coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिस्केट जात्राको तयारी

भक्तपुर – भक्तपुरको प्रसिद्ध विस्केट जात्रा व्यवस्थित गर्न जात्रा रुटका तार व्यवस्थित गरिने भएको छ। जात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न सरोकारवाला निकायहरुबीच बुधबार भक्तपुर नगरपालिकामा भएको छलफलमा यसबारे सहमति भएको हो। नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय टेलिभिजनबीच यसबारे छलफल भएको थियो।

बैठकले बिस्केट जात्राको क्रममा भैरवको रथ तान्ने रुट, लिंगोे उठाउने क्षेत्र र स्थानीय जात्रा सञ्चालन हुने क्षेत्रहरूमा अव्यस्थित रुपमा राखिएका तारहरू चैत २५ गतेभित्र आफैंले व्यवस्थापन गर्ने र अनावश्यक तार हटाउने सहमति भएको छ। बिस्केट जात्राका सकारात्मक पक्षहरूका बारेमा देशभरि र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकहरूबाट आफ्नो क्षमताअनुसार प्रत्यक्ष प्रसारण गर्ने, जात्रालाई समयमै शान्तिपूर्ण ढंगले मनाउने क्रममा स्थानीय जनतालाई उत्साहित गर्न आ–आफ्नोतर्फबाट सूचना प्रकाशित एवम् प्रसारण गर्ने, सेवा प्रदायकहरूले नियमाअनुसार भक्तपुर नगरपालिकामा दर्ता र नवीकरण गर्ने तथा नियमानुसार समयमै कर तिर्नेलगायतका निर्णय भएको छ।

बैठकले बिस्केट जात्राको क्रममा रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्र र लिंगो उठाउने ठाउँमा रहेका तारहरूको अवस्थाबारे जानकारी लिने तथा व्यवस्थापन गर्ने हेतुले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र टेलिभिजन इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको संयुक्त टोलीले चैत १७ गते भक्तपुर नगरको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको जनाइएको छ। भक्तपुरको विस्केट जात्रा यही चैत २७ गते बुधबारदेखि सुरु हुँदैछ। भक्तपुरको पाँचतले मन्दिरमा राखेर बनाइएको तीनतले प्यागोडा शैलीमा बनाइरहेको झन्डै तीस फिट अग्लो रथ तानेर जात्रा सुरु हुन्छ। जात्राको क्रममा चैतको अन्तिम दिन भेलुखेलमा ५५ हात लामो लिंगो उठाउने र भोलिपल्ट अर्थात नयाँ वर्ष वैशाख १ गते ढाल्ने गरिन्छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने परम्परा छ। भक्तपुरको विस्केट जात्रा प्रत्येक वर्ष आठ रात नौ दिन चल्ने गर्दछ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण हटाउन अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्ने र भक्तपुर नगरभित्रका तारहरू निकट भविष्यमा भूमिगत गर्ने योजना रहेको बताए। भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सम्बन्धित सरोकारवालाहरूले आआफ्नो क्षेत्रबाट जात्रा व्यवस्थापनको लागि पहल गर्नुपर्ने बताए। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले सहर कुरुप हुनबाट रोक्न र सम्भावित दुर्घटना न्यूनीकरणको लागि अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता भएको बताए।

प्रकाशित: १४ चैत्र २०७५ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App