८ वैशाख २०८१ शनिबार
राजनीति

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्यांक

सुर्खेत - दैलेखको डुंगेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका वस्तुगत विवरण–२०७४’ को भौगोलिकस्वरुप खण्डमा लेखिएको छ– दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिकाको भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग छोएको छ।

डुंगेश्वर गाउँपालिकाले प्रकाशन गरेको सो पुस्तकमा राखिएको यो विवरण सुर्खेतको लेकबेंसी नगरपालिकाको हो। ११० पृष्ठको सो पुस्तकमा उल्लिखित भौगोलिक स्वरुपमात्रै नभएर अधिकांश विवरण डुंगेश्वर गाउँपालिकासँग मिल्दैनन्। वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट गाउँपालिका नभएर नगरपालिका हुन्। डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पाश्र्वचित्रका संकलित अधिकांश विवरण गलत र कपोलकल्पित रहेको बताउँछन्। ‘गाउँपालिकाको भौगोलिकस्वरुप मात्रै होइन् स्वास्थ्य, शिक्षालगायत तथ्यांक पनि मिल्दैनन्,’ अध्यक्ष मल्लले भने, ‘अहिले फेरि गाउँपालिकाको वस्तुगत विवरण संकलन गर्ने काम भइरहेको छ।’

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिका उल्लेख छ।

गाउँपालिकाको वस्तुगत विवरणसहितको पुस्तक प्रकाशनका लागि वडा नम्बर–२ का अध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा वडा नम्बर–६ का अध्यक्ष बमबहादुर जिसी र कार्यपालिका सदस्य शान्ति वली सदस्य छन्। ‘सुर्खेतको लेकबेंसी नगरपालिकाको ठाउँमा डुंगेश्वर गाउँपालिका बनाएर पाश्र्वचित्र बनाएको देखिन्छ,’ गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन्, ‘समितिले अर्को ठाउँको कपीपेस्ट गर्दा सिंगो गाउँपालिकाकै बेइज्जत भएको छ।’

यहाँसम्म कि पाश्र्वचित्रमा अधिकांश तथ्यांक फरक पर्न गएका छन्। सुर्खेतको लेकबेंशी नगरपालिकाको पाश्र्वचित्रलाई कपी गरेर नगरपालिकाको ठाउँमा गाउँपालिका बनाउँदा छिमेकी कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकालाई गाउँपालिका उल्लेख गरिएको छ। पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिका उल्लेख छ। पृष्ठ ५२ मा रहेको बैंक तथा वित्तीय संस्थाको विवरणमा हालसम्म गाउँपालिकामा कुनै पनि बैंक तथा वित्तीय संस्था नरहेकाले सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता रहेको उल्लेख छ।

पाश्र्वचित्र प्रकाशन समितिका संयोजक खत्री मानवीय त्रुटिले केही विवरण फरक पर्न गएको बताउँछन्। ‘पाश्र्वचित्रमा केही विवरण सुर्खेतको लेकबेंसी नगरपालिकाको कपी भएको रहेछ,’ उनले भने, ‘अहिले हामीले सच्याएर गाउँपालिकाको वेबसाइटमा राखेका छौं।’ उनले गाउँपालिकाको वेबसाइटमा विवरण सच्याएर राखिएको बताए पनि कुनै फेरबदल गरिएको छैन्। गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा यसअघि सुर्खेतको लेकबेंसी नगरपालिकाका कार्यकारी अधिकृत थिए। ‘लेकबेंसी नगरपालिकाको पाश्र्वचित्रलाई तोडमोड गरेर बनाउँदा डुंगेश्वर गाउँपालिकाको तथ्यांक फरक पर्न गएको देखिन्छ,’ एक जनप्रतिनिधिले भने, ‘यसमा कार्यकारी अधिकृत र वस्तुगत विवरण संकलन समितिको गम्भीर लापरबाही भएको देखिन्छ।’

पाश्र्वचित्रका लागि गाउँपालिकाबाट समितिले पाँच लाख रुपैयाँ भुक्तानी लिएको छ। ‘एक सय ५० किताब निकाल्न र विवरण संकलनका लागि यति धेरै रकम खर्च नहुनुपर्ने हो,’ ती जनप्रतिनिधिले भने, ‘यो सरासर भ्रष्टाचार हो।’

प्रकाशित: १४ चैत्र २०७५ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App