमजोरी छन् भने त्यसमा पृष्ठपोषण लिनु पनि छ।

पछिल्ला वर्षहरुमा देखिएका विकासका सम्भावनाहरु, त्यसमा निजी क्षेत्रका लगानीका थप सम्भावना र अवसरहरुलाई ‘शो केसिङ’ गर्नुछ। त्यससँग सम्बन्धित ७७ वटा परियोजनाबारे विस्तृतमा जानकारी दिनुछ। लगानीका लागि तयारी अवस्थामा रहेका हाम्रा समझदारीहरुलाई एमओयू गरेर कार्यान्वयनमा लैजाने काम यो सम्मेलनले गर्नेछ। त्योभन्दा महŒवपूर्ण कुरा हाम्रा स्वदेशी र विदेशी लगानीकर्ताबीच नेटवर्किङ विकास गरी सरकारले लगानीका सन्दर्भमा कसरी परिपूरक भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा गर्न यो सम्मेलन महŒवपूर्ण हुनेछ। स्वदेशी निजी क्षेत्र र विदेशी लगानीकर्ताबीच नेटवर्किङका लागि अनुकूल वातावरण बनाइदिने, नियामक विषयलाई सजिलो बनाइदिने र कार्यान्वयन पक्षमा छिटोछरितो गरिदिने हो। त्यससम्बन्धी कानुनहरु पनि बनिसकेकाले यो सम्मेलनको अवसरमा सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रको बीचमा नेटवर्किङ बढाउने एउटा सुनौलो अवसर पनि हो।

स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई पनि ऋण दिने अथवा उहाँहरुलाई लगानीका लागि सहयोगी हुनसक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु पनि सम्मेलनमा सहभागी हुँदैछन्। वित्त परिचालनमा, व्यवसाय सञ्चालनमा सजिलो पार्न, परामर्श दिनेहरु र मुलुकहरुलाई सहयोग गर्न तत्पर हुने संस्थाहरु पनि सहभागी हुँदैछन्। त्यसैले यो हाम्रो सबै प्रकारको लगानीसँग सम्बन्धित सरोकारवालाहरुको साझा भेटघाट र नेटवर्किङको अवसर हुनेछ।

यो हामी सबैको साझा अभियान हो। नेपालमा लगानीको वातावरण बनाउन सकिएन भने हाम्रा छोराछोरी, दाजुभाइ दिदीबहिनीहरु वैदेशिक रोजगारी खोज्दै हिँड्नुपर्ने हुनसक्छ। हामी जुन उद्देश्यका लागि लडिराखेका छौं, त्यो उद्देश्य पहिल्यै पराजित हुने डर हुन्छ। त्यसैले हामी पराजित हुने काममा नलागौं, मुलुकलाई समृद्धिको बाटोमा लैजान सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं। लगानी सम्मेलनमा आउने हाम्रा पाहुनाहरुलाई मुस्कानसहित सम्मान गरौं।

प्रकाशित: १४ चैत्र २०७५ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App