रामेछाप – स्थानीय तहहरूमा व्यापारिक चहलपहल बढन थालेपछि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले जिल्लाका आठ वटै स्थानीय तहमा उपभोक्ता हक–अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रय लिएर गाउँ–गाउँमा बहस चलाउन थालेकाे छ।
पहिले सदरमुकाम र विशेष चहलपहलका व्यापारिक नाकाहरूमा उपभोक्ता हक–अधिकारबारे बहस चल्ने गरेको भए पनि पछिल्ला दिनमा स्थानीय तहको निर्माण र तिनमा जनप्रतिधिहरू निर्वाचित भएर आएसँगै वस्तु तथा सेवाका लागि मानिसहरूको चहलपहल स्थानीय तहमा उल्लेख्य हुन थालेपछि बहसको आश्यकता देखिएको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका वरिष्ठ उद्योग अधिकृत राजेन्द्र श्रेष्ठले बताए।
उपभोक्ता हक–अधिकार कार्यान्वयनका साथै व्यवसायीहरूसमेतको हितका लागि सबै पक्षसँग सौहार्द वातावरण कायम होस् भन्नका लागि सरोकारवाला निकायबीच बहस सञ्चालन गरिएको समितिले जनाएको छ।
बहसमा व्यवसाय दर्ता र यसको फाइदा, करका प्रावधान र व्यापार–व्यवसायमा रहेका विद्यमान कानुनी प्रावधानका विषयमा छलफल केन्द्रित रहने गरेको छ। विभिन्न चरणमा सञ्चालन भइरहेको बहस तथा छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारी र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिले सहजीकरण गर्ने गरेका छन्। जिल्लाको आठवटै स्थानीय तहमा सञ्चालन हुने सो कार्यक्रम जिल्लाको मन्थली नगरपालिका र दोरम्बा गाउँ पालिकामा सम्पन्न भइसकेको छ। बाँकी एक नगरपालिका र पाँच गाउँपालिकामा पनि क्रमशः बहस कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०७५ ०३:०८ बिहीबार