coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक शौचालय अभावले पर्यटकलाई सास्ती

सौराहामा घुम्दै पर्यटक। तस्बिर : सविता/नागरिक

चितवन - हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।

सौराहामा ३० वर्षअघिदेखि बिस्तारै पर्यटकीय गतिविधि सुरु भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी बताउँछन्। त्यसपछि बिस्तारै कटेजहरू बन्न थालेका हुन्। ‘२०५२ सालपछि पूर्वाधार विस्तारको क्रम बढ्दै गएको हो,’ उनी भन्छन्, ‘त्यसको १० वर्षपछि सौराहामा अत्याधुनिक सुविधासहितको बसोबास पूर्वाधार तयार हुने क्रममा धेरै वृद्धि आयो।’ अहिले क्रमशः पूर्वाधारहरु बढ्दै गएको सौराहामा एक सय १० वटा होटल र ५६ वटा रेस्टुरेन्ट सञ्चालनमा छन्।

यति हुँदाहुँदै पनि सौराहा घुम्न आउने पर्यटकले झेल्नुपर्ने समस्या हो– सार्वजनिक शौचालयको अभाव। शौचालय प्रयोगका लागि होटल तथा रेस्टुरेन्ट नै चहार्नुपर्ने बाध्यतामा छन् यहाँ आउने पर्यटक। दुई दशकदेखि सौराहामा ‘टुरिस्ट गाइड’को काम गर्दै आएका उमेश चौधरी सौराहामा सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई अप्ठ्यारो पर्ने गरेको बताउँछन्। उनले आफूसँग रहेका पर्यटकलाई आवश्यकता परेको अवस्थामा चिनजानका रेस्टुरेन्टको शौचालयमा पुर्‍याइदिने गरेको सुनाए।

सौराहामा सार्वजनिक शौचालय बनाउने भनिए पनि स्थान नभएकाले बनाउन नसकिएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे बताउँछन्।

‘सार्वजनिक शौचालय त छैन, सबै होटल र रेस्टुरेन्ट चिनेको छु,’ उनी भन्छन्, ‘शौचालय जानुपरे त्यहीँ लगिदिन्छु, प्रयोग गर्न दिन्छन्।’ गाइडबिना घुम्ने पर्यटकलाई भने अप्ठ्यारो छ। सौराहामा बास बस्नेगरी मात्रै पर्यटकहरू पुग्दैनन्। दिउँसो वा साँझको समयमा घुमेर फर्कने ‘डे टुरिस्ट’को संख्या पनि धेरै हुने गरेको छ। यसले खानेकुरा खान रेस्टुरेन्ट नपस्ने पर्यटकलाई शौचालय अभावले सास्ती हुने गरेको छ। सौराहामा रहेका म्युजियम, सूचना केन्द्र, हात्ती प्रचनन केन्द्रलगायत कार्यालयहरूमा शौचालयको व्यवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे बताउँछन्। यी स्थानसँगै होटल तथा रेस्टुरेन्टका शौचालय प्रयोग गर्न पर्यटकलाई रोकतोक नरहेको उनको भनाइ छ। ‘तर सडकसँग जोडिएका ठाउँमा सार्वजनिक शौचालय नै भनेर चाहिँ बनाइएको छैन,’ उनी भन्छन्।

सौराहामा सार्वजनिक शौचालय बनाउने भनिए पनि स्थान नभएकाले बनाउन नसकिएको उनी बताउँछन्। सौराहाको प्रवेश केन्द्र भएर चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या मासिक सात हजारभन्दा बढी हुने गरेको अध्यक्ष घिमिरे बताउँछन्। निकुञ्ज नघुमी र सौराहामा बास नबसी घुमेर मात्र फर्कने आन्तरिक पर्यटक पनि धेरै संख्यामा सौराहा आउने गरेको उनको भनाइ छ।

रत्ननगर नगरपालिका–५, ६ र ७ मा सौराहा पर्दछ। सौराहामा सार्वजनिक शौचालयको अभावलाई समाधान गर्न नगरपालिकाको पहलमा दुईवटा घुम्ती शौचालय राख्ने तयारी गरिएको रेवानका अध्यक्ष गिरी बताउँछन्। नगरपालिकासँग घुम्ती शौचालय बनाउन बजेट माग गरेर योजना पुरा गर्ने प्रक्रिया अघि बढीसकेको उनी बताउँछन्। सार्वजनिक जग्गा नहुँदा पक्की पूर्वाधारसहितको शौचालय बनाउन नसकिएको भए पनि घुम्ती शौचालयले पर्यटकलाई सजिलो हुने उनको विश्वास छ। विभिन्न पर्व तथा अवसरमा सौराहामा आयोजित पर्यटकीय फेस्टिभलहरूमा घुम्ती शौचालय प्रयोग गर्न सकिने उनी बताउँछन्।

प्रकाशित: १४ चैत्र २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App